0
गोल्डेन न्यूज संवाददाता
सिधुवामा बिहीबार बस दुर्घटना हुँदा माओवादी नेता एवं पूर्व अर्थराज्य मन्त्री हरिराज खेवासहितका १३ जनाको मृत्यु भएको छ । संखुवासभाको मुढेशनिश्चरेबाट तेह्रथुमको वसन्तपुर हँदै धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बर बस सवा १२ बजे सडकबाट करिब सय मिटर खसेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत रहेका ४५ वर्षीय खेवा, परेवादिन ४ का ४० वर्षीया तारादेवी बस्नेत र उनकी २ वषिर्या छोरी रेष्मा छन् । यसैगरी, परेवादिन ५ की अतिमाया तामाङ, धरान २ का देवप्रकाश अग्रवाल, बुढिमोरङ ८ का २२ वर्षीय बस चालक सनम तामाङ, मारेकटहरे ३ का ५२ वर्षीय बीरबहादुर काफ्ले, परेवादिन ५ की ५० वर्षीया घिनामाया भट्टराई, तेह्रथुम फुलेक ६ की १२ वर्षीया होमा पौडेल, लेगुवा २ का १५ वर्षीय रेकबहादुर थापा र संखुवासभा मादीका टंक कटुवालको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेले बताए । मृतक दुई सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा ७ जनाको मृत्यु भएको थियो । अन्यको उपचारक्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २७ जनाको धरान, धनकुटा, विराटनगर लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । बाक्लो हुस्सु लागेको तथा वर्षा भइरहेको बेला दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खडकाले बताए । नेता खेवा पार्टीका पुर्व जिल्ला सदस्य मारेककटहरे घर भएका यामकुमार कार्कीको वुवाको निधन भएकाले समवेदना व्यक्त गर्न गएर र्फकने क्रममा थिए । उनी चित्रेबाट १५ मिनेट अगाडि बस चढेका थिए । बसमा ४० जनाभन्दा वढी यात्रु रहेको र दुर्घटना स्थलमा आउनुभन्दा १ किलोमिटर माथिबाट ब्रेक फेल भई अनियन्त्रित भएर घुम्तीबाट करिब सय मिटर तल झरेको घाइते भोला थापाले बताए । चालकले यात्रुले सुन्ने गरी ब्रेकफेल भएको जानकारी गराउँदै गर्दा दुर्घटना भएको बताए ।  जिल्ला अस्पतालमा उपचार गराइरहेका घाइते थापाले बसले सडक छाडेपछि उत्तीसको रुखमा ठोकिएको मात्र याद भएको बताए ।








Post a Comment

 
Top