0
गोल्डेन न्यूज संवाददाता
 अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच बिहीबार भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ। केसीले राखेको दोस्रो नम्बर मागको विषयमा भने कुराकानी नभएको बताइएको छ।  वार्तापछि कुराकानी गर्दै केसीका प्रतिनिधि डा. जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए। यद्यपि, केसी आफैंले त्यसमा के प्रतिक्रिया जनाउँछन् त्यसपछि थप कुराकानी अगाडि बढ्ने जानकारी उनले दिए।
‘१, ३ र ४ नम्बर बुँदामा उल्लेखित मागबारे वार्ता सकारात्मक तरिकाले अगाडि बढेको छ,’ क्षेत्रीले भने। चिकित्सा शिक्षा ऐनमा सुधार गर्ने, माथेमा प्रतिवेदन सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता लिनुपर्ने र  विगतमा भएका लिखित सम्झौता पूरा गर्नुपर्ने माग राखी केसी १२ दिनदेखि अनसन बसेका छन्। आफ्नो, आफ्ना परिवारको निहित स्वार्थका लागि भ्रष्ट व्यक्तिहरूसँग साँठगाँठ गरेर चिकित्सा क्षेत्रमा हस्तक्षेप बढाएको भन्दै केसीले आफ्नो खदोस्रो नम्बर बुँदामा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग राखेका थिए। उक्त मागबारे वार्तामा छलफलै अगाडि बढ्न सकेको थिएन। पुनः वार्ता राति वा शुक्रबार हुनसक्ने क्षेत्रीले बताएका छन्। केसीका तर्फबाट डा. रञ्जन सापकोटा, डा. अञ्जनी झा, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, डा. स्नेहबन्धु रेग्मी र सुमन उप्रेती थिए भने सरकारको तर्फबाट डा. शैनेन्द्र उप्रेती, केदारबहादुर अधिकारी र लवदेव अवस्थी वार्तामा थिए। यसैबीच  त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले राखेका मागबारे ससंदमा छलफल होस् भनेर बिहीबार संसदमा प्रस्ताव दर्ता भएको छ। जरुरी सार्वजनिक महत्वको प्रस्ताव अन्तर्गत नेपाली कांग्रेसका सांसद गगन थापाले उक्त प्रस्ताव दर्ता गरेका हुन्। उक्त प्रस्तावलाई सांसद श्याम श्रेष्ठ र धनराज गुरुङले समर्थन गरका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे सार्वजनिक रुपमा यति धेरै प्रश्नहरु उठेपछि के देशको संसद मौन बस्न मिल्छ? भन्ने प्रश्न थापाले उक्त प्रस्तावमा उठाएका छन्। सुशासनका निम्ति विगत १२ दिनदेखि अनसन बसेका डा. केसीको जीवन रक्षाका निम्ति संसदले पहल लिनुपर्ने पनि थापाले उक्त प्रस्तावमा उठाएका छन्। उक्त छलफललाई अबिलम्ब संसदमा प्रवेश दिनुपर्ने पनि थापाको माग छ।






Post a Comment

 
Top