0
गोल्डेन न्यूज संवाददाता
पोखरामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा क्षेत्रीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  इन्सेक पश्चिमाञ्चल कार्यालय पोखरा  र मानवअधिकार निगरानी समूह कास्कीको संयुक्त आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले राज्यको तहबाट नागरिकका मौलिक अधिकार तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी राज्यका नीति तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको गुनासो गरेका छन् । उनीहरुले  स्थानीय निकायबाट प्रभावकारी सेवा दिन नसकेको, ग्रामिणस्तरका विद्यालयमा बालमैत्री शिक्षाको वातावरण नभएको, प्राथमिक शिक्षा निःशुल्क भनिएता पनि विभिन्न वाहनामा शुल्क लिने गरिएको, स्वास्थ्य चौकीबाट प्रभावकारी सेवा उपल्ब्ध हुन नसकेको, गाविस स्तरमा कृषि प्राविधिकहरुको व्यवस्था नहुंँदा सेवाग्राही मर्कामा परेको, खाद्यान्न तथा तरकारीहरुमा बिषादी र अखाद्य वस्तुहरुको मिसावटले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भीर असर गरेको भन्दै अनुगमनका लागि सम्बन्धित निकायको जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुबेदीले जिल्ला प्रशासन कार्यालयमा बजार अनुगमन समितिले निरन्तर अनुगमन गरेको भन्दै मूल्य बृद्धि र मिसावट गरिएको पाईएमा तत्काल कार्वाही गरिने प्रतिवद्धता जनाए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश कोईरालाले चाप अनुसारको प्राविधिक र जनशक्ति नभएका कारण ग्रामिण स्तरमा सेवा प्रभावकारी रुपमा दिन नसकिएको जानकारी गराए । कास्कीमा बिषादी प्रयोग गत बर्षको तुलनामा कमि आएको भन्दै उनले कृषि बिकास कार्यालयले प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिईरहको स्पष्ट पारे । कार्यक्रममा क्षेत्रीय पशुसेवा निर्देशनालयका निर्देशक डा. देव नन्दन शाह, क्षेत्रीय शिक्षा उप–निर्देशक हरिहर घिमिरे, जिल्ला शिक्षा अधिकारी रमाकान्त अर्यालले आ–आप्mना कार्यालय अन्तर्गत उठेका समस्यालाई सम्बोधन गर्दै स्थानीय तहबाट समाधान हुन सक्ने बताएका थिए । मानव अधिकार निगरानी समुह कास्कीका अध्यक्ष पदमराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका खेम सुवेदी, जिल्ला वालकल्याण अधिकृत वद्री वाग्ले, वरिष्ठ अधिकारकर्मि टेकनाथ बराल, शान्तिका लागि नागरिक समाजको संजालका संयोजक सरला कुमारी पाण्डे, अधिबक्ता कमल अर्याल, अधिकारकर्मी बिष्णु बराल जिल्ला बारका अध्यक्ष सोम श्रेष्ठ, उपभोक्ता मञ्च कास्कीका सचिब राजु अधिकारी, इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेल, फोकल पर्सन शवनम शर्मा लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।







Post a Comment

 
Top