0
गोल्डेन न्यूज संवाददाता
एक नगरपालिका सहित ६ गाविसलाई सेवा दिने गरी लेखनाथ १२ खुदीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको एक महिना बित्यो । कार्यालयमा नागरिकता, राहदानी, स्थानीय प्रशासन तथा शान्ति सुरक्षा, गुनासो तथा द्वन्द ब्यवस्थापन र लेखा शाखा गरी पाँच वटा शाखा छन् । सबै शाखा कार्य सञ्चालनका लागि तयारी अबस्थामा छन् । कार्यालयमा तेस्रो श्रेणीका अधिकृतको नेतृत्वमा १० जना कर्मचारीको दरबन्दी पनि छ । गत जेठ ३० गते गृहमन्त्री शक्ति बस्नेतले कार्यालयको उद्घाटन गरेका थिए । घर छेउमै स्थानीय प्रशासनको सेवा प्रवाह गर्ने निकाय सञ्चालनमा आएपछि सेवाग्राही खुसीले गद्गद् थिए । जिल्ला प्रशासन कार्यालयबाट पाउने सामान्य सेवाको लागि पोखरा सम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास थियो । तर सेवाग्राहीको सहजताका लागि सञ्चालनमा आएको इलाका प्रशासन कार्यालयले कार्यदेश अनुसार काम गर्न सकेन । कार्यालयका पाँच वटा शाखा मध्य नागरिकता फाटमा फ्याट्ट फुट्ट काम हुन्छ अन्य फाट सुनसान छन् । सेवाग्राही आउदै फर्किदै गरेका छन् । कर्मचारी फुर्सदिला बनेका छन् । कार्यालयले अहिलेसम्म नयाँ नागरिकता बितरण गर्ने बाहेक अन्य काम गर्न सकेको छैन । कार्यालय प्रमुख दिपेन्द्र पौडेलका अनुसार यो एक महिनाको अवधिमा लेखनाथबाट २४८ नयाँ नागरिकता र नाता कायम गरिएको २० वटा प्रतिलिपि नागरिकता बितरण गरिएको छ । जिल्ला प्रशासनबाट पाँउने सामान्य सबै सेवाहरु उपलब्ध गराउने गरी कार्यालय सञ्चालनमा आएपनि सेवाग्राहीले लाभ लिनुको साटो उल्टै दुःख पाउने गरेका छन् । नागरिकता प्रतिलिपि र राहदानीको सिफारिसको लागि कार्यालयमा पुग्दा ‘यो काम यहाँबाट हुँदैन, पोखरा जानुहोस्’ भन्दै जिल्ला प्रशासनमै पठाउने गरिएको सेवाग्राहीको गुनासो छ । लेखनाथ नगरपालिका सहित थुम्की, सिद्ध, हंसपुर, देउराली, माझठाना र रुपाकोट गाविसलाई कार्याक्षेत्र बनाइएको यो कार्यालयबाट अन्य सेवा पाउन भने सकिएको छैन । जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रको अभिलेख उपलब्ध नगराउदा नागरिकताको प्रतिलिपि दिन सकिएको छैन । त्यस्तै राहदानीका लागि अख्तियारी नपाएका कारण सिफारिस गर्न पनि नसकिएको पौडेलले बताए ।  ‘काम नपाएर कर्मचारी फुर्स्दिला बनेका छन्,’ उनले भने–‘जिल्लाबाट अभिलेख नआउदा नागरिकताको प्रतिलिपि समेत दिन सकिएको छैन ।’ प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रका अभिलेख छुट्याउने काम भैरहेको बताए । उनले स्थानीय स्तरमा सिफारिस गर्ने बेलानै कार्यक्षेत्र अनुसार कार्यालय तोक्ने गरिएकाले सेवाग्राहीलाई अन्योलता नभएको दावी गरे ।

Post a Comment

 
Top