0
गोल्डेन न्यूज संवाददाता
करिब दुई महिनाअघि केपी ओली नेतृत्वको सरकार धरापमा पर्दा एकैरातमा परिस्थिति उल्ट्याएर सरकार जोगाउने पात्र यसपटक किन सक्रिय भएनन् ? एमाले केन्द्रीय कार्यालय र संसदीय दलको कार्यालयमा दुई दिनयता आम कार्यकर्तादेखि सांसदसम्मले यही प्रश्न गरिरहेका छन् । तर, यसको जवाफ आएको त छैन नै, सरकार जोगाउन खटिएका मुख्य पात्र एमाले उपाध्यक्ष वामदेव गौतमसमेत ओलीले राजिनामा दिनुपर्छ भनेर हिँडेका छन् । अर्का प्रमुख पात्र अर्थमन्त्री तथा उपमहासचिव बिष्णु पौडेल लगभग गुपचुप छन् । सोमवार साँझ माओवादी केन्द्रसहित सत्तारुढ गठनबन्धनको बैठकमा प्रचण्ड र ओलीबीच सामान्य भनाभन हुँदासम्म पनि सरकार यति चाँडो ढल्छ भन्ने भेउ कसैले पाएका थिएनन् । जतिबेला माओवादी केन्द्रले तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न ओलीमाथि दबाव दिइरहेको थियो, त्यति नै बेला ओली भने कांग्रेस सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग समानान्तर रुपमा सघन छलफलमा थिए । ओलीले महन्थ ठाकुरदेखि अनिल झासम्मका मधेसकेन्द्रित आन्दोलनकारी दलका नेतासँग पनि निरन्तर छलफल गरिरहेका थिए । अनिल झालगायत केही साना मधेसवादी दलहरु सरकारमा सहभागी हुनेसम्मको सुइँको प्रधानमन्त्रीका सहयोगीहरुले पाइसकेका थिए । तर, सोमवार सोमबार साँझको सत्तारुढ गठबन्धनको बैठक टुंग्याउने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सुनाएको रुखो बोलीबाट ओली–प्रचण्ड सम्बन्ध टुट्न लागेको लख धेरैले काटे । बालुवाटार बैठक सकिने बेलामा शौचालय जाने भनेर माथिल्लो तलामा गएका ओली करीव पाँचरसात मिनेटपछि फर्किँदा अर्कै भएर आएको अनुभव छलफलमा सहभागी साना दलका एक नेता बताउँछन् । कमल थापा र विजय गच्छदारले तपाईहरु दुईजना सल्लाह गर्नुस, हामी तपाईहरुको निर्णय मान्छौं भनेर जिम्मा दिन लाग्दा ओली ‘सबैकुरा यहीँ खुलस्त गरौं’ भन्दै प्रचण्डलाई कांग्रेससँग सहमति गरेर यहाँ निहु खोज्न आएको ? भन्ने शैलीमा ओलीले कटाक्ष गरे । प्रचण्ड पनि रिसाएर जवाफी तयारीमा लागेपछि मंगलबार बिहान बस्ने गरी आइतबार बालुवाटारबाट नेताहरु उठेका थिए । मंगलवार बिहान सम्भव नभएकाले बेलुका दुई नेता बालुवाटारमा करीव २ घण्टा गोप्य छलफलमा बसे । र, त्यही दुईघण्टाले भूकम्पपछि बनेको दुई नेताको सम्बन्धलाई ९ रेक्टरको धक्का दिएको टिप्पणी बालुवाटारका एक प्रभावशाली सल्लाहकारको विश्लेषण छ । ती सल्लाहकारको भनाइ छ,– ‘उहाँहरुबीच के–के कुरा भयो भन्ने दुईजनाले बताउने कुरा हो, तर त्यस दिन प्रचण्ड रातोपिरो भएर फर्केका हुन्, प्रधानमन्त्रीले सम्झौता चाहानुभएन, बरु हकारेर पठाउनुभयो ।’ स्रोतका अनुसार त्यस दिन ओलीले प्रचण्डका कुनै पनि आग्रह र शर्त अस्वीकार गर्दै उनलाई एक प्रकारले अपमानित गरेर पठाएका थिए । कांग्रेससँग सातबुँदे सहमति गरेर आफूसँग बार्गेनिङ गर्न आएको ओलीको आरोप थियो । उनले यो कुराको संकेत टोपबहादुर रायमाझीसँग पनि गरेका थिए । यद्यपि यी सबै घटनाक्रम हुँदा ओली सरकारलाई जोगाउन र गठबन्धन टिकाउन एमालेका कुनै पनि नेता सक्रिय भएनन् । ओलीले पार्टीका औपचारिक बैठकबाहेक झलनाथ खनाल, माधव नेपाल लगायत त्यो समहका नेताहरुसँग सल्लाह लिएनन् । वामदेव गौतम पनि तीनबुँदे भद्र सहमति विपरीत प्रधानमन्त्रीसहितका नेताहरुले माओवादीलाई दपेट्ने र लखेट्ने ढंगले अभिव्यक्ति दिने गरेकोमा असन्तुष्ट थिए । त्यसैले गौतम यसपटक सरकार जोगाउन लागेनन् । र, ओलीले पनि उनको सहयोग मागेनन् । ‘पछिल्लो समयमा प्रधानमन्त्री सबैसँग एक्लै डिल गरिरहनुभएको थियो, पार्टीका नेता र सल्लाहकारहरु या त बेखबर थिए, या त मतलब गरेका थिएनन्’ ओलीका एक सहयोगीले भने । यो कुराले ओली कि त माओवादीले यति चाँडो सरकारबाट बाहिरिने निर्णय गर्न सक्दैन भन्नेमा विश्वस्त थिए । या उनी प्रचण्डलाई चिढ्याएर सरकारबाट बाहिर धकेल्न चाहन्थे । यसबारे ओलीलाई सघाउँदै आएका उपाध्यक्ष गौतमको भनाइ भने फरक छ । गौतमले भन्छन्( यो गठबन्धन टिकाउनुपर्छ भनेर मैले जति मेहनत गरेँ, त्यसअनुसारको गाम्भीर्य प्रधानमन्त्री र हाम्रै पार्टीका केही छुद्र नेताहरुमा देखिएन । अन्ततः यो हुनु नै थियो । माधव, झलनाथ, वामदेव लगायतका नेताहरु कांग्रेस र माओवादी गठबन्धन बन्न दिनुहुँदैन भन्नेमा थिए । ओली पनि कांग्रेसका दुवै पक्षका नेताहरुसँग संवादमै थिए । तर, यसबीचमा कांग्रेससँग मिलेर जान प्रचण्डलाई उनी निकटका नेताहरुले दबावमा पारिसकेका थिए । माओवादीले सरकार छाडेपछि ओली सरकार अल्पमतमा परिसकेको थियो । अल्पमतमा परेपछि राजीनामा नदिएर किन अविश्वास प्रस्तावको सामना गर्ने निष्कर्षमा पुगे त ओली ? माओवादी सरकारबाट बाहिरिएसकेपछि ओलीले राजीनामा दिनुपर्छ भन्नेमा वामदेव बाहेक अरु नेताहरु बोलेनन् । यद्यपि प्रधानमन्त्रीले अल्पमतमा परिसकेपछि संसदबाट जनतालाई सम्बोधन गरेर देशी विदेशी षडयन्त्रको खुलासा गर्दै राजीनामा दिनु राम्रो हुन्थ्यो भन्नेमा अरु पनि धेरै नेता थिए । तर, प्रधानमन्त्रीले नै संसदको सामना गर्ने भनेपछि अरु नेताहरु बोल्न चाहेनन् । प्रधानमन्त्रीका प्रमुख कानुनी सल्लाहकार समेत मानिने महान्यायाधिवक्ताले समेत अल्पमतमा परेको अवस्थामा राजिनामा दिनु उपयुक्त हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिएको स्रोतले जनाएको छ । राजीनामा नदिने कुरा मुख्यतः प्रधानमन्त्री ओलीकै विवेक थियो । त्यसमा महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचिव शंकर पोखरेल र कानुनमन्त्री अग्नि खरेललगायतले साथ दिए । उपनेता नेम्वाङ भने राजीनामा दिनुभन्दा अविश्वास प्रस्तावको सामना गर्नु प्रधानमन्त्रीको उपयुक्त निर्णय हो भन्नेमा प्रष्ट छन् । ‘राजीनामा दिएर हिँड्दा भागेको सन्देश जान सक्थ्यो, संसदको सामना गरेर आफ्ना कुरा जनतालाई राखेर जानु नै उपयुक्त विधि हो’ नेम्वाङ भन्छन् । प्रधानमन्त्री ओलीले सरकार टिकाउनेतर्फ रणनीतिक चाल नचाल्नु संयोगमात्र होइन भने उनी प्रचण्डसँगको सहकार्यबाट आजित भइसकेका थिए भन्ने बुझ्न सकिन्छ । यद्यपि यति चाँडै माओवादी बाहिरिन्छ भन्ने उनले सायदै सोचेका थिए । तर, दक्षिण छिमेकीले कांग्रेस, माओवादी र मधेसी मोर्चाको गठबन्धन बनाउन कसरत गरिरहेको छ भन्ने ओलीको बुझाइ थियो । गठबन्धन नटुटाउन प्रचण्ड जति सक्रिय थिए, ओली पक्षबाट त्यो सक्रियता नदेखिएको राप्रपा नेपालका नेताहरुले पनि बताइसकेका छन् । प्रचण्ड बरु अझै केही दिन वा केही साता ओलीलाई नै प्रधानमन्त्री कायम राखेर यही गठबन्धनभित्रबाट प्रधानमन्त्री बन्न चाहान्थे । तर, ओली पक्षबाट भने उनलाई चाँडो गइदिए हुन्थ्यो भन्नेखालको व्यवहार भएको एमालेकै केही नेताहरुले पनि स्वीकार गरेका छन् । अरु कुनै राजनीतिक कारण नभए पनि ‘इगो’कै कारण ओली प्रधानमन्त्री रहेसम्म मधेसी मोर्चाको आन्दोलनको निकास निस्कन नसक्ने प्रष्टै थियो । जसरी यो संविधान छिमेकीको रुची विपरीत आएको थियो, त्यसैगरी ओली पनि बाह्य शक्तिको रुची विपरीत प्रधानमन्त्री भएका थिए । यसमा प्रचण्डले बलियो साथ दिएका थिए । यसबीचमा दुई देशको सम्बन्धमा सुधार आए पनि ओलीकै नेतृत्वमा मधेसको समस्या समाधान होस् भन्नेमा न छिमेकी थियो, न नेपाली कांग्रेस नै । मधेसी मोर्चाले पनि आन्दोलनको सुरक्षित अवतरणका लागि ओलीको बहिर्गमन अनिवार्य शर्त बनाएको थियो । अन्ततः यसका सूत्रधारहरु कांग्रेस र माओवादीलाई एक ठाउँमा ल्याउन सफल भए, जसको सुइँको पाएर पनि ओलीले उनकै भाषामा ‘झुक्न’ चाहेनन् । यसबीचमा गठबन्धन कायमै राख्ने र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण गराउने प्रक्रियामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ खटिएका थिए । तर, सोमवार साँझको गठबन्धन बैठक र त्यसको भोलिपल्ट दुई नेताको दुई घण्टाको भेटपछि परिस्थिति पुरै उल्टिएको पत्रकार मातृका पौडेलले अनलाइन खबरमा लेखेका छन् । अन्ततः गठबन्धनको सूत्राधार माओवादी नै गठबन्धनबाट बाहिरिएर कांग्रेससँग सहाकार्य गर्ने अवस्थामा पुग्यो । उसलाई त्यता जान नदिन ओली र उनको टिमले अतिरिक्त मेहनत गर्न चाहेन वा सकेन । यसमा वामदेव र विष्णु पौडेलहरु किन रमिते बनेर बसे ? माधव नेपालको सहयोग ओलीले किन मागेनन् ? के उनलाई माओवादी सरकार छाडेर हिँड्छ भन्ने जानकारी थिएन ? यसको जवाफ एमाले नेतृत्वमै रहेकाहरुले खोजिरहेका छन् ओलीबाट । तर, ओली भने संसदबाट विपक्षी गठबन्धन र छिमेकीलाई समेत कटाक्ष गर्दै आफ्नो बचाउमा यथेष्ट कुरा जनतालाई सुनाएर अविश्वास प्रस्तावको सामना गर्ने तयारीमा छन् ।

Post a Comment

 
Top