0
जिल्लाका सरकारी कार्यालयमा आउने सञ्चारको बजेटलाई एकद्वार प्रणालीबाट वितरण गरिएको छ ।   नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको पहलमा जिल्लाका सबै सञ्चारमाध्यमले समानुपातिक रूपमा सरकारी सूचना र विज्ञापनको रकम पाएका छन् । सञ्चारका लागि विनियोजित बजेट महासङ्घको ‘डाली कोष’ मा जम्मा गरेर वितरण गरिएको शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।  त्यसरी सङ्कलित गत आवको कुल सञ्चार बजेट रु ११ लाख ८३ हजारमध्ये १५ प्रतिशत रकम महासङ्घमा राखेर बाँकी वितरण गरिएको हो । जिल्लाका १९ वटा सञ्चारमाध्यमलाई रु नौ लाख ४१ हजार बाँडिएको छ । यसमा टेलिभिजन, दैनिक पत्रिका र रेडियोले समान रूपमा रु ६२ हजार ७६६ दरले र त्यसको ठीक आधा रु ३१ हजार ६३३ साप्ताहिक पत्रिकाले पाएका छन् । जिल्लामा एउटा टेलिभिजन, ८ एफएम रेडियो, ३ दैनिक पत्रिका र ६ वटा साप्ताहिक पत्रिका सञ्चालित छन् । “पहुँच र शक्तिको आडमा सीमित सञ्चारमाध्यमले मात्रै सरकारी विज्ञापन, सूचना लिने प्रवृत्तिको अन्तका लागि एकद्वार प्रणाली सुरु गरिएको हो,” अध्यक्ष राजभण्डारीले भने–“जिल्लाका सबै सञ्चार माध्यमले समान रूपले सुविधा प्राप्त गर्नेछन् र सबैको आत्मसम्मान पनि बढ्नेछ ।” श्रमजीवी पत्रकारको पारिश्रमिकको सुनिश्चितता र सञ्चारमाध्यमको सवलीकरणका लागि महासङ्घले एकद्वार प्रणाली स्थापित गर्न लागेको हो । यो वर्ष परीक्षणको रूपमा वितरण गरिए पनि आगामी वर्ष थप वैज्ञानिक विधि र मापदण्ड बनाएर अघि बढ्ने शाखा सचिव दिल शिरीषले बताए । “यो वर्षलाई हामीले परीक्षणका रूपमा लिएका छौँ, एकद्वार प्रणालीलाई थप व्यवस्थित गर्न आवश्यक छ”–सचिव शिरीषले भने । आर्थिक वर्षको अन्त्यतिर पहल सुरु हुँदा यो वर्ष सञ्चार बजेट तुलनात्मक रूपमा कम उठेको उनको भनाइ छ । उहाँका अनुसार अझ ठूलो बजेट सरकारी कार्यालय र गाविसबाट सङ्कलन गर्न सकिने अवस्था छ । सरकारी निकायमात्र नभएर अन्य सार्वजनिक निकायमा छुट्टिने सञ्चार बजेटलाई पनि एकद्वार प्रणालीमा ल्याउन पहल भइरहेको छ । एकमुष्ट र समानुपातिक रूपमा रकम पाएका सञ्चारमाध्यमले सरकारी कार्यालयका सूचना, विज्ञापन वर्षभरि प्रकाशन÷प्रसारण गर्नेछन् । त्यसरी प्रसारित सामग्री सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । शाखा अध्यक्ष राजभण्डारीको संयोजकत्वमा गठित कार्यदलले एकद्वार प्रणालीलाई थप व्यवस्थित गर्न गृहकार्य सुरु गरेको जनाइएको छ । रासस









Post a Comment

 
Top