0
गोल्डेन न्यूज संवाददाता
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। उनी बोल्न, जुस पिउन र आफैं उठ्न सक्ने भएका छन्। ओम अस्पतालका अनुसार उनी बिस्तारै बोल्छन्। उनलाई धेरै नबोल्न डाक्टरले सुझाव दिएका छन्। ‘अति गम्भीर अवस्थाबाट भर्खरै सामान्य बन्दै जानुभएकाले साधारण अवस्थाभन्दा अलि फरक तरिकाले बोल्नुहुन्छ,’ अस्पतालका मेडिकल डाइरेक्टर डा. हरि जोशीले सेतोपाटीसँग भने,–‘उहाँको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको छ।’ स्वास्थ्य अवस्था सुधार भइरहेकोले उनलाई थप संक्रमणबाट जोगाउन डाक्टरले भेट्न रोक लगाएका छन्। विशिष्ठ व्यक्ति र परिवारका सीमित सदस्यलाई मात्र भेट्न दिइएको छ। स्वास्थ्यस्थिति सुधार हुँदै गएपछि महामन्त्री कोइरालाकै अनुरोधमा ‘क्याथेटर’ (पिसाब फेर्न जोडिएको थैलो) शुक्रबार हटाइएको छ। ‘उहाँ आफैं पिसाब फेर्न र दिसा बस्न चाहनुहुन्छ, तर अक्सिजनमा राखेकाले ट्वाइलेट जान दिइएको छैन,’ उनका स्वकीय सचिव भरत तिवारीले भने। होस आएपछि पनि पिसाब फेर्न थैलो राखेकाले लजाएको महसुस गरेर कोइरालाले हटाउन लगाएको तिवारीले बताए। दिसाका लागि लगाएको ‘ड्राइपर हटाउन कोइरालाले अनुरोध गर्दै आएका छन्, तर हटाइएको छैन। दिसा–पिसाबमा अप्ठेरो महसुस गरेर कोइराला घर फर्किन चाहन्छन्। ‘अब घर जाने हैन?, उतै उपचार गर्दा हुँदैन?,’ कोइरालालाई उद्धृत गर्दै तिवारीले भने। शुक्रबार बिहान कोइरालालाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा गएका थिए। कोइराला देउवासँग बोल्न उत्साहित थिए तर देउवाले रोके। देउवाले ‘तपाईं अहिले नबोल्नुस्’ भनेका थिए। कोइरालाले बिहान पानी खाए, जुस पिए, कालो चिया पनि खाए। बेलुकाका लागि कोइरालालाई ‘भेज सुप’ खुवाउने तयारी गरिएको तिवारीले बताए। दिउँसो ३ बजेतिर पनि कोइरालाले जुस पिएका थिए। बिहान कोइरालाको टाउको, छाती र पेटको सिटिस्क्यान गरिएको अस्पतालले जनाएको छ। बिहान डा. उपेन्द्र देवकोटा, डा. भगवान कोइराला र डा. अर्जुन कार्कीको संयुक्त टिमले सिटिस्क्यान गरेको थियो। सिटिस्क्यानमा रिपोर्ट ‘नर्मल देखिएको’ डाक्टरलाई उद्धृत गर्दै भतिजा सिद्धार्थ कोइरालाले जानकारी दिए। डा. जोशीका अनुसार चिकित्सक टिमले कोइरालाको दिनैपिच्छेको अवस्था गहिरो तरिकाले अनुसन्धान गरिरहेका छन्। उनको फोक्सोमा देखिएको निमोनिया निकै कम भइसकेको उनले बताए। ‘भर्खरै भेन्टिलेटरबाट निकालिएको हुनाले उहाँको स्वास्थ्यस्थिति बुझ्न दुई–तीन दिन समय लाग्छ,’–उनले भने। कोइरालाको मिर्गौला र कलेजोमा संक्रमण नरहेको जोशीले बताए। कोइरालाको स्वास्थ्य क्रमिक रुपमा सुधार आइरहेकाले उनलाई उपचारका लागि अन्यत्र नलैजाने परिवारले निर्णय गरेका छन्। बरू दिल्लीबाट चिकित्सकको टिम यतै बोलाउने कि भन्ने विषयमा छलफल चलिरहेको पारिवारिक स्रोतले जनाएको छ। नेपालका यतिधेरै अनुभवी डाक्टरहरू उपचारमा हुनुहुन्छ, स्वास्थ्य दिनदिनै सुधार छ, त्यसैले बाहिर लैजाने निर्णय छैन,’– भतिजा सिद्धार्थले भने।








Post a Comment

 
Top