0
अबिरल वर्षाका कारण आएको पहिरोमा पुरिएर प्युठान र गोरखामा गरी ११ जनाको ज्यान गएको छ । मंगलबार राति प्युठानमा दुई परिवारका ८ जनाको मृत्यु भएको हो । गोरखाको केरौंजा गाविसमा बाटो पन्छाउने क्रममा पहिरोले पुरिएर तीनजनाको मृत्यु भएको छ । त्यहाँ ६ जना पुरिएकोमा ३ मात्रै बाँच्न सकेका थिए । प्युठानको रजबारा– ३ नेटामा गएको पहिरोमा पुरिँदा एकै घरमा ५ जनाको मृत्यु भएको छ । स्थानीय दुर्गाबहादुर मल्लको घर पहिरोले पुरिँदा मल्लसहित उनका ३ छोरी र श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु भएका मल्ल अन्दाजी ४५ वर्षीय थिए भने ४० वर्षीया श्रीमती सीता मल्ल, १० वर्षीया छोरी सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको पनि पुरिएर मृत्यु भएको हो । घटनास्थलमा उद्धारका लागि प्युठानका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली त्यसतर्फ गएको थियो । पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिएका छन् । ‘दुई स्थानमा गएको पहिरोमा दुई परिवारका ८ जनाको मृत्यु भएको छ,’ प्रजिअ पन्तलाई उद्धृत गर्दै समाचार अनलाइनहरुले लेखेका छन् । मंगलबार रातिकै पहिरोमा घर भत्किँदा उत्तरी प्युठानको पूजा–३ मा एकै परिवारका तीनजनाको मृत्यु भएको हो । अबिरल वर्षाका कारण घर भत्किएर पुरिँदा हुमबहादुर सुनार, उनकी श्रीमती खुसी र ७ वर्षीया छोरी सीमाको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ । यसैगरी गोरखा केरौंजा गाविस ३ को केरौंजा बेसीबाट माछाखोला जाने बाटो पन्छाउने क्रममा पुरिएका ६ जनामध्ये तीन जनाको मृत्यु भएको हो । पहिरोमा परी केरौंजा ३ की ४५ वर्षीया कान्छीमाया गुरुङ, ३० वर्षीया चीनमाया गुरुङ र १५ वर्षका सन्देश घलेको मृत शरीर निकालेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी जनकराज पाण्डेले जानकारी दिए ।




Post a Comment

 
Top