0
राजाराम पौडेल÷गोल्डेन
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीको अधिवेशन आज बिहीबार पोखरामा हुँदैछ । अधिवेशनमार्फत नेतृत्वमा पुग्ने सपना बनाएका कलाकारले प्रतिनिधिको सर्मथन आफ्नो पक्षमा पार्न कार्ययोजना बनाएरै जुटेका छन्। उनीहरुका अधिकांश कार्ययोजना सकारात्मक देखिएपनि केही योजना भने प्रष्ट छैनन् । यसरी बनाएका योजना पुरा गर्छन् भन्नेमा यो क्षेत्रमा लागेका नयाँ तथा पुराना कलाकारलाई विश्वास लागेको भने छैन्। यसभन्दा अगाडि पनि विभिन्न कार्ययोजना बनाइए तर ती कार्ययोजना अलपत्र परेकोले विश्वास गर्न गाह्रो छ । यसको उदाहरणको रुपमा प्रतिष्ठान गण्डकीले एक वर्ष अगाडि गरेको साधारणसभाबाट लिखितरुपमा बनाएको वार्षिक कार्ययोजनालाई हेर्न सकिन्छ । प्रतिष्ठान गण्डकीको स्मारिका प्रकाशन, क्यालेन्डर प्रकाशन गर्ने कार्ययोजना अधुरै रह्यो । जिल्ला तथा अञ्चलको कोष वृद्धिका लागि बृहत विविध साँस्कृतिक कार्यक्रम कास्की, स्याङ्जा, गोरखा, लमजुङ र तनहुँमा गर्ने भनिएको थियो हुन सकेन । नेतृत्व विकास सम्बन्धी गोष्ठी, विद्यालय तथा क्याम्पसस्तरीय लोक दोहोरी गीत सम्बन्धी प्रशिक्षण कार्यक्रम सहितको प्रतियोगिता सञ्चालन गर्ने, स्वास्थ्य शिविर, बृहत् वनभोज लगायतका कार्य योजना कागजमा मात्र सीमित भए । प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पहल गर्ने योजना समेत प्रभावकारी बनेन । लोकदोहोरी कलाकारहरुको क्षमता तथा नेतृत्व विकासको लागि कार्यक्रम गर्न नसक्दा नयाँ तथा पुराना कलाकारबिचको दुरी बढ्दै गएको छ । नयाँ कलाकारलाई समेट्न स्थापित भैसकेका कलाकार खोज्दैनन् भने स्थापित भइसकेका कलाकारलाई सम्मान नवोदितले गर्दैनन् । यसको अन्त्यको लागि वर्तमान कार्यसमितिको भूमिका उचित हुन सकेन । अधिवेशनको तयारीको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा यी विषयमा आयोजक मौन देखिए । पत्रकारले सोधेका केहि प्रश्नको जवाफ प्रतिष्ठान केन्द्रका अध्यक्ष र गण्डकीका अध्यक्षले दिएनन् । केही प्रश्नका जवाफ गोलमटोल रुपमा दिए । विशेषगरी पोखरा अनि यस आसपासमा हुने मेला महोत्सवको कलाकार व्यवस्थापनमा देखिएको ठेकेदारी प्रथा, कलाकार छनोट गर्ने आधार, किन एउटै कलाकारलाई स्थान दिइन्छ, भन्ने लगायतको प्रश्न तथा जिज्ञासाको उत्तर दिन उनीहरुले आवश्यकता ठानेनन् । अझ कास्की जिल्लामा हुने मेला र महोत्सवको जिम्मा समेत प्रतिष्ठान कास्कीलाई नदिई हालीमुहाली गरेको विषयमा केही बोल्न खोजेनन् । यो क्षेत्रमा हालीमुहाली गरिरहेका केहि कलाकारको दादागिरीले नयाँ तथा पुराना प्रतिभावान् कलाकारको प्रतिभाले उचित स्थान पाउन सकेको छैन । गीत तथा एल्बम दर्शक स्रोतामाझ कति आए, कस्ता गीत आए कुनै तथ्याङ्क प्रतिष्ठानसँग छैन । यता अधिवेशनको खर्च ३ लाख ५० हजार लाग्ने अनुमान गरेको गण्डकीको वर्तमान नेतृत्वले अधिवेशन खर्चको व्यवस्थापनको लागि पदाधिकारीबाट प्रतिव्यक्ति १० हजार रुपैयाँ र कार्यसमिति सदस्यबाट प्रतिव्यक्ति ५ हजार रुपैँया संकलन गरिरहेको बताइन्छ । यो उपयुक्त देखिएन भनेर पदाधिकारी र कार्यसमितिबाटै गुनासो आएको छ । नेतृत्वले चाहेको खण्डमा सहयोग र व्यानरबाटै खर्च जुटाई केहि रकम बचत गर्न सक्ने भएपनि त्यसतर्फ ध्यान दिइएन ।प्रतिष्ठानबाट वितरण गरिने पुरस्कार तथा सम्मानमा समेत अग्रजहरुको आफ्नै स्वार्थ रहने गरेको गुनासो समेत आएको छ । अधिवेशन मार्फत नेतृत्वमा पुग्न हालका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ र महासचिव घनश्याम रिजाल आफ्नो तयारीमा व्यस्त छन् । दुवै जना आफू जितको नजिक रहेको दावी गर्छन् । गुरुङ झण्डै ६० मत अन्तरले आफू नेतृत्वमा पुग्ने बताउँछन् । रिजाल भने ३० मत अन्तरले आफू विजयी हुने दावी गर्छन् । विश्वस्त श्रोतको भनाइलाई आधार मान्ने हो भने गुरुङ यो दौडमा अगाडि देखिन्छन् । कुल २ सय ७७ प्रतिनिधिले मत हाल्ने छन् । जित्नका लागि १ सय ३९ मतको आवश्यक पर्दछ । सबैभन्दा बढी प्रतिनिधि रहेको प्रतिष्ठान कास्कीमा एक सय मत रहने छ । यसबाट गुरुङको पक्षमा अत्याधिक मत जाने स्रोत बताउँछ । उता ४१ मत रहेको तनहुँबाट अत्याधिक मत रिजालको पक्षमा जानेछ । ४९ मत रहेको स्याङ्जा, ३५ मत रहेको गोरखा र १७ मत रहेको लमजुङबाट भने दुवैतर्फ मत आधा–आधा बाँडिने स्रोत जनाउँछ । प्रतिष्ठान गण्डकीको कार्यसमिति, सल्लाहकार, संरक्षकतर्फ रहेको ३५ मतमा बहुमतको सर्मथन गुरुङ तर्फ रहेको बताइन्छ् । यसरी हेर्दा नयाँ नेतृत्व लिने अवसर गुरुङलाई मिल्ने निश्चित छ । तर रिजाल तथा उनलाई सर्मथन गर्नेहरु यो मान्न तयार छैनन् । उनीहरु प्रतिष्ठान कास्की, प्रतिष्ठान गण्डकीको कार्यसमिति, सल्लाहकार, संरक्षकतर्फको बहुमत आफ्नो पक्षमा ल्याउन लविङ गरिरहेका छन् । नेतृत्वमा पुग्न सकेको खण्डमा मनग्य आम्दानी गर्ने अवसरहरु जुट्ने भएकोले यसअघिका अधिवेशन भन्दा अहिलेको अधिवेशनमा तीव्र प्रतिष्पर्धा बढेको देखिन्छ । आफ्नो पक्षको व्यक्तिको पक्षमा मत माग्न यो क्षेत्रमा हालिमुहाली गरिरहेका कलाकारहरु भित्रभित्रै व्यस्त छन् । यसअघि नेतृत्वको दावी गरेकी वर्तमान प्रथम उपाध्यक्ष सीता केसीले नेतृत्वको दावेदारी छोडेर वरिष्ठ उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेपछि गुरुङ र रिजाल बीच प्रतिष्पर्धा हुने निश्चित भएको हो । आकांक्षीलाई मिलाउने जिम्मा पाएका वरिष्ठ कलाकारहरु पटक–पटक छलफलमा बसेपनि मिलाउन सकेन । उनीहरुले बरिष्ठताको आधारमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएपनि रिजाल सहमत नभएपछि चुनाव हुने निश्चित भएको स्रोत दावी गर्छ । नेतृत्वमा पुग्न मात्र नभएर पदाधिकारी र कार्यसमिति सदस्यमा समेत तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । गण्डकीको वरिष्ठ उपाध्यक्षमा सिता केसी र अम्मर धिताल, प्रथम उपाध्यक्षमा केशव देवकोटा र शिवहरि ढुङ्गाना, द्वितीय उपाध्यक्षमा जयकुमार परियार, महासचिवमा हालका सचिव सुरेन्द्र गुरुङ, सचिवमा हालका सदस्य राजन कार्की, कोषाध्यक्षमा विजय केसी, सह कोषाध्यक्षमा निशा पोखरेल र मञ्जु वि.क. कार्यसमिति सदस्यमा राजेन्द्र सुवेदी, रामजी पौडेल र प्रदिप त्रिपाठीले आकांक्षा देखाएका छन्। पदाधिकारी तथा कार्यसमितिका आकांक्षीको संख्या अन्य जिल्लामा समेत भएकाले यो संख्या बढ्ने देखिन्छ । त्यतिमात्र नभएर केही प्रतिनिधि पर्ख र हेरको स्थितिमा रहेकोेले आकांक्षीको संख्या अधिवेशनको दिनसम्म झनै बढ्ने छ । वर्तमान अध्यक्ष जीवन दाहाल भने नेतृत्व हस्तान्तरण गरेर केन्द्रमा जाने सोचमा छन् । हालका केन्द्रिय सदस्य तारापती सुवेदी र चोलेन्द्र पौडेलले पनि केन्द्रीय पदाधिकारीमा जाने इच्छा देखाएका छन् । गण्डकीको अधिवेशनमा प्रतिष्ठान कास्की, तनहुँ, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाबाट आएका प्रतिनिधिले मतदान गर्नेछन् । मनाङ जिल्लामा भने प्रतिष्ठानको शाखा विस्तार हुन सकेको छैन । जिल्ला र अञ्चलमा मात्र नभएर प्रतिष्ठानको केन्द्रीय नेतृत्वका लागि पनि दौडधुप चलिरहेको छ । केन्द्रीय नेतृत्वका लागि वद्रि पंगेनी, टिकाराम चपाई र विष्णु खत्रीले इच्छा जाहेर गरेको बताइन्छ ।


Post a Comment

 
Top