0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका संस्थापक एवं जननायक विपि कोइरालाको ३४आंै स्मृति दिवसमा कास्कीमा बिहीबार विविध कार्यक्रम गरिएको छ। नेपाली काङ्ग्रेस कास्की, क्षेत्रीय समिति र वडा इकाई समितिहरुले विपि शालिकमा माल्यार्पण, वृक्षरोपण र विचार गोष्ठी जस्ता कार्यक्रम गरेका छन् ।  नेपाली कांग्रेस पोखरा–४ कार्यसमितिले चिप्लेढुङगास्थित विपिको शालिकमा माल्यार्पण र सरसफाइ कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा वडा नं. ९ कार्यसमितिको समेत सहयोग रहेको थियो । वडा नं. ४ कार्यसमितिका सभापति गोविन्द प्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रमको संचालन वडा सचिव गायत्री पराजुलीले गरेकी थिइन । कार्यक्रममा पार्टीका जिल्ला उपसभापति हरि आचार्य, जिल्ला सचिव सचिव रामराज लामिछाने, क्षेत्रीय सभापति विजयराज आचार्य, नगर सभापति वजिरमान श्रेष्ठ लगायत विभिन्न तहका नेता कार्यकर्ता सहभागी थिए । यसैगरी नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले कांग्रेस नेतृ  स्व. शैलजा आचार्यको आश्रम परिसर लपोखरा–१९, लामाचौरमा ४०० विरुवा रोपेको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार एवं महाधिवेशन प्रतिनिधि बाबुराम आचार्यले विपि कोइरालाले प्रस्तुत गरेको प्रजातान्त्रिक समाजवादको विचारबाटै नेपाल वर्तमान अवस्थासम्म आइपुगेको बताए । नेपाली काँग्रेसले विपि विचारलाई आत्मसात गर्दै उनको योगदानलाई चीरकाल पर्यन्त जीवन्त राख्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस कास्की क्षेत्र नं.२ का सभापति मधु बाँस्तोलाले नेपालको समुन्नति र विकासका लागि विपिका विचार तथा आदर्शलाई आत्मसात गर्नुपर्ने बताए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले विपिको सिद्धान्त वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै कम्युनिष्ट विचारकले पनि विपि विचारलाई उच्च सम्मान गर्र्दै आएको स्पष्ट पारे ।  जिल्ला सदस्य मदनबहादुर केसीले विपिले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको बताए । नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ का सचिव कृष्ण कोइरालाले संचालन एवं उपसभापति मायादेवी तझ्याले स्वागत गरेको कार्यक्रममा क्षेत्रीय सचिव वर्षाकेशव पराजुली, कोषाध्यक्ष महेन्द्र अधिकारी लगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा माइती नेपालका केन्द्रीय अध्यक्ष अनुराधा कोइरालाको उपस्थिति थियो । यसैगरी विपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस लेखनाथ नगरपालिका वडा नं ५ एकाइ समितिले सिलिङ्गेस्थित विपि स्मृति उद्यानमा विभिन्न जातका ३४ विरुवा रोपेको छ । कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले नेपालमा विपिले अघि सारेको प्रजातान्त्रिक समाजवादको विचार अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताए । काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले नेपाललाई समुन्नतिको मार्गमा लैजाने हो भने प्रत्येक राजनीतिक दलले विपिको विचार र आदर्शलाई आत्मसात् गर्नुपर्ने औँल्याए । काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछानेले नेपाल र नेपाली जनताको स्वतन्त्रता र समुन्नतिका लागि विपिले गरेको योगदानको जगमा नेपाल वर्तमान अवस्थासम्म आइपुगेको बताए । यसैबीच कांग्रेसका संस्थापक विपि कोइरालाको स्मृति दिवस मनाउने क्रममा पार्टीका जिल्ला र क्षेत्रीय समिति तथा अन्य इकाइले औपचारिकतामात्र पूरा गरेको भन्दै कतिपय जिम्मेवार कार्यकर्ताले असन्तुष्टि प्रकट गरेका छन् । पोखराको मुख्य बजार चिप्लेढुङ्गास्थित विपिको शालिकमा सरसफाइ र माल्यार्पण गर्ने कार्यक्रममा सम्बन्धित क्षेत्र अर्थात कांग्रेस क्षेत्र नं. ३ को तर्फबाट गम्भीरता नदेखाइएको स्थानीय कांग्रेस कार्यकर्ताहरुले बताए । क्षेत्रीय सचिव दीपेन्द्र मर्सानीले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै वडा नं. ४ र ९ को तर्फबाट संयोजन गरिने र क्षेत्रीय समितिले आवश्यक तयारी गरि कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरिएको भएपनि आपसमा समन्वय हुन नसक्दा गुनासो आएको स्वीकार गरे ।








Post a Comment

 
Top