0
गोल्डेन न्यूज संवाददाता
सरकारी एवं सार्वजनिक संस्थानका सवारी साधनको दुरुपयोग मुलुकभर बढ्दै गइरहेको छ । सवारी साधनको दुरुपयोग कास्कीमा पनि बढ्दै गइरहेको छ । केही दिन अघि पोखरा उपत्यका नगर विकास समितिको गाडी समितिका अध्यक्ष प्रकाश मोहन खनालको आफन्त बोक्न प्रयोग गरिएको समाचार सार्वजनिक भएको थियो । पोखरा उपत्यका नगर विकास समितिको घटना सेलाउन नपाउँदै अर्को एक सरकारी संस्थाले पनि सवारी साधनको दुरुपयोग गर्दा बुधबार पोखरामा पक्राउ भयो । भौतिक योजना तथा निर्माण मन्त्रालयको सरकारी गाडी पोखरामा दुरुपयोग भएको पाईएपछि विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका युवा तथा स्थानीयहरुको सक्रियतामा उक्त गाडी प्रहरीलाई बुझाइएको हो । काठमाडौंबाट पोखरा आइपुगेको उक्त गाडीमा सडक विभागका एक कर्मचारीको आफन्तमात्र सवार थिए । बुधबार राति करिब ८ बजे पोखराको नागढुङ्गास्थित बाजेको सेकुवा परिसरमा बा१झ ४८ ६१ नम्बरको सरकारी नम्बर प्लेटको गाडी भेटिएको थियो । रातको समयमा रेष्टुरेण्टको परिसरमा सरकारी गाडी भेटिएपछि उनीहरुले स्थानीय बासिन्दाको सहयोगमा गाडी नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाममा बुझाएका थिए । ‘मन्त्रालयको सरकारी गाडी लिएर व्यक्तिगत कामका लागि लिएर पोखराको होटलमा आएको थाहा पायौं ।’ नेकपा माओवादी पश्चिम कमाण्ड सेक्रेटरी परिवर्तनले भने– ‘गाडी लिएर आउने व्यक्तिले आफू सरकारी कर्मचारी पनि नभएको र साथीसँग मागेर गाडी लिएर आएको बताएपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौं ।’ गाडी चालकले ती व्यक्ति सरकारी कर्मचारी नै भएको बताएपनि आफ्नो पोल खुल्ने डरले ती व्यक्तिले परिचय दिन नमानेको परिवर्तनले बताए ।


Post a Comment

 
Top