0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १६ र त्यस क्षेत्रमा रहेका महत्वपूर्ण गुफा सम्पदाहरुको संरक्षण व्यवस्थापन र सञ्चालन गर्ने उद्देश्यले गठित गुफा क्षेत्र पर्यटकीय विकास समितिको संयोजकमा पत्रकार यदुनाथ बञ्जारा चयन भएका छन् । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी उच्च मा.वि. पोखरा–१६ बाटुलेचौरले संरक्षण र सञ्चालन गर्दै आएको ऐतिहासिक र पुरातात्विक महेन्द्र गुफा र विश्वकै लोपोन्मुख प्रजातीको चमेराहरुको बासस्थान रहेको चमेरे गुफाको संरक्षण सम्बद्र्धन सहित सञ्चालन गर्न उच्च मा.वि. व्यवस्थापन समिति मातहतमा रहने गरि गुफा क्षेत्र पर्यटन विकास समिति क्रियाशिल रहदै आएको छ । विद्यालय व्यवस्थापन समितिको असार ३० गते बसेको बैठकको निर्णय अनुसार २०७५ भाद्रसम्मका लागि वि.व्य.स.का सदस्य यदुनाथ बञ्जारालाई संयोजक चयन भएको समितिका अध्यक्ष गोविन्द बहादुर बस्नेतले बताए । पोखरा १६ मा रहेका यि दुई प्राकृतिक गुफा सम्पदा विश्वमै प्रसिद्ध छन् । आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र रहेको यस सम्पदाबाट आर्जित रकम विन्ध्यवासिनी उच्च मा.वि.का करिब ११ सय जना विद्यार्थी पठाउन सदुपयोग गरिएको छ । गुफा क्षेत्रको आम्दानीबाट त्यस भित्रको विकास र व्यवस्थापनमा खर्च गर्ने नवनियुक्त संयोजक यदुनाथ बञ्जाराले बताए । गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थासँग सहकार्य गरेर विद्यालय र गुफा क्षेत्रको समग्र विकासमा जुट्ने संयोजक बञ्जाराले बताए । यसैगरी विन्ध्यवासिनी उच्च मा.वि.पोखरा १६ को प्रधानाध्यापकमा कृष्णप्रसाद आचार्य नियुक्त भएकाछन् । बहालवाला प्र.अ. खिमलाल अधिकारीले दिएको राजीनामा स्वीकृत गरी श्रावण १ गतेबाट लागू हुने गरी आचार्यलाई प्र.अ. नियुक्त गर्ने वि.व्य.स.ले निर्णय गरेको जानकारी प्राप्त भएको छ । विन्ध्यवासिनी उच्च मा.वि. ले विद्यार्थी पलायन रोक्न र शैक्षिक गुणस्तरमा सुधार ल्याउन अंग्रेजी माध्यमको पढाई सञ्चालन गर्दै आएको छ । उच्च मा.वि.तर्फ व्यवस्थापन र शिक्षा विषय पढाई भइरहेको र विद्यालयकै संरक्षकत्वमा विन्ध्यवासिनी क्याम्पसमा सञ्चालनमा रहेको छ ।  विद्यालयले गुफाबाट आर्जित आम्दानीबाट यस आसपासका फिडर विद्यालयहरुलाई पनि विविध सहयोग पु¥याउदै आएको छ । यहि क्रममा विन्ध्यवासिनी उ.मा.वि.ले आ.व.०७२–७३ मा सिता प्रा.वि. अर्मलाकोट, जनता प्रा.वि. घोरकुना अर्मलालाई करिब २० हजार रुपैया बराबरको शैक्षिक सामग्री र अकला प्रा.वि. लामाचौरलाई यूरोगार्ड सहयोग स्वरुप उपलब्ध गराइएको प्र.अ. खिमलाल अधिकारीले बताए । विद्यालयले यस अघि ज्ञानज्योती छहरेपानी अर्मला, नारायणी प्रा.वि., अर्मला, दिव्यज्योती प्रा.वि. पोखरा–१६ अम्मरे र गायत्री प्रा.वि. लामाचौर घार्मीलाई आर्थिक सहयोग उपलब्ध गराइसकिएको प्र.अ. अधिकारीले बताए ।




Post a Comment

 
Top