0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लाका सम्पूर्ण क्याम्पसका नेविसंघका अगुवा कार्यकर्ताको भेला पश्चिमाञ्चल इन्जिनियरिङ्ग अध्यन संस्थान लामाचौरमा सम्पन्न भएको छ ।
भेलाले क्याम्पसमा विभिन्न गुट र उपगुटको नाममा गरिने वा गरिएको विवाद अन्त्य गर्न दबाब दिने उद्देश्यका साथ कमिटी गठन गरिएको छ । भेलाले सबै क्याम्पसका इकाई अध्यक्ष पदेन सदस्य रहने गरी विद्यार्थी नेता विकास थापालाई संयोजक चयन गरी “कास्की जिल्ला नेविसंघ क्याम्पस समन्वय समिति’ गठन गरिएको छ । भेलामा नेविसंघ केन्द्रीय सदस्य सरोज केसीले भागवण्डाको नाममा गैर विद्यार्थीलाई भूमिका दिन खोज्ने खेल हुन नदिने र नेतृत्वदायी भूमिकामा रहेका विद्यार्थीहरूको राजनीतिक अधिकार सुनिश्चित गराउन आफू जिम्मेवार भई लाग्ने बताए । उनले पार्टीका शीर्ष नेताहरूलाई समेत नेविसंघको आन्तरिक विवादमा गुट र उपगुट बनाएर चलखेल नगर्न चेतावनी दिए । अर्का केन्द्रीय सदस्य गोविन्द लामिछानेले विवादित क्याम्पसका विद्यार्थी नेताहरू आफै मिलेर आएमा सुनमा सुगन्ध हुने बताए । भेलाबाट चयन समन्वय समितिका संयोजक विकास थापाले जिल्ला र केन्द्रको विवाद लिएर विभिन्न गुट र उपगुटका नाममा क्याम्पसमा प्रवेश गर्न खोज्नेहरू लाई अब विद्यार्थीहरूले बहिष्कार गर्ने र त्यसको नेतृत्व आफूले गर्ने बताए। भेलामा नेविसंघ कास्कीका सचिव विक्रमादित्य सिंह गिरीले नेविसंघ कास्कीलाई निकास दिन चुनावको आवश्यतामा जोड दिए । उनले पत्रका आधारमा हुने राजनीतिक खेल बन्द हुनुपर्ने भन्दै स्वच्छ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए । भेलामा उपाध्यक्ष अन्जान थापा, क्षेत्र नं. २ का सभापति गोविन्द नेपाली, गोपाल गुरुङ, दिपक शर्मा वाग्ले, विश्वास गुरूड, प्रविन पौड़ेल, ध्रुव अधिकारी, हेमन्त पाण्डे, कमल पौड़ेल, महेश न्यौपाने, प्रिन्स जैसवाल, सन्दिप सुवेदी, सुदीप शर्मा लगायत विद्यार्थी नेताहरूले आफ्नो भनाई राखेका थिए । भेला पोखरा इन्जिनियरिङ अध्ययन संस्थान ने वि संघ अध्यक्ष पवन बाबु बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




Post a Comment

 
Top