0
गोल्डेन न्यूज संवाददाता
आसन्न सत्ता साझेदार कांग्रेस–माओवादी आन्दोलनरत संघीय गठबन्धनसँग साझा ‘रोडम्याप’ बनाएर अघि बढ्ने भएका छन् । मधेसी मोर्चासहितको गठबन्धनले उठाएका २६ बुँदे माग सम्बोधन गरेर स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा जानेसम्मको उनीहरूको रोडम्याप छ । कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार भएको कांग्रेस–माओवादी–मोर्चा बैठकमा ‘मधेसका मागमा साझा धारणाका साथ अघि बढ्ने सम्झौता बन्न सकेमा सरकारमा सहभागी नभए पनि समर्थन दिएर अघि बढ्न आफूहरू तयार रहेको’ गठबन्धनका नेताहरूले बताएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार प्रधानमन्त्रीको निर्वाचनअघि नै त्रिपक्षीय सम्झौता हुनेछ । कांग्रेस र माओवादी गठबन्धनबीच असार अन्तिम साता भएको सात बुँदेका आधारमा त्यस्तो सम्झौता गर्न लागिएको हो । मोर्चाका नेताहरूले प्रधानमन्त्रीको निर्वाचनअघि मधेसको माग सम्बोधन गर्नेगरी सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गर्नुपर्ने प्रस्ताव गरेपछि त्रिपक्षीय कार्यदल बनाउने समझदारी भएको छ । कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र रमेश लेखक सहभागी छन् । माओवादीले शनिबार साँझसम्म नाम दिएको छैन । अध्यक्ष पुष्पकमल दाहालले नै पार्टीबाट कार्यदलमा पठाउने नेताको नाम तय गर्ने जानकारी नेता जनार्दन शर्माले दिए । आन्दोलनरत गठबन्धनले आफ्नोतर्फबाट संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङदेनको नाम कार्यदल सदस्यका रूपमा शनिबारै पठाएको संयोजक उपेन्द्र यादवले बताए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले अविश्वासको प्रस्तावका पक्षमा हस्ताक्षर गरेकोमा आन्दोलनकारी मधेसी दलका नेताहरूलाई धन्यवाद दिएका थिए । सँगै मिलेर जाने नयाँ राजनीतिक कोर्सको सुरुवात भएको भन्दै देउवा र दाहालले सरकारमै आउन आग्रह गरेका थिए । ‘मधेसको प्रमुख माग संविधान कार्यान्वयन सँग जोडिएका छन्, यसमा हामी साझा धारणा बनाएर अघि बढ्न सक्छौं,’ बैठकमा देउवाको भनाइ थियो,–‘संविधान कार्यान्वयनका लागि तपाईंको साथ चाहन्छौं । हुनेवाला प्रधानमन्त्रीका लागि समर्थन र सरकारमा आउन पनि आग्रह गर्छौं । जवाफमा मोर्चाका नेताहरूले सात बुँदे समझदारीमा मधेसको माग सम्बोधनको विषयलाई एक नम्बरमै राखिएकोमा सकारात्मक मान्दै तत्काल सरकारमा नआए पनि प्रधानमन्त्रीको निर्वाचनमा मत हाल्ने र सरकारको स्वामित्व लिन सकिने धारणा राखेका थिए । ‘७ बुँदे समझदारीलाई सकारात्मक रूपमा लिँदै अविश्वासको प्रस्तावमा हामीले हस्ताक्षर दिएकै हो,’ गठबन्धन संयोजक यादवलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो,–‘प्रधानमन्त्री निर्वाचनमा साथ दिन तयारै छौं, तर त्यसअघि परिणाममुखी त्रिपक्षीय सम्झौता हुनुपर्छ ।’ त्रिपक्षीय सम्झौतामा मोर्चाले उठाएका मागलाई दुई चरणमा सम्बोधन गर्नेगरी मस्यौदा बनाउने तयारी छ । मन्त्रिपरिषद् बैठकबाट हुने कामलाई तत्काल गर्ने र संविधान संशोधनसँग जोडिएका सीमांकनलगायत मुद्दामा राजनीतिक सहमति खोजेर अघि बढ्ने तयारीमा दलहरू छन् । ‘साउन १८ गते नै कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच सम्झौता हुन्छ,’ कार्यदलका सदस्यसमेत रहेका कांग्रेस नेता निधिले भने,–‘यही आधारमा हामीले सरकारमा आउन आग्रह गरेका छौं, तर मोर्चाका नेताहरूले सरकारमा सहभागी नभए पनि स्वामित्व लिएर अघि बढ्न सकिने वचन दिनुभएको छ ।’ उनका अनुसार कुन–कुन चरणमा के–के काम गर्ने भन्नेबारे स्पष्ट मार्ग्चित्र बनाइने छ । बैठकमा दाहालले सहमतिको प्रारम्भिक खाका प्रधानमन्त्री चुनावअघि नै आइसक्ने भन्दै खुला दिमागले समझदारीमा बस्न संघीय गठबन्धनका नेताहरूलाई आग्रह गरेका थिए । ‘अहिले कार्यदलमार्फत वार्ताका लागि प्रारम्भिक खालको प्रतिबद्धता दिने कुरा भयो,’ बैठकपछि नेता शर्माले भने, ‘पहिले विश्वासको वातावरण बनाउँछौं, त्यसपछि बिस्तारमा छलफल हुनेछ । दाहालपछि आफ्ना कुरा राख्दै गठबन्धन संयोजक यादवले आन्दोलनरत पक्षको असन्तुष्टि सम्बोधन गर्ने अवसर ठूला दललाई फेरि एकपल्ट आएको भन्दै राज्यले यो अवसरलाई सदुपयोग गर्छ कि गर्दैन, त्यसमै वार्ताको परिणाम निर्भर हुने बताए । ‘उहाँहरूको बोली सकारात्मक सुनिएको छ, तर वार्तामा भएका कुराकानी व्यवहारमा नउतारी यो सकारात्मक र परिणाममुखी हुनै सक्दैन,’ बैठकपछि यादवले भने,–‘मीठो कुरा त यसअघि पनि सुनियो । हामी मीठो कुरा होइन, प्रतिबद्धताहरू व्यवहारमा उतारिएको हेर्न चाहन्छौं । कार्यदल गठनको निर्णय हेर्दा संवाद प्रक्रियाको सुरुवात सकारात्मक छ । बैठकमा आन्दोलनरत पक्षका तर्फबाट संयोजक यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, रामसपा अध्यक्ष शरदसिंह भण्डारीलगायतले धारणा राखेका थिए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए ।







Post a Comment

 
Top