0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना ग¥यो । लेखनाथका नगरवासीको गुनासो पोखरावासीको भन्दा कम थिएन । बुधबार पोखरावासीले नगरपालिका समक्ष गुनासोको चाङ लगाएजस्तै बिहीबार लेनपाले आयोजना गरेको  सार्वजनिक सुनुवाई कार्यक्रममा पनि लेखनाथवासीले गुनासोको चाङ लगाए । उनीहरुको आक्रोश पनि नपाका कर्मचारीहरुप्रति नै थियो । लेखनाथवासीले कर्मचारीहरुले सेवाग्राहीबाट अनुचित लाभ लिने गरेको, नातावाद र कृपावाद मौलाउन थालेको, राजनीतिक आस्थाका आधारमा काम गर्ने गरेको, सेवाग्राहीको समस्यालाई ध्यान दिन नखोजेको, सेवा ग्राहीलाई हप्काउने गरेको लगायतका गुनासो गरेका थिए । साथै प्राविधिक कर्मचारीहरुले समयमा सेवा दिन नसकेको, प्राविधिक कर्मचारीहरुलाई रकम नदिए काम नगर्ने गरेको गुनासो पनि उनीहरुको थियो । कार्यक्रममा सहभागी लेखनाथवासीले लेखनाथ नगरपालिकामा निर्धारण गरिएको सडक तथा भवन मापदण्ड कार्यान्वयन नभएको, विकास निर्माणमा गुणस्तर कायम हुन नसकेको, प्रभावकारी अनुगमन हुन नसकेको, ताल संरक्षणमा नगरपालिकाले ध्यान दिन नसकेको, पूर्वाधार निर्माण मैत्रीपूर्ण हुन नसकेको, लक्षित वर्ग कार्यक्रमले लक्षित वर्गलाई समेट्न नसकेको लगायतका गुनासो गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।  नगरवासीको गुनासोप्रति जवाफ दिँदै कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले सुधारका कार्य तत्कालै कार्यालयबाटै गर्ने प्रतिवद्धता जनाए। मापदण्डको विषयमा उठेको जिज्ञासामा उनले नगरपालिकाको कार्यालयको पश्चिमपट्टि रहेको टुँडोको पर्खाल हटाएर मापदण्ड कार्यान्वयको शुरुवात गर्ने उनले बताए ।  त्यसैगरी कर्मचारीको व्यवहार र अनुचित लाभ लिएको विषयमा कार्यकारी अधिकृतले कर्मचारीको लागि खाजा खान निर्धारण गरिएको समयमा समेत निगरानी राख्ने र तत्काल वडा सचिव सहित सबै कर्मचारीलाई एकै ठाँउमा राखेर सबै खालका अनुशासनमा ध्यान दिन निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका छन् । तरङ्ग प्रालिको सहजीकरण तथा व्यवस्थापनमा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि डम्बर थापा, नेकपा एमालेका नगर इन्चार्ज शंकरनाथ पौडेल, नेकपा माओवादी केन्द्रका पुष्पकमल ढुंगाना, राप्रपा नेपालका अध्यक्ष हरिबहादुर जिसी, राप्रपाका नगर अध्यक्ष हेमबहादुर हमाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि विक्रम थापा, संघीय समाजवादी फोरमका नगर अध्यक्ष मेकबहादुर गुरुङ्ग तथा अखण्ड नेपाल पार्टीका नगर अध्यक्ष मोति गिरी लगायतले योजनावद्ध रुपमा नगरपालिकालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।  यसैबीच नगरवासीहरुको प्रश्न तथ गुनासोको सुनवाई पछि लेखनाथ नगरपालिकाले पाँच बुँदे लिखित प्रतिवद्धता जारी गरेको छ । चिया खाजा खाने निर्धातित समय पालना गर्ने, अनुचित लाभ लिएको गुनासो आएकोले तत्काल सबै कर्मचारीलाई अनुशासनमा रहन निर्देशन जारी गर्ने गरी सेवा प्रवाहमा सुधार गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी लेखनाथ नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको कार्य तत्काल शुरु गर्ने र पहिलो चरणमा पार्क तथा उद्यानको लागत अद्यावधिक गर्ने कुरा पनि उल्लेख गरिएको छ । लेखनाथ नगरपालिका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी सहित विज्ञ कर्मचारीले हस्ताक्षर गरेको प्रतिवद्धता पत्रमा नगरपालिकाको कार्यालयबाटै सडक तथा भवन मापदण्डको कार्य शुरु गर्ने र नगरपालिकाको कार्यालयको दक्षिण तर्फको याम सुधार गरी अपाङ्ग मैत्री बनाएर मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माणको कार्य पनि तत्काल शुरु गर्ने कुरा लेखिएको छ । त्यसैगरी लक्षित वर्ग कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि खुल्ला प्रतिश्पर्धाको आधारमा संघसंस्थाहरुसँग लक्षित वर्ग कार्यक्रम सञ्चालनको सम्झौता गरी कार्य अघि बढाउने कुरा पनि उल्लेख गरिएको छ । यसैबीच लेखनाथ नगरपालिकाले सार्वजनिक स्थलमा व्यक्त गरेको प्रतिवद्धता, नगरपरिषद् तथा बैठकले गरेका निर्णय, निर्धारण गरेका नीति तथा कार्यक्रम एवं नेपाल सरकारले जारी गरेको ऐन, नीति, नियम तथा निर्देशिकाको कार्यान्वयन भए नभएको बारेमा निगरानी गर्नको लागि लेखनाथ नगरपालिकाले निगरानी समूह गठने गरेको छ । विहीबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नगरवासीहरु को रोहबरमा सहभागीहरुमध्येबाटै निगरानी समूह गठन गरिएको हो । मिलन तिवारी संयोजक रहेको निगरानी समूहमा माधव भण्डारी, लक्ष्मी ढकाल, हरिश्चन्द्र अधिकारी र हरि बराल सदस्य रहेका छन् ।











Post a Comment

 
Top