0
गोल्डेन न्यूज संवाददाता
पोखरा नगरमा खानेपानी आपूर्ति हुने मुख्य स्रोत मर्दिखोला बाट गिटी बालुवा निकाल्नका लागि कास्की जिविसले टेण्डर आह्वान गरि खोलेको ठेक्का रद्ध हुने भएको छ । नागरिक स्तरबाट चर्को विरोध भएपछि जिविसले टेण्डर खोलेको भएपनि ठेक्का सम्झौता नगर्ने निष्कर्षमा पुगेको हो । आइतबार साँझ कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैलानी, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, कास्कीका प्रहरी उपरीक्षक घनश्याम अर्याल, पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुँवरसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि त्यसबाट गिटी बालुवा निकाल्न नहुने र ठेक्का सम्झौता गर्न नहुने निष्कर्ष निकालेको बताइन्छ । खानेपानीको मुहानमा गिटी बालुवा निकाल्ने, शव जलाउने, गाइवस्तु आहाल बस्ने तथा अन्य  फोहोरमैला बढ्दै गएपछि नागरिक स्तरबाट चर्को असन्तुष्टि बढेको थियो । विशेषगरि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र भाइवर ग्रुपमा पोखरेलीहरुले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् । पोउवासंघका पूर्व अध्यक्ष समेत रहेका अशोक पालिखे, मर्दी क्षेत्रका राम गुरुङ, पोखराका जयप्रकाश थापा, पत्रकार राजबहादुर गुरुङ लगायतले सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए भने  ठेक्का रद्ध गर्न पोखराका सामाजिक अभियन्ताहरुले क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको ध्यानाकर्षण समेत गराएका थिए । पोखरावासीले प्रयोग गर्ने खानेपानीको मुहान रहेको मर्दिखोला भू–भागमा दुङ्गा, बालुवा, निकाल्ने क्रममा हुने प्रदुर्षणले पोखराको पिउने पानीमा प्रतिकूल असर पर्ने भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।  मर्दिखोलाको ढुङ्गा, गिटी, बालुवा, ठेक्का दिने प्रक्रियाको अविलम्ब खारेज गर्न सामाजिक अभियन्ता तीर्थ श्रेष्ठ, पोखरा उपमहानगरपालिकाका पूर्व प्रमुख भोला थापा, पोखरा उप–महानगरपालिका पूर्व प्रमुख एंव नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष अशोक पालिखे, सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ र तमु धीँ नेपालका अध्यक्ष कर्म तमु लगायतले पोखरालाई स्वस्थ शहरको रुपमा रुपान्तरण गर्नुपर्ने खाँचो औंल्याउँदै आएका छन् ।

Post a Comment

 
Top