0
हेपाटाइटिस सी कलेजोको सिरोसिस र क्यान्सर निम्त्याउ“छ
अतुल मिश्र
हाम्रो मुलुकमा कलेजोको रोग हेपाटाइटिस सीले हजारौंलाई शान्त मृत्यु दिइरहेको छ । विशेषज्ञहरूका अनुसार, शुरुमा यो रोगको कुनै प्रभाव देखिँदैन, तर जब देखिन्छ त्यतिखेर मृत्यु अगाडि नै उभिइसकेको हुन्छ । अर्थात, हेपाटाइसिस सी लागेपछि मृत्युवरण गर्नुबाहेक उपाय हुन्न, चिकित्साको कुनै विकल्प हुन्न । हाम्रो मुलुकमा करिब १ लाख २० हजार जनालाई हेपाटाइटिस सी भएको अनुमान गरिन्छ । तैपनि अधिकांश प्रभावितलाई आफूले यो रोगको भाइरस बोकिराखेको सत्यसम्म थाहा छैन । हेपाटाइटिस सी भाइरस (एचसीभी) ले तीव्र वा दीर्घ हेपाटाइटिस सी संक्रमण उत्पन्न गर्न सक्छ । यसले केही साता सामान्य बिरामी पार्नुदेखि लिएर जीवनपर्यन्त गम्भीर रोगीसमेत बनाउन सक्छ ।
रगतका माध्यमले स्वस्थ व्यक्तिमा सर्ने यो रोगको संक्रमण भएपछि तत्काल उपचार थाल्दा ९० प्रतिशत व्यक्तिलाई निको हुन सक्ने सम्भावना त हुन्छ, तर जागरुकताको अभावमा हाम्रो मुलुकमा यो रोगले छोएपछि मृत्युवरण गर्नुपर्ने स्थिति छ ।
‘धेरैजसोलाई आफू यो रोगबाट संक्रमित रहेकोबारे थाहा छैन, अझ कतिपय स्वास्थ्यकर्मीलाई समेत यो संक्रमण भइसकेको बारेमा जानकारी छैन’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. गीता शाक्य भन्छिन्, ‘जतिखेर उनीहरूलाई हेपाटाइटिस सी भएको थाहा हुन्छ, त्यति बेलासम्म कलेजोको सिरोसिस वा क्यान्सर भइसकेको हुन्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, हेपाटाइटिस सीसँग सम्बन्धित कलेजो रोगबाट विश्वभरिमा वर्षेनी ७ लाख व्यक्तिको मृत्यु हुन्छ । हालसम्म कुनै खोपको आविष्कार हुन नसकेको यो रोगबाट विश्वव्यापी रुपमा १३ करोडदेखि १५ करोड जनासम्म दीर्घ रोगी बनेका छन् । दीर्घ रुपमा यो संक्रमणले प्रभावित भएकामध्येबाट उल्लेख्य रूपमा कलेजोको सिरोसिस वा कलेजोको क्यान्सर विकसित हुन्छ ।
एन्टिभाइरल औषधिले करिब ९० प्रतिशत हेपाटाइटिस सी संक्रमणलाइ निको पार्न सक्छ । औषधिले संक्रमितहरूमा कलेजोको सिरोसिस र क्यान्सरबाट मृत्यु हुने जोखिमसमेत कम गर्ने डब्लुएचओले उल्लेख गरेको छ । ‘हेपाटाइटिस सी भाइरसले तीव्र र दीर्घ दुइटै किसिमको संक्रमण उत्पन्न गर्छ’, वीर अस्पतालको लिभर युनिटका प्रमुख प्राडा अनिलकुमार मिश्र भन्छन्, ‘यसको तीव्र संक्रमण हुँदा सामान्यतया कुनै लक्षण वा ज्वरो आउँदैन ।’ करिब १५ देखी ४५ प्रतिशतसम्म एचसीभी संक्रमित व्यक्तिमा आफैँ विनाकुनै उपचारले छ महिनामा यो भाइरस समाप्त हुने उल्लेख गर्दै मिश्र भन्छन्, ‘वाकी रहेका ५५ देखि ८५ प्रतिसतसम्म व्यक्तिले दिर्घकालिन एचसिभी संक्रमण विकसित गर्छन् । यस्ता दिर्घकालिन संक्रमण भएकामध्ये १५ देखि ३० प्रतिसतमा २० वर्षको अवधिमा कलेजोको सिरोसिस वा क्यान्सर विकसित हुने सम्भावना हुन्छ ।’ यो संक्रमण जतिखेर थाहा पाइयो, त्यति बेलै तुरुन्त उपचार शुरु गर्नु पर्छ । 
कसरी हुन्छ हेपाटाइटिस सी
यो संक्रमण मुख्य रुपमा रगतजन्य पदार्थका माध्यमले संक्रमितबाट स्वस्थ व्यक्तिमा सर्छ । संक्रमित रगत वा रगतका विभिन्न अवयवहरू उपयोग गर्नाले पनि संक्रमण हुन्छ । औषधिलाई सुईको माध्यमले हाल्ने उपकरण साझा गर्नाले समेत यो रोग सर्छ । यस्तै, निर्मलीकरण नगरिएको चिकित्साजन्य उपकरणको प्रयोग समेत यो संक्रमणको जोखिम बढाउछ । सक्रमित व्यक्तिसंग असुरक्षित यौन क्रिया गर्दासमेत यो संक्रमण हुन सक्छ । यति मात्र नभएर, संक्रमित आमाबाट समेत सन्तानमा यो रोग आउन सक्ने सम्भावना हुन्छ । तर यो स्तनपानबाट सर्दैन । खाना, पानी, सामान्य सम्पर्क
(जस्तै ः अँगालो, चुम्बन, खाना वा पेय पदार्थ साटासाट) बाट सर्दैन ।
जोखिममा को ?
कुनै पनि प्रकारले अन्य व्यक्तिको रगतको सम्पर्कमा आएकाहरू यो रोगको जोखिममा हुन्छन् । सुइको माध्यमले ड्रग लिने व्यक्तिहरू यसको जोखिममा सबैभन्दा बढी छन् । हाम्रो मुलुकमा इन्जेक्सनको माध्यमले ड्रग लिने करिब ९० प्रतिसत व्यक्तिमा हेपाटाइटिस सी भेटिएको छ । दुई÷अढाई दशक अघि शल्यक्रिया गराएकाहरूमा समेत यो संक्रमण हुन सक्ने सम्भावना देखिएको छ । सडक छेउ भएका एउटै ब्लेडले कपाल वा दाह्रीजुँगा काट्ने शैलुनबाट समेत यो सक्रमण भएका प्रसस्त उदाहरण रहेको डा. मिश्र बताउछन् । 
लक्षण ः यो रोगको भाइरस शरीरमा प्रवेस गरेको दुई सातादेखि छ महिनाभित्र रोगको लक्षण देखा पर्छ । प्रारम्भिक संक्रमण हुदाताका करिब ८० प्रतिसत व्यक्तिमा कुनै बाहिरी लक्षण देखिदैन । तर तीव्रतापूर्वक लक्षण देखिनेहरूलाई खानाको रुची कम, पेट दुखाइ, ज्वरो, वान्ता, पिसाब पहेलो, थकाइ, वाँकवाकी, जोर्नी पीडा, जण्डीस आदि हुने गरेको छ ।
यो संक्रमणबारे कसरी थाहा पाउने ?
सामान्यतया हेपाटाइटिस सीको संक्रमणको कुनै लक्षण देखिँदैन । त्यसैले यसको लागि रगतको परीक्षण गराउनु नै सबैभन्दा राम्रो हुन्छ । लिभर फंग्सन टेष्टमा इन्जाइम बढेको देखिए हेपाटाइटिस सीको समेत शंका गरेर परिक्षण गराउनु पर्ने डा. मिश्र सुझाउँछन् ।
उपचार ः हालै यसको नया एन्टिभाइरल औषधि आएको छ । डव्लुएचओका, अनुसार यसलाइ डाइरेक्ट एन्टिभाइरल एजेन्ट (डीएए) भनिन्छ । यो औषधि धेरै बढी प्रभावकारी, सुरक्षित र यस अघिका उपचार प्रकृयाहरूभन्दा राम्रो मानिएको छ । धेरैजसो संक्रमितहरूमा १२ साताको औषधि, उपचार पछि यो संक्रमण निको हुन्छ । मिश्रका अनुसार सामान्यतया १२ साता सम्म निरन्तर चक्की सेवन गरे पछि यो संक्रमण निको हुन्छ । तर विशेष परिस्थितिमा भने २४ सातासम्म औषधि खानु पर्ने हुन्छ । १२ साताका लागि उपयोग गर्दा यो औषधिमा करिव डेढ लाख खर्च हुन्छ ।
मदिराले ज्यान लिन्छ ः अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित एउटा अध्ययनका अनुसार, मदिरा सेवनले कलेजो खराब हुने र हेपाटाइटिस सी भाइरसले हुने मृत्युको खतरा बढाउँछ । हेपाटाइटिस सीले पिडित धेरै जसो व्यक्ति या त पहिले वा वर्तमान समयमा बढी मदिरा सेवन गर्ने हुन्छन् । हेपाटाइटिस सीका बिरामीलाइ मद्यापानले अति हानि गर्छ । मदिराले हेपाटाइटिस सीबाट पिडित व्यक्तिको अंगमा रेसायुक्त तन्तु बन्ने रोग फाइब्रोसिस र कलेजोको सामान्य काममा बाधा उत्पन्न गर्ने रोग सिरोसिसलाइ तिव्र गतिले बढाउछ । 
हेपाटाइटिस सी भएकामा क्यान्सरको खतरा दोब्बर ः एउटा अध्ययन अनुसार, हेपाटाइटिस सी भाइरसबाट संक्रमित व्यक्तिहरूमा मृगौला, कलेजो, प्रोस्टेट जस्ता फरक–फरक क्यान्सर हुने खतरामा समेत बढ्छ । सामान्य व्यक्तिको दाँजोमा हेपाटाइटिस सी संक्रमितमा क्यान्सरको सम्भावना दोब्बरभन्दा बढी हुन्छ । यो अध्ययन गत वर्ष अस्ट्रियामा भएको अन्तर्राष्ट्रिय कलेजो सम्मेलनमा प्रस्तुत गरिएको थियो ।

मानिसले नुन कति खाने ?

तपाईं नुन खानेहरूमध्ये कुन समूहमा पर्नुहुन्छ ? धेरै बढी वा आवश्यकताभन्दा पनि अत्यन्त कम खाने वर्गमा ? दुइटै ठीक होइन । धेरै बढी नुन खाने मात्र हैन, यदि तपाईं नुन चाहिनेभन्दा कम खानुहुन्छ भने पनि स्वास्थ्यसम्बन्धी जोखिममा हुनुहुन्छ । विज्ञहरूका अनुसार, नुनको सेवन तरबारका दुई धारझैं हुन्छ । बढी खाए पनि समस्या, कम खाए पनि कठिनाइ । हामीले खानामा उपयोग गर्ने नुनलाई विज्ञानको भाषामा सोडियम क्लोराइड भनिन्छ । जब सोडियम र क्लोरिनको एउटा–एउटा अणु आपसमा मिल्छ तब नुन अर्थात् सोडियम क्लोराइडको एउटा कण बन्छ । सोडियम शरीरलाई अत्यन्त चाहिने ‘इलेक्ट्रोलाइट’ मध्ये एक हो । मुटुको खुम्च्याइ, धड्कन निर्धारण, मस्तिष्क कोषिकाको क्रियाकलाप जस्ता मानव जीवनका लागि चाहिने अपरिहार्य गतिविधिमा सोडियमको सबैभन्दा ठूलो महत्व हुन्छ ।
आममानिसको रगतमा सोडियमको मात्रा १३५–१४५ मिलि इक्युभेलेन्ट प्रतिलिटर हुन्छ । कुनै कारणले यसको मात्रामा कमी आउँदा कमजोरी, रिँगटा, वाकवाकी, बेहोसी, छारे रोग (एपिलेप्सी) को लक्षण देखिन थाल्छ । कतिपय अवस्थामा व्यक्तिविशेषको मृत्युसमेत हुन सक्ने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन् । रगतमा सोडियमको मात्रा ११०–११५ मिलि इक्युभेलेन्ट प्रतिलिटरभन्दा कम हुँदा मस्तिष्कसँग सम्बन्धित लक्षण देखिने गर्छ । शरीरमा सोडियम कम हुने प्रमुख दुई कारण हुन्– खानामा नुनको मात्रा निकै कम गर्नु वा रक्तचाप र मुटुसम्बन्धी रोगमा उपयोग गरिने औषधिको साइड इफेक्ट । तर मुटु, मृगौला, कलेजोसम्बन्धी रोगमा समेत सोडियमको मात्रा कम हुने डा. ओममूर्ति बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार, दिनहुँ ५ ग्रामभन्दा बढी सोडियम अर्थात् नुनको सेवन गर्नु वा शरीरमा अपर्याप्त पोटेसियमको आपूर्ति हुनु अर्थात् ३.५ ग्राम प्रतिदिनभन्दा कम हुनुले उच्च रक्तचाप बढ्न सघाउँछ, मुटु रोग र स्ट्रोकको जोखिम बढाउँछ । धेरैजसो व्यक्तिले ९–१२ ग्राम नुन प्रतिदिन खाने गर्छन् । यो प्रस्तावित मात्राको दोब्बर हो । वयस्क व्यक्तिले दिनहुँ पाँच ग्रामभन्दा कम नुन खाने गरे रक्तचाप कम हुन्छ । साथै, मुटु र रगतको नलीसम्बन्धी रोग, स्ट्रोक र कोरोनरी हार्ट अटयाकको जोखिमसमेत कम हुन्छ । नुनको सेवनमा कमी ल्याउनाले उच्च रक्तचाप घट्दै आउने डब्लूएचओले जनाएको छ । यदि विश्वव्यापी रूपमा नुनको उपयोग प्रस्तावित मात्रा अनुसार गरिए वर्षेनी २५ लाख व्यक्ति मृत्युको मुखबाट जोगिन सक्ने डब्लूएचओको आकलन छ । डब्लूएचओले वयस्क स्वस्थ व्यक्तिका लागि दिनहँु पाँच ग्रामभन्दा कम अर्थात् एक चिया चम्चाजति नुन उपयोग गर्न प्रस्तावित गरेको छ । उपयोग गर्ने नुनमा आयोडिन मिसाइएको हुनुपर्छ । ‘उच्च रक्तचाप धेरै कारणले हुन्छ, यसमा नुनको अत्यधिक सेवनसमेत एउटा कारण हो,’ डा. ओममूर्ति भन्छन्, ‘तर नुनको प्रयोग मात्र घटाएर उच्च रक्तचाप नियन्त्रण गर्छु भन्नु गलत हो ।’ यद्यपि नुनको प्रयोग कम गर्ने्बित्तिकै माथिल्लो रक्तचाप ५ देखि १० एमएम अफ मर्करीसम्म घटाउन सकिन्छ, तथापि यसरी नै रक्तचाप घटाउने प्रयास गर्दा शरीरमा सोडियमको मात्रा कम भएर रातारात अस्पताल कुदाउनुपरेका घटनाहरू धेरै भएको उदाहरण दिँदै डा. ओममूर्ति भन्छन्,–‘सोडियम कम भएर सिकिस्त भएका र मृत्युको नजिक पुगेकाहरूसमेत धेरै छन् ।’ रक्तचापमा उपयोग गरिने औषधिले समेत शरीरमा सोडियमको मात्रा काम गर्न सक्छ । यसैले उच्च रक्तचापका प्रत्येक बिरामीले कति मात्रामा नुन खाने भन्नेबारे चिकित्सकसँग छलफल गर्नैपर्छ ।
सामान्यतः नुनको सेवन बढी गर्दा स्ट्रोक, उच्च रक्तचाप, ह्दयाघात लगायतको जोखिम हुन्छ । यसैले सामान्य स्वथ्य व्यक्तिले दिनहुँ पाँच ग्रामभन्दा कम र मुटु रोगी वा उच्च रक्तचाप भएकाहरूले दुईतीन ग्राम नुन खानुपर्ने औँल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘हाम्रो भान्सामा नापेर नुनको उपयोग गर्ने चलन नरहेकोले यसको उपभोगमा विशेष ध्यान आवश्यक हुन्छ ।’ स्वस्थ व्यक्तिले दिनहुँ एक सय मिलिग्रामजति सोडियम खान मिल्ने उल्लेख गर्दै ओममूर्ति थप्छन्, ‘६ ग्राम नुनमा २.४ ग्राम सोडियम क्लोराइड र एक सय मिलिग्राम सोडियम हुन्छ ।’ यसैले सोडियम बढी भएका खानेकुरा उपयोग गर्नबाट सम्भव भएसम्म जोगिनुपर्छ । फलफूल, सागसब्जी, सलादमा नुन छर्कनु हुँदैन । अझ खानामा नुन थपेर खाने बानी तुरुन्त बन्द गर्नुपर्छ । खाना पकाउँदा सकेसम्म नुनको प्रयोग कम गर्दै जानुपर्छ ।
नेपाल र भारतजस्ता मुलुकमा एक व्यक्तिले सरदर १० ग्रामभन्दा बढी नुनको उपयोग गर्ने उल्लेख गर्दै डा. ओममूर्ति सचेत गराउँछन्, ‘बजारमा पाइने खानेकुरालाई लामो समयसम्म खान योग्य बनाउन राखिएको प्रिजरभेटिभमा सोडियमको मात्रा धेरै बढी हुन्छ । अचारमा हेर्दा थोरै भए पनि यसमा धेरै नुन हुन्छ । केही खानेकुरा कम नुनिलो लागे पनि तिनमा सोडियम धेरै बढी हुन्छ ।’ विज्ञहरूका अनुसार, नुनको मात्रा कम गर्न सकेसम्म घरबाहिर खाद्य पदार्थ खानु हुँदैन । होटलमा एक दिनको खाना खानाले शरीरमा दुई सातासम्मका लागि उच्च सोडियमको मात्रा पुग्न सक्छ । नेपाली भान्सामा प्रयोग गरिने पापड, अचार, फ्रेन्च फ्राई, चिप्स, फास्ट फुड लगायतका बढी समयसम्म संरक्षित राखिएका खाद्य पदार्थमा सोडियमको मात्रा बढी हुन्छ । हाम्रो खानामा सोडियमको मुख्य स्रोत नुन नै हो । तर यो सोडियम ग्लुटामेट अर्थात् अजिनोमोटोका माध्यमले पनि शरीरभित्र पुग्न सक्छ ।







Post a Comment

 
Top