0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविश्वविद्यालय २०औं वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार वि.सं. २०५४ साल श्रावण १ गते पोखरा विश्वविद्यालयको स्थापना भएको थियो। वार्षिकोत्सवको अवसरमा पोखरा विश्वविद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी २० औं वार्षिकोत्सव मनायो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरू एपेक्स कलेज काठाडौं; नोबेल कलेज काठमाडौं र लुम्बिनी इञ्जिनियरिङ्, म्यानेजमेन्ट एण्ड साइन्स कलेज बुटबल सम्मान गरेको छ । पोखरा उद्योग वाणिज्य संघलाई पोखरा विश्वविद्यालयको स्थापना, विकास र विस्तारका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको मूल्याङ्कन गर्दै सम्मान गरेको हो । यसैगरी विश्वविद्यालयको ऐन, नियम र नियमावलीहरूले निर्दिष्ट गरेका कार्यनीति एवम् कार्यविधिहरूको परिपालन गर्दै पठन–पाठन कार्यलाई मर्यादित, प्रभावकारी र बैज्ञानिक ढङ्गबाट सञ्चालन गरी विश्वविद्यालयको छवि अभिवृद्धि गर्ने कार्यमा पु¥याएको योगदानको कदर गर्दै कलेजहरुलाई सम्मान गरिएको बताइन्छ । कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले विश्वविद्यालयलाई विशुद्ध साझा शैक्षिक थलोको रूपमा विकास गर्ने प्रतिवद्धता जनाए । उनले पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको शाखा विश्वविद्यालय नभएको स्पष्ट पार्दै पोविविको आफ्नै छुट्टै पहिचान रहको बताए । उनले विश्वविद्यालय स्थापना र विकासमा धेरैको सहयोग, सद्भाव र योगदान रहेको चर्चा गर्दै त्यसको कदरस्वरूप विश्वविद्यालयले पोखरा उद्योग वाणिज्य संघ र केही सम्बन्धनप्राप्त महाविद्यालयहरूलाई सम्मान गरेको बताए । उनले भने–“यो हाम्रो पहिलो प्रयास हो, आउँदा दिनमा विश्वविद्यालयको लागि अहोरात्र खटिने संघ संस्था, व्यक्ति विषेशलाई निरन्तर सम्मान गरिनेछ।”
पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले विश्वविद्यालय दिवसमा पुरस्कार दिने, वृक्षारोपण गर्ने, अन्तरक्रिया गर्ने कार्यहरू हुँदै आएको बताए । उनले यो वर्ष विश्वविद्यालयको लागि उल्लेखनीय योगदान गर्ने संघ संस्थालाई सम्मान गर्ने कार्यको थालनी गरेको भन्दै यस्ता कार्यले विश्वविद्यालयको सम्बर्धन र प्रबर्धन गर्ने कार्यलाई अझ बढी परिष्कृत र उचाईमा लाने विश्वास व्यक्त गरे । कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले संस्था हाक्नलाई  नेतृत्वमा निडरता र इच्छाशक्ति हुनुपर्ने आफूले महसूस गरेको बताए ।
पोखरा विश्वविद्यालय प्राध्यापक संघका सचिव उपप्राध्यापक योगराज लामिछानेले विश्वविद्यालय २० औं वर्षमा प्रवेश गरेकोले यसलाई किशोरावस्था पार गरी परिपक्व भएको प्रतिकको रूपमा लिनुपर्ने विचार व्यक्त गरे । पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष रविन्द्रप्रसाद बरालले विश्वविद्यालयमा मूर्दा शान्ति होइन, विकास दिने शान्ति चाहिएको उल्लेख गर्दै उहाँले विश्वविद्यालय विश्वविद्यालयजस्तो हुनुपर्ने बताए ।
सम्बन्धनप्राप्त महाविद्यालय एपेक्स कलेज काठमाडौंका प्राचार्य एल.पि. भानु शर्माले आजको सम्मानित कार्यक्रमले विश्वविद्यालयको इतिहास बुझ्ने अवसर प्रदान गरेको उल्लेख गर्दै यस कार्यले भावविभल हुँदै आफूमा अत्यन्त गर्भित, प्रफुल्लित र अहोभावको अनुभूति भएको बताए ।
विश्वविद्यालय स्थापनामा आनन्दराज मुल्मीको एउटा महत्वपूर्ण भूमिका रहेको उनलेले स्मरण गरे।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले पोखरा विश्वविद्यालय सँधै बन्द हड्ताल गर्ने विश्वविद्यालयको रूपमा चिनिने गरेको भन्दै यसलाई कृषि–पर्यटन, स्वास्थ्य पर्यटन र पोखरालाई शैक्षिक शहरको रूपमा चिनाउने विश्वविद्यालयको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले विश्वविद्यालयमा बन्द हडताल धेरै हुने गरेका र यो समस्याको समाधान नभई विकास विरोधी कार्य भएकोले यसलाई आपसी छलफल र समझदारीबाट हल गर्नुपर्ने बताए ।
एमाले कास्की जिल्ला सदस्य शंकर पौडेलले विश्वविद्यालय शिक्षा समाजलाई नेतृत्व दिने खालको हुनुपर्ने उल्लेख गर्दै सबै दल, सबै विचारहरूको प्रतिनिधित्व गर्ने साझा संस्थाको रूपमा विश्वविद्यालयलाई विकास गर्न सकेमा शैक्षिक गुणस्तर प्राप्त हुने स्पष्ट पारे। नेपाली कांग्रेस महाधिवशेन प्रतिनिधि, कास्कीका गिरिराज गौतमले विश्वविद्यालयले जतिसक्दो चाँडो मेडिकल कलेज स्थापनाको पहल गर्नुपर्ने औल्याउँदै यसको लागि जग्गा लगायतका विविध पक्षमा स्थानीय तथा राजनीतिक तहबाट सक्दो सहयोग गर्न सबै तयार रहेको बताए ।
माओवादी केन्द्र कास्की जिल्ला परिषद् सदस्य पुष्पराज ढुङ्गानाले पोखरा विश्वविद्यालय भित्र प्रवेश गर्दा राजनीतिको टोपी झिकेर प्रवेश गर्नुपर्ने उल्लेख गर्दै छिरलिएर भन्दा केन्द्रीकृत र समावेशी भएर हरेकले कार्य गर्नुपर्नेमा जोड दिए ।

Post a Comment

 
Top