0
गोल्डेन न्यूज संवाददाता
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले राजनीतिक अधिकार व्यवहारमा लागू गर्न आर्थिक समृद्धि अनिवार्य भएको बताएका छन् ।  नयाँ शक्ति नेपालले राष्ट्रिय भेलाको भाव सम्प्रेषण गर्न पोखरामा आयोजना गरेको ४ नं. प्रदेश स्तरको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८० वर्षको संघर्षपछि राजनीतिक अधिकार प्राप्त भएको र त्यही राजनीतिक अधिकारलाई कार्यान्वयन गराउन आर्थिक आधार बदल्नुपर्नेमा जोड दिए ।
संयोजक भट्टराईले उत्पादन शक्ति र उत्पादकत्व बढाउन नसके राजनीतिक अधिकार कार्यान्वयन गर्न कठिन हुने स्पष्ट पारे ।  ‘अगाडि बढेको राजनीतिक संरचना र पछाडि परेको आर्थिक आधार नै नेपाली समाजको अहिलेको मुख्य अन्तरविरोध हो,’ उनले भने–‘अबको राजनीतिक आर्थिक समृद्धिलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्छ ।’ उनले गरिबी र बेरोजगारी अहिलेको साझा समस्याको भएको उनले औल्याए । ‘ठूला आदर्शका कुरा होइनकी अहिलेको समस्याको हल गर्नु नै हाम्रो मुख्य राजनीतिक कार्यभार हो,’ उनले भने–‘अबको निकास आर्थिक विकास नै हो, त्यसलाइ नै नयाँ शक्तिले राजनीतिक कार्यदिशा बनाएको छ । २०औं शताब्दीका उदार पुँजीवाद र राज्य केन्द्रित समाजवादी विचारबीच चलेको शितयुद्धदेखि अहिलेसम्म आउँदा ती विचार संकटमा परेको भन्दै   संयोजक भट्टराईले नयाँ शक्तिले सारेको विचार विश्वमा नै विकल्प हुन सक्ने दाबी गरे । ‘मरेपछिको स्वर्ग होइनकी आफ्नै जीवनकालमा मुलुकलाई समृद्ध बनाउने कार्यनीति बनाउनु पर्छ,’ उनले भने–‘गरिबी र बेरोजगारी अन्त्य गरेर देशमा नै रोजीरोटी र रोजगार ग्यारेन्टी गर्ने राजनीतिक विचार अहिलेको आवश्यकता हो, त्यसलाई नै नयाँ शक्तिले आत्मसाथ गरेको छ । संयोजक भट्टराईले हिजोको सोंच र संगठनको ढाँचाले देशलाई समृद्ध बनाउन नसकिने भन्दै ै माक्र्सवादको गुदी कुरोलाई समेटेर युगअनुसार त्यसलाई परिर्वतन गरेर उत्पादक शक्तिको विकास गर्न आफू लागिपरेको स्पष्ट पारे । उनले सत्तामा नपुगि जनताका समस्यालाई हल गर्न नसकिने भन्दै संगठनलाई सुदृढ गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘जनताका आधारभुत आवश्यकता पूरा गर्र्नका लागि सत्तामा पुग्नै पर्छ,’ उनले भने–‘पार्टीलाई बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, यसको विकल्प छैन ।’ कार्यक्रममा नयाँ शक्ति पार्टीका सहसंयोजक रामचन्द्र झाले पुुराना राजनीतिक दलहरुले अहिलेको चुनौतीलाई सामाना गर्न र आर्थिक समृद्धिको मुद्दालाई अगाडि बढाउन नसक्ने दाबी गर्दै त्यसको विकल्पमा नयाँ शक्ति अगाडि आएको बताए। परम्परगत शक्ति भन्दा फरक ढंगले अगाडि बढेर आर्थिक समृद्धि हासिल गर्ने विचारसहित नयाँ शक्ति पार्टी गठन भएको भनाइ उनको भनाई थियो । कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रदेश संयोजक बलावती शर्मा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।









Post a Comment

 
Top