0
गोल्डेन न्यूज संवाददाता
पोखराको मुख्य सडकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार राति करिब ११ः३० बजे पोखराको चिप्लेढुङ्गाबाट महेन्द्रपुल हुँदै बगरतर्फ जाँदै गरेको ग७प ५९३७ नं. को मोटरसाइकल महेन्द्रपुलमा दुर्घटना भएको हो । उक्त मोटरसाइकल चिप्लेढुङ्गाबाट सिधै अगाडि गएर महेन्द्रपुलचोकको सडक पार गरि फिस्टेल कलर ल्यावको सटरमा ठोकिन पुगेको थियो । स्याङ्जा किचनास घर भइ हाल पोखरा–१६ बस्दै आएका ज्ञानबहादुर रानाले चलाएको मोटरसाइकल तीव्र गतिका कारण नियन्त्रणमा लिन नसक्दा सिधै सडक पारीको सटरमा ठोकिन पुगेको हो । जसका कारण स्याङ्जाको थुम पोखरा घर भइ हाल पोखरामै बस्दै आएका २२ वर्षीय वाचस्पति खनालको ज्यान गएको छ । प्रहरीका अनुसार उनी गम्भीर घाइते भएपछि तत्कालै उपचारका लागि पश्चिमाञ्चल क्षे    त्रीय अस्पताल पोखरामा लगिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । मोटरसाइकल चालक रानाले मादक पदार्थ सेवन गरेका कारण मोटरसाइकल नियन्त्रणमा लिन नसकेको प्रहरीले अनुमान गरेको छ । मोटरसाइकल ठोकिएको सटर समेत केही फुटेको छ । उक्त मोटर साइकलमा ३ जना सवार थिए । जसमध्ये अर्का यात्रु सुरज पौडेल घाइते भएपनि उपचार पछि घर फर्किएका छन् । पौडेल स्याङ्जाको विचारी चौतारा घर भइ हाल पोखरा–१ बस्दै आएका छन् । चालक राना भने सामान्य घाइते भएका कारण प्रहरी नियन्त्रणमा रहेका छन् ।
 
कांग्रेस नेता गुरुङ गम्भीर घाइते

नेपाली कांग्रेस कास्की क्षेत्र नं. ४ का पूर्व सभापति तथा महाधिवेशन प्रतिनिधि आइबहादुर गुरुङ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन् । पोखराको न्यूरोडस्थित पोखरा उप–महानगरपालिका कार्यालय अगाडिको सडकमा उनलाई मोटरसाइकलले शुक्रबार बिहान ११ः३० बजे ठक्कर दिएको थियो । गुरुङलाई ग९प १२६७ नं.को मोटरसाइकलले ठक्कर दिएको थियो । नगरपालिका कार्यालयमा आफ्नो काम विशेषले जाँदै गर्दा सडकमा उक्त मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका गुरुङको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की कांग्रेसका सदस्य युवराज कुँवरले गोल्डेन न्यूज दैनिकलाई बताए । गुरुङको टाउकोमा चोट लागेकोले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ भने मोटरसाइकल चालक रितेश गुरुङलाई प्रहरीले नियन्त्रणमा दिएको छ ।





Post a Comment

 
Top