0
नेपाल प्रहरीले नागरिकको सेवामा काम गर्ने भन्दै ‘प्रहरी मेरो साथी’ भन्ने अभियान संचालनमा ल्याएको छ । यो अभियान कास्कीमा पनि संचालन भएको छ । प्रहरीले हरेक सुख दुखमा जनतालाई सहयोग गर्ने नीति लिएको छ तर व्यवहारमा त्यस्तो नभएको गुनासो आइरहेकै समयमा साथी अभियान आएको हो । यसको प्रभाव र असर कस्तो होला त्यो भने हेर्न बाँकी छ । त्यसोत प्रहरीले मुस्कान सहितको सेवा भन्ने नारालाई पनि अगाडि ल्याएको छ । समय समयमा सेवा सुविधा विषयमा सार्वजनिक सुनुवाइ गर्ने पनि गर्छ । तर यी सबै क्रियाकलापलाई प्रभावकारी रुपमा संचालन गर्न नसकेसम्म नाराको मात्र औचित्य हुनेछैन । आम नागरिकले सानो देखि ठूला घटना, अपराध, शान्ति सुरक्षा समेतका विषय लिएर प्रहरीमा पुग्नै पर्ने बाध्यता छ । हाम्रो राज्य प्रशासनले प्रहरी बिना कुनैपनि घटनाको पुष्ट्याइँ गर्ने अधिकार अरुलाई दिएको छैन । त्यस्तै हरेक व्यक्तिले रोजगारी खोज्दा समेत चाल चलन बुझ्ने जिम्मा प्रहरीलाई दिएको छ । यसरी हेर्दा आम जनताको दैनिकीमा प्रहरीको क्रियाकलाप जोडिएको छ । यो अभियानले पनि प्रहरी आम नागरिकको साथी जस्तै भएको छ । स्थापना कालदेखिनै प्रहरीले जनताको जीउधनको सुरक्षामा सानिध्य भएर काम गरेको छ । तर भर्ना गर्ने समय देखिनै प्रहरीको तल्लो तहको योग्यतालाई सामान्य साक्षर राखिएको छ । यसले जनताको घर दैलोमा काम गर्ने प्रहरीले न्याय अन्याय छुट्टयाउने, अध्ययन गर्ने काममा भने चाहेजस्तो सफलता पाउन सक्दैन । समय समयमा प्रहरीबाटै मानवअधिकार हनन्का घटना पनि सुन्नमा आउने गर्छ । यो स्वभाविक पनि हो । किनकी मानव अधिकारको बारेमा ज्ञान नदिएको व्यक्तिले कसरी सुरक्षा दिन सक्छ ? यो आम नागरिकमा उब्जने प्रश्न पनि हो । हाम्रो समाजमा बालबालिकालाई ठूलो भएर डाक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ भन्ने सिकाइन्छ । तर ठूलो भएर प्रहरी बन्नुपर्छ, देश र जनताको सेवा गर्नुपर्छ भनेर कहिले पनि सिकाइएको छैन । जसको कारण प्रहरी नपढेको, विग्रेको व्यक्ति बन्ने भन्ने सन्देश गइरहेको छ । यो सन्देशलाई चिरेर प्रहरी भनेको राज्यको अभिन्न अंग हो, त्यहाँ प्रवेश गर्नका लागि प्रतिवद्धता चाहिन्छ, जनतामा भिज्न सक्ने र पढेलेखेको व्यक्ति चाहिन्छ भन्ने बुझाउन सक्नुपरेको छ । प्रहरी मेरो साथी अभियानले राज्यको नीतिगत तहमा यो सन्देश दिन सक्नुपर्छ । साथै प्रहरी भनेको चौविसै घण्टा सुरक्षामा खटिने व्यक्ति हो भन्ने पनि बुझ्न जरुरी छ । किनकी यो बुझेमा मात्र राज्यले प्रहरीको सेवा सुविधामा पनि सुधार गर्न सक्छ । सानो सेवा सुविधामा रहेर प्रहरीले ठूलो काम गरिरहेको छ । यो कामलाई सम्मान गर्न पनि हामीले जान्नुपर्छ । जे होस् प्रहरीले ल्याएको साथी अभियानलाई प्रचार–प्रसार गरौं, ग्रामीण तहका जनताले पनि प्रहरीको साथ र सहयोग पाउन, उनीहरुले शान्ति सुरक्षाको अनुभूति गर्न सक्नुपर्छ । यो अभियानले प्रहरीलाई काम गर्ने प्रेरणा देओस्, आम नागरिकलाई प्रहरीमाथि विश्वास गर्ने आधार भेटियोस् । अनि राज्यले पनि प्रहरीबाट उपलब्धी हासिल गर्न सकोस, प्रहरी स्वयंको मनोवल उच्च रहेर नागरिकलाई सेवा गर्न अग्रसर हुने प्रेरणा मिलोस्, हाम्रो शुभकामना !








Post a Comment

 
Top