0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमतिको नयाँ वातावरण तयार गर्नुपर्ने बताएका छन् । पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले २०७४ माघ ७ गते वर्तमान संसदको कार्यकाल सकिने भएकाले त्यसअघि नै स्थानीय निकायको निर्वाचन, प्रान्तीय निर्वाचन अनि राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचन सक्नुपर्नेमा जोड दिए । नेता सिटौलाले भने–‘सबै निर्वाचन अन्तरसम्बन्धित भएकाले एकै पटक निर्वाचन कानून बनाउन जरुरी छ । यसका लागि सबै दलको सहमति आवश्यक हुन्छ । उनले संसद रहेको अवधिमा निर्वाचन सम्प्न्न गर्न नसकिए जनप्रतिनिधि विहीन अवस्था आउने र प्राप्त अधिकार गुम्न सक्ने भएकाले उपयुक्त राजनीतिक वातावरण तयार गरि निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सरकारले तत्काल कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए । नेता सिटौलाले सरकारले मंसिरमा चुनाव गर्ने भनेपनि आवश्यक कानून र कार्ययोजना नल्याएकोले मंसिरमा चुनाव सम्भव नहुने तर्क गरे । सरकारले चाहेमा फागुन चैत्रसम्म मात्र चुनाव सम्भव छ तर त्यसका लागि सहमति आवश्यक छ उनले भने । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य सिटौलाले भूकम्प पछिको १५ महिनाको अवधिमा जनताले राहत पाउन नसकेको भन्दै भूकम्प पछिको पुनःनिर्माणको विषयलाई राजनीतिक विषय बनाउन नहुने समेत स्पष्ट पारे । सरकारले २ वर्षमो कार्यविधि बनाएर काम शुरु गरेको भएपनि भूकम्पपीडितलाई राहत दिन ढिलाइ भएकाले तत्काल २ किस्तामा रकम उपलव्ध गराउन कांग्रेसले माग गरेको उनले बताए । पाँच लाख भन्दा बढी पीडितलाई सरकारले दिने अनुदान रकम वितरण गर्नुपर्ने भएपनि केही हजारले मात्र प्राप्त गरेकोले अनुदान पाउन अझै ढिलाई हुने सम्भावना छनि भन्ने प्रश्नको उत्तरमा सिटौलाले भने–‘संसदमा प्रधानमन्त्री केपी ओलीले बोलेको कुरा पूरा गर्नुपर्छ, गर्न नसक्ने भए जनता समक्ष झुटो बोल्न पाइँदैन । उनले सरकारको प्रतिवद्धता फेरि अलपत्र नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए । नेपाली कांग्रेसले सरकारमा जाने चाहना गर्नुभन्दा आम सहमति कायम गरेरमात्र सरकारको कुरा गर्न उपयुक्त हुने उनले स्पष्ट पारे । पार्टी सभापति शेरबहादुर देउवाले विधान बमोजिम मनोनित गर्नुपर्ने केन्द्रीय सदस्य र पदाधिकारीको चयनमा गरेको ढिलाईप्रति लक्षित गर्दै उनले सभापति देउवालाई सफल हुने बाटोमा लाग्न आग्रह गरे । सभापतिलाई असफल बनाएमा पार्टी नै असफल हुने भएकाले आफूले सभापति देउवालाई राम्रो काम गर्न र पार्टी पीडितका लागि अझै तीव्रता दिन आग्रह गरेको उनले बताए । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमाणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव रेग्मी र सदस्य सरिता पगेनीले बोलेका थिए । 





Post a Comment

 
Top