0
राजाराम पौडेल÷गोल्डेन न्यूज
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल समिति गण्डकीको अधिवेशन मार्फत नेतृत्व लिने दौडमा वर्तमान वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ र वर्तमान महासचिव घनश्याम रिजाल छन् । अधिवेशनको मिति नजिकिंदै गर्दा नेतृत्वका लागि कसरत समेत बढ्दै गएको छ । यसअघि नेतृत्वको दावी गरेकी वर्तमान प्रथम उपाध्यक्ष सीता केसीले नेतृत्वको दावेदारी छोडेर वरिष्ठ उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेपछि गुरुङ र रिजाल बीच प्रतिष्पर्धा हुने निश्चित भएको हो । हाल प्रतिष्ठान गण्डकीको वरिष्ठ उपाध्यक्ष रहेका शंकर विरही गुरुङले केहीदेखि कार्य योजनासहित नेतृत्व लिन तयारीमा लागेका छन् । यसअघि प्रतिष्ठान स्याङ्जा जिल्ला समितिको साधारण सदस्यबाट यात्रा सुरु गर्दै प्रतिष्ठान गण्डकीको उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक समालेका उनी सबै कलाकारको सर्मथनमा नेतृत्वमा पुग्ने दावी गर्छन् । उनले कलाकार कल्याणकारी कोष अभिवृद्धि गरि ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पु¥याउने, गण्डकी अञ्चल भित्रका सबै लोक दोहोरी गायक, गायिका, संकलक, बाद्यबादकहरु को हक हितका लागि काम गर्ने तथा अन्य स्थानबाट पोखरा आएर बसेका सबै कलाकारलाई एकीकृत गर्दै लैजाने योजना बनाएका छन् । यसैगरी सामुदायिक र निजी विद्यालयहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति सम्बन्धी प्रशिक्षण कार्यक्रम, प्रतियोगिता संचालन गर्दै विद्यार्थीहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति सम्बन्धी जानकारी अभियान संचालन गर्ने र लोक दोहोरी गायक, गायिका, संकलक, वाद्यवादक हरुलाई विभिन्न बिद्यालयहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति शिक्षक स्थापित गर्न पहल गर्दै सामाजिक कार्यहरुलाई निरन्तरता दिने योजनामा उनी छन् ।नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कार र सागर सुबेदी स्मृति पत्रकारिता पुरस्कारलाई ब्यबस्थित गर्नको लागि छुट्टा–छुट्टै कोषको स्थापना गर्ने,  लोक दोहोरी कलाकार बचत तथा ऋण सहकारी स्थापना गर्ने, लोकगीत, लोकदोहोरी, लोक संस्कृतिको विकास र सम्बर्धनको लागि सम्बधित सबै पक्षहरुसंग सरसल्लाह गर्दै त्यस सम्बन्धी विभिन्न अन्तत्र्रिmया तथा प्रशिक्षण कार्यक्रम गर्दै अघि बढ्ने र प्रतिष्ठान केन्द्रसंग सहकार्य गर्दै लोकदोहोरी क्षेत्रका बिकृति र विसंगतिहरुलाई हटाउन पहल गर्ने महत्वकांक्षी योजनाका साथ नेतृत्व लिने दाउमा उनी होमिएका छन् । मनकामना–४, आरुखर्क स्याङ्जामा जन्मिएका गुरुङको औपचारिक यात्रा वि.स.२०६० सालमा ‘लाग्न थाल्यो आश’ एल्बम बजारमा ल्याएर भएको थियो । यसैगरी प्रतिष्ठान गण्डकीको वर्तमान महासचिव समेत रहेका घनश्याम रिजाल पनि गण्डकीको नेतृत्व लिंदै यात्रा अघि बढाउन कसरत गर्दैछन् । उनले यसका लागि आफ्नो कार्ययोजना भर्खरै सार्वजनिक गरेका छन् । प्रतिष्ठान स्याङ्जा जिल्ला समितिको सदस्यता लिइ यात्रा सुरु गरेका रिजाल अञ्चल समिति गण्डकीको संस्थापक सदस्य हँुदै सह–सचिव, सचिव पदमा रहि कुशल कार्य गर्दै आफ्नो प्रतिभा देखाइसकेका व्यक्ति हुन् । स्याङ्जा, एलादी–७, केराबारीमा जन्मिएका उनको भने २०६२ सालमा ‘मन मुटुमा तस्वीर कोरेर’ बोलको गीत रेर्कड गरी औपचारिक रुपमा नेपाली साँगीतिक फाँटमा आगमन भएको थियो । रिजालले प्रतिष्ठानले गर्दै आएको बार्षिक कार्यलाई निरन्तरता दिने, संस्थाभित्र नैतिक आचरणको सुधार गरी सकारात्मक सोचको विकास गर्ने कार्ययोजना बनाएका छन् ।






यसैगरी अञ्चलभित्रका जिल्लाहरुमा समन्वय गरी हरेक जिल्लामा प्रतिष्ठानको अफिसियल दोहोरी टीम अनिवार्य बनाउने र सबै नवकलाकारलाई समावेश गरी जिल्ला जिल्लामा दोहोरी चलाउने, दोहोरी साँझका कलाकारलाई संस्थागत परिचय गराउँदै व्यवस्थापन गर्ने, ति कलाकार र व्यवसायीको हित हुने गरी ठोस कार्यक्रम अगाडि बढाउने, दोहोरीमा कार्यरत कलाकार दोहोरी ब्यबसायी र प्रतिष्ठानमा आवद्धहरु सँग सामुहिक भेला गर्ने योजना उनको छ । यसका अलावा कल्याणकारी कोषलाई आवश्यक रुपमा बृद्धि गर्दै लैजान केन्दसँग समन्वय गरी एकीकृत कल्याणकारी कलाकार कोषको निर्माणका अवधारण लागु गर्ने, प्रतिष्ठानलाई आत्मनिर्भर बनाउने कार्यक्रम अघि बढाउँदै अनावश्यक राजनीतिक, व्यक्तिगत र बाहिर हस्तक्षेप बन्द गराउने योजना उनले बनाएका छन्। स्व.नरबहादुर परियार कलाकारिता पुरस्कार र तीर्थसागर सुवेदी पत्रकारिता पुरस्कारलाई थप व्यवस्थित गर्ने, प्रतिष्ठानको कार्ययोजना सहितको बार्षिक क्यालेन्डर प्रकाशित गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, लोक दोहोरी अवार्ड–२०७५ बाट अवार्ड कार्यक्रम सुरु गर्ने, अन्य सामाजिक संस्थाहरुसँग सम्बन्ध मजबुद गराई प्रतिष्ठानलाई सामाजिक संस्थाको रुपमा अघि बढाउने, विभिन्न उपसमिति बनाई कार्य बिभाजन गर्ने र उत्कृष्ट कार्य गर्ने उप–समितिलाई  पुरस्कार प्रदान गर्ने उनको योजना छ । यसरी नेतृत्वको दावेदारी प्रस्तुत गरेका गुरुङ र रिजाल दुवै यतिबेला आफ्नो पक्षमा समर्थन जुटाउने कसरतका छन् । प्रतिष्ठानको नेतृत्व गर्दा कलाकारको पछिल्लो क्रमको आम्दानीको मुख्य श्रोत मेला र महोत्सवमा अवसर मात्र नभएर यस्ता कार्यक्रमको जिम्मा लिएर सहज तरिकाले मनग्गै आम्दानी गर्न सकिने भएकोले समेत नेतृत्वमा पुग्न हानथाप भएको हो । आकांक्षीलाई मिलाउने जिम्मा पाएका वरिष्ठ कलाकारहरु पटक–पटक छलफलमा बसेपनि मिलाउन सकेका छैनन्। उनीहरुले वरिष्ठताको आधारमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएपनि रिजाल सहमत नभएपछि चुनाव हुने निश्चित भएको स्रोतको दावी छ । रिजालले आफू व्यक्तिगत तथा गीत र कलाकारिताको माध्यमबाट लोकप्रिय रहेको दावी गर्दै आफ्नो विजय सुनिश्चित रहेको दावी गरेका छन् भने गुरुङले यस पटक आफू वरिष्ठ उपाध्यक्ष रहेकाले अध्यक्ष पाउनुपर्ने दावी गरेका छन् । वर्तमान अध्यक्ष जीवन दाहाल भने नेतृत्व हस्तान्तरण गरेर केन्द्रमा जाने सोचमा छन् । आफ्नो पक्षको व्यक्ति नेतृत्वमा पुग्न नसकेमा अवसर नपाइने डरले यो क्षेत्रको हाली–मुहाली गरेका व्यक्तिले भित्र–भित्रै नेतृत्वमा आफ्नो पक्षकोलाई पु¥याउन लविङ गरिरहेको स्रोतको दावी छ। नेतृत्वमा पुग्न मात्र नभएर पदाधिकारी र कार्यसमिति सदस्यमा समेत तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । गण्डकीको वरिष्ठ उपाध्यक्षमा सीता केसी र अम्मर धिताल, प्रथम उपाध्यक्षमा केशव देवकोटा र शिवहरि ढुङ्गाना, द्वितीय उपाध्यक्षमा जय कुमार परियार, महासचिवमा हालका सचिव सुरेन्द्र गुरुङ, सचिवमा हालका सदस्य राजन कार्की, कोषाध्यक्षमा विजय केसी, सह–कोषाध्यक्षमा निषा पोखरेल र मञ्जु वि.क., कार्यसमिति सदस्यमा रामजी पौडेल, प्रदिप त्रिपाठीले आकांक्षा देखाएका छन् । पदाधिकारी तथा कार्यसमितिका आकांक्षीको संख्या अन्य जिल्लामा समेत भएकाले यो संख्या बढ्ने देखिन्छ । त्यतिमात्र नभएर केही प्रतिनिधि पर्ख र हेरको रणनीतिमा रहेकोेले आकांक्षीको संख्या अधिवेशनको दिनसम्म झनै बढ्ने छ । गण्डकीको अधिवेशनमा प्रतिष्ठान कास्की, तनहुँ, स्याङजा, लमजुङ र गोरखा जिल्लाबाट आएका प्रतिनिधिले मतदान गर्नेछन् । मनाङ जिल्लामा भने प्रतिष्ठानको शाखा विस्तार हुन सकेको छैन । अञ्चलको अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि छनोट हुने क्रम जारी रहेको छ । जिल्ला र अञ्चलमा मात्र नभएर प्रतिष्ठानको केन्द्रीय नेतृत्वका लागि पनि दौडधुप चलिरहेको छ । केन्द्रिय नेतृत्वको लागि बद्री पंगेनी, टिकाराम चपाई र विष्णु खत्रीले इच्छा जाहेर गरेको स्रोतले जनायो । हालका केन्द्रीय सदस्य तारापति सुवेदी र चोलेन्द्र पौडेलले पनि केन्द्रीय पदाधिकारीमा जाने इच्छा देखाएका छन्। प्रतिष्ठान गण्डकीको अधिवेशन असार ३० गते हुनेछ ।

Post a Comment

 
Top