0
सोमबार राति र मंगलवार बिहानको अविरल भीषण वर्षाले सेती नदीमा आएको बाढीले डुबानमा परेको रामघाट बौद्ध अर्घौ सदन परिसरमा रहेको चितास्थल सफाईका लागि पोखराका तमु समाजहरु जुटेका छन् । रामघाटमा अहिले सम्मकै ठूलो बाढीका कारण चितास्थल डुबानले बालुवा, ढुंगा, माटो थुप्रिएर लास जलाउन समेत समस्या भएकाले बौद्ध अर्घौ सदनको आह्वानमा बुधवार र बिहीवार आठ वटा तमु समाजहरु सफाईमा जुटेका हुन । बुधबार समाजका अध्यक्ष क्याप्टेन तमबहादुर गुरुङको नेतृत्वमा तमु सहयोग समिति पार्दीका सदस्यहरु र अध्यक्ष एकबहादुर गुरुङको अगुवाईमा कुम्लुङ रोम्लेदेवी तमु समाज र विहीवार बिहान अध्यक्ष क्या. गुमानध्वोज गुरुङ सहित चिउली पार्चे तमु समाज, अध्यक्ष ना.सु. कृष्णबहादुर गुरुङको नेतृत्वमा बाँझापटन तमु समाजका सदस्यहरु, सु.रसबहादुर गुरुङको संयोजकत्वमा याङ्जाकोट तमु समाजले सरसफाई गरेको थियो । यसरी नै बिहीबार दिउसो समाजका उपाध्यक्ष सु.जसबहादुर गुरुङको अगुवाईमा दुधपोखरी तमु समाज, अध्यक्ष सुवेदार कृष्णबहादुर सु.जसबहादुर गुरुङको संयोजकत्वमा हिमाली गुरुङ परिवार र सह–सचिव सुवास गुरुङको नेतृत्वमा बगालेटोल तमु समाजको करिब ५ सय जनाले सफाई गरेको हो। यसैबीच याङ्जाकोट घर भई हाल पोखरा १३, गौंडामुख निवासी गुन्सरी गुरुङको सातांै दिनको पितृकार्य बौद्ध अर्घौ सदन गुम्बामा भईरहेकाले स्व. गुरुङका छोरा बुहारी, छोरी र नातिनीको तर्फबाट बिहानको समयमा चित्ता सफाई गर्न आउनेहरुलाई खाजाको व्यवस्था गरिएको थियो । दिउसोको खाजा बौद्ध अर्घौ सदनले व्यवस्था गरेको थियो भने चितास्थल सफाइमा सहभागीहरुलाई सदनका कोषाध्यक्ष बिलबहादुर गुरुङले धन्यवाद व्यक्त गरेका थिए । यसरी नै साउन १४ गते शुक्रवार बिहानको समयमा उपकार तमु समाज र दिउँसोको समयमा चारभङ्ज्याङ तमु समाजले सफाई गर्ने बौद्ध अर्घौ सदनले जनाएको छ। डुवानमा परेको चितास्थल मंगलवार दिउसो रामघाटको पानीको सतह घटेपछि उक्त दिन बौद्ध अर्घौं सदनका उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङको नेतृत्वमा पदाधिकारी, कार्यसमिति सदस्यहरु, उप–समितिका सदस्यहरु लगायत चितास्थलमा पुगेका महानुभावहरुले सफाईको शुरुवात गरेका थिए ।



Post a Comment

 
Top