0
गोल्डेन न्यूज संवाददाता
पोखरावासीले नगरपालिका समक्ष गुनासो र प्रश्नको चाङ लगाएका छन् । पोखरा उप–महानगपालिका कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीले गुनासोको चाङ्ग लगाएका हुन् । कार्यक्रममा सहभागीहरुको सबैभन्दा बढी आक्रोश नगरपालिकाका कर्मचारीको कार्यशैली प्रति थियो । उनीहरुले पोखरा उप–महानगरपालिकाका कर्मचारीहरुको आचरण सुधार नभएको, सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गरेका थिए  । यसैगरी पोखरा नगरक्षेत्रमा अझैपनि फोहोरको उचित व्यवस्थापन हुन नसकेको, नगरलाई प्लाष्टिकको झोला र गिलास निषेधित क्षेत्र घोषणा गर्ने कार्यक्रम अलपत्र परेको, फूटपाथ, छाडा चौपाय, सार्वजनिक जग्गा संरक्षण लगायतका कार्यक्रमले पूर्णता पाउन नसकेको समेत उनीहरुको गुनासो थियो । नगरवासीले गुनासोको चाङ लगाएपछि पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुवँर कुरालाई विशेष संबोधन गर्ने भन्ने तनावमा परे । बोल्ने पालो आएपछि उनले पहिला कर्मचारीकै कुराबाट आफ्ना भनाइ शुरु गरे । उनले  कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । आवश्यक प्रक्रिया पुरा गरि सेवा लिन आएका सेवाग्राहीको काम तुरुन्तै गरिदिन निर्देशन दिदै कुवँरले आगामी दिनमा सेवाग्राहीका यस्ता गुनासो आउन नदिने प्रतिवद्धता जनाए । तरङ्ग प्रालिको व्यवस्थापन र नगरस्तरीय टोल समन्वय समितिका अध्यक्ष उज्वल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उपमहानगरपालिकाका सामाजिक विभाग प्रमुख ओमराज पौडेल, वरिष्ठ ईन्जिनियर शारदामोहन काफ्ले, वरिष्ठ कानून अधिकृत नारायण शर्मा, वरिष्ठ अधिृकत वसन्त चालिसे लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा सहभागी नागरिकले गुनासोको चाङ लगाइदिएपछि पोखरा उप–महानगरपालिकाले तत्कालै लागू गर्ने गरी पाँच बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको छ । प्रतिवद्धता पत्रमा सेवा प्रवाहलाई तत्कालै सुधार गरी कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार बनाउने, वातावरण संरक्षणका सम्बन्धमा यसअघिका नगर परिषद्बाट भएका निर्णयहरु तत्काल कार्यान्वयन गरी ढुंगा व्यवसाय, वर्कसप र मासु पसल व्यवस्थापनको काम थाल्ने, फोहोरमैला व्यवस्थापनको कार्य तत्काल प्रभावकारी रुपमा शुरु गर्दै पोखरालाई तत्कालै प्लाष्टिक मुक्त नगर घोषणा गर्ने, लक्षित वर्ग कार्यक्रमलाई वडास्तरबाटै कार्यान्वयन गर्ने र त्यसका लागि संयन्त्र निर्माण गरी परिचालन गर्ने र भवन निर्माण मापदण्डलाई कडाईका साथ लागू गर्ने लगायत छन् । प्रतिवद्धता पत्रमा पोखरा उप–महानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत सहित विभागीय प्रमुख तथा शाखा प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । यसैबीच पोखरा उप–महानगरपालिकाले सार्वजनिक रुपमा गरेका प्रतिवद्धता र नीति तथा कार्यक्रममा गरेका व्यवस्थालाई कार्यान्वयन गरे नगरेको विषयमा निगरानी गर्नका लागि पाँच सदस्यीय निगरानी समूह गठन गरिएको छ । चालु बर्षको सार्वजिनक सुनवाई कार्यक्रममा सहभागी भएका नगरवासीहरुको माँझ निगरानी समूह गठन गरिएको हो । अन्जु केसीको संंयोजकत्वमा गठन भएको निगरानी समूहमा गणेश श्रेष्ठ, प्रभा पन्त, धनञ्जय पौडेल र लेखुराम खती सदस्य रहेका छन् ।


Post a Comment

 
Top