0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लाका सबै स्रोत केन्द्रको सुधार गर्न र कास्कीको शैक्षिक सुधार गर्ने निर्णय भएको छ । कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको अध्यक्षतामा सबै सहायक जिल्ला शिक्षा अधिकारीहरु, विद्यालय निरीक्षकहरु, सबै स्रोत केन्द्रका स्रोत व्यक्तिहरु, सबै स्रोत केन्द्र विद्यालयका प्रधानाध्यापकहरु समेत सहभागी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आफ्नै भवन नभएका स्रोत केन्द्रहरुलाई स्रोत केन्द्र विद्यालयहरुले भवन तथा कोठा, हल र फर्निचर उपलव्ध गराउने, स्रोत केन्द्र भवन भएमा भवनलाई मर्मत सम्भार रङ्गरोगन समेत गर्ने निर्णय गरेको छ । यसैगरी स्रोत केन्द्रलाई व्यवस्थित गर्न स्रोत केन्द्र विद्यालय, प्रधानाध्यापक र स्रोत केन्द्रले सयुक्त प्रयास गर्ने र स्रोतकेन्द्रलाई ब्यवस्थित स्रोतमूलक, सूचनामूलक बनाउने भएको छ । स्रोत केन्द्रलाई सूचना प्रविधिले युक्त गराउन स्रोतकेन्द्र विद्यालयहरुले विद्यालयहरुसँग भएका कम्प्यूटर, ल्यापटप, मल्टिमिडिया प्रोजेक्टर, नेट इन्टरनेट समेत स्रोतकेन्द्रलाई उपलब्ध गराउनुका साथै स्रोत केन्द्रले आफै पनि सूचना प्रविधिलाई प्रयोगमा ल्याउने र विद्यालय, कक्षाकोठा तथा शिक्षण सिकाइमा सूचना प्रविधि प्रयोगमा ल्याउन उत्प्रेरित गर्ने बैठकले निर्णय गरेको बताइन्छ । बैठकको निर्णय अनुसार स्रोतकेन्द्रमा अति आवश्यक अभिलेखहरु, तथ्याङ्कहरु राख्ने, स्रोतकेन्द्र प्रोफाइल निर्माण गर्ने र भएका अभिलेखको परिमार्जन गरिने भएको छ । यसैगरी स्रोत केन्द्रमा आवश्यक सूचनामूलक सामग्री, बार ग्राफ, चार्ट, तालिकाद्वारा प्रदर्शन गर्ने र प्रस्तुति गर्ने, समूह विद्यालयहरुको अनुगमन र निरीक्षणलाई प्रभावकारी पार्न स्रोत केन्द्र प्रधानाध्यापक, बिषयगत शिक्षकहरु समेतको समूह सुपरिबेक्षण समेत गर्ने, स्रोत व्यक्ति र विद्यालय निरीक्षकबाट विद्यालयको अनुगमनको क्रमलाई बढाउने बैठकले निर्णय गरेको कास्कीका जिशिअ रमाकान्त शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार  समूह विद्यालयको शैक्षिक अवस्था सुधार गर्न र विद्यार्थीको शैक्षिक उपलव्धि बृद्धि गर्न जिल्ला शिक्षा कार्यालय, विद्यालय निरीक्षक, स्रोत व्यक्ति र सवै स्रोत केन्द्र विद्यालयहरु सक्रियता साथ लाग्ने निर्णय भएको छ ।
यसैगरी राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई सफल पार्न सवै सक्रियता पूर्वक लाग्ने, स्रोतकेन्द्र विकासका लागि निर्णय भएका सबै विषयलाई कार्यान्वयन गर्न स्रोत केन्द्र प्रधानाध्यापकहरुको बैठक राखी छलफल गरि स्रोत केन्द्र विद्यालयको प्राधानाध्यापकले अगुवाइ गर्ने निर्णय भएको जिशिअ शर्माले बताए । यसैगरी पठन उत्प्रेरक छनौटका लागि विद्यालय निरीक्षक, स्रोतव्यक्ति, स्रोत केन्द्र प्रधानाध्यापक र पठन उप्रेरकका लागि दरखास्त दिने सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरुको बैठक बसी छलफल गरि छनौट प्रक्रिया अगाडि बढाउने समेत निर्णय भएको बताइन्छ । निर्णयहरु कार्यान्वयनको अवस्थाको समिक्षा गर्न र थप विकासका लागि कम्तिमा चौमासिक रुपमा स्रोत केन्द्र प्रधानाध्यापक, स्रोत व्यक्ति, विद्यालय निरीक्षक र जिल्ला शिक्षा कार्यालयको संयुक्त बैठक बस्ने समेत निर्णय भएको जिशिअ शर्माले गोल्डेन न्यूज दैनिकलाई बताए ।





Post a Comment

 
Top