0
गोल्डेन न्यूज संवाददाता
केदारेश्वर मन्दिर महादेवमणि सेवाश्रम समितिको आयोजनामा पोखरामा साउन सोमबारसँगै बोलबम जलयात्रा कार्यक्रम सुरुवात भएको छ । बैदामस्थित केदारेश्वर मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजन शिवलिंगमा जल चढाउन र पूजाआजा गर्न पुगेका थिए । शिव भक्तजन सोमबार दिउँसो अबेरसम्म मन्दिरमा पूजाआजा गर्दै नाचगान गरेका थिए । भगवान शिवको लागि साउन महिना र सोमबार प्रिय महिना मानिने भएकोले भक्तजन निराहार ब्रत बसी शिवको पूजाआजा गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बोलबम संयोजक शंकर खरालका अनुसार १४ वर्षअघि केदारेश्वरबाट यस क्षेत्रमा सुरु भएको बोलबम कार्यक्रम विस्तारै व्यापक बन्दै गएको छ । हरेक शिव मन्दिरमा यतिखेर भक्तजनको घुइँचो देखिन्छ । यसपालि पनि कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्णलाई उनले सहयोग गरिदिन आग्रह गरेका छन् । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ भएको बोलबम कार्यक्रमको लागि जल लिन भक्तजन बगरस्थित गाईघाट पुगेका थिए । गाईघाटमा पनि कास्कीसहित छिमेकी जिल्लाबाट आएका शिव भक्तजन सेतीकिनारमा जम्मा भएका थिए । उनीहरु बोलबमको नारासहित भजनकीर्तन गर्दै ८ किलोमिटर सडक पैदलयात्रा गरी बोलबमधाम बैदाम पुगेका हुन् । भक्तजनले गाईघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकी सहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाममा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनुलाई संयोग मान्छन् । यसरी ८ को संयोजक सायदै अन्त कतै पाइन्छ । मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यका अनुसार साउन महिनालाई विशेष मान्नुको पछाडि विशेष कारण छ । आचार्य भन्छन्, –“साउनमा भगवान शिवको पूजाआजा गरेमा मनुष्यको अन्तिम लक्ष्य मोक्ष प्राप्ति हुन्छ । घर परिवारमा आरोग्य, सुखशान्ति र देशमा शान्ति छाउँछ । पूजाआजामा भक्तजनलाई सहज बनाउन मन्दिरका चारवटै ढोका खोलिएका थिए । विभिन्न भजनसमूहले भजन प्रस्तुत गरेका थिए । आर्वा महाप्रभू भजन समूह, अन्नपूर्ण बाराही, बोलबम भजन, दैवीशक्ति खोज तथा उपचार केन्द्र, दैवीशक्ति ज्योतिष तान्त्रिक भजन समूह, एनबी व्यवसायी समितिले भजनमा भक्तजनलाई नचाएको भजन संयोजक प्रजापति पराजुलीले बताए । त्यस्तै, मितेरी नारी समूहले भक्तजनलाई प्रसाद खुवाउन सहयोग गरेको समूहका अध्यक्ष कमला पहारीले बताइन् । उक्त समूहसँग मिलेर सामाजिक जागरणका लागि नारी अभियानले  मागेर गुजारा चलाउने मन्दिर परिसरमा भेटिएका करिब १ सय जनालाई एक छाक खाना खुवाएको अभियान संयोजक सुष्मा पौडेलले जानकारी दिइन् । उनले आगामी साता पनि सहयोग गर्ने र स्वास्थ्य शिविर चलाउने बताइन् । भक्तजनलाई सहजताका लागि पृथ्वी होटल व्यवसायी समिति, राजभण्डारी ट्रान्सफर्मर, सृजनाचोक व्यवसायी समिति, भारतको मोतिहारी घर भै पोखरा बस्ने मुन्द्रिका गिरी, विवेक कुमार, सुनिल सिंहको समूहले विभन्न ठाउँमा सर्वत पानी खुवाएका थिए । कार्यक्रम सफल पार्न विभिन्न आमा समूह, क्लब, सुरक्षा निकाय, संचारक्षेत्र, नागरिकसमाज, विभिन्न संघसंस्थाले सहयोग आ–आफ्नो क्षेत्रमा रहेर सहयोग गरेको मन्दिरका सचिव खिमबहादुर पहारीले जानकारी दिए । यसपाली साउनमा ५ सोमबार परेको हुँदा सबै सोमबारमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

Post a Comment

 
Top