0
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा नेकपा एमाले सहभागी हुन सक्ने आशय व्यक्त गरेका छन् । राष्ट्रपतिले सहमतीय सरकार आह्वान गरेको अवधिलाई प्रचण्डले उपयोग गरेर राष्ट्रिय सहमतिको पहल गर्नुपर्ने सुझाव समेत खनालले दिएका छन् । यसका लागि प्रचण्डले एमालेलाई समेत वार्तामा बोलाउनुपर्ने उनको माग छ । संसद बैठकमा आइतवार अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री खनालले भने– कामरेड प्रचण्डले हृदयको मनले राष्ट्रिय सहमतिको आवश्यकता महशुस गर्नुभएको छ भने राष्ट्रपतिको पहिलो आह्वानको बीचमा हामी वार्ता गरौं ।प्रधानमन्त्रीको तर्फबाट के कमी भए, त्यो पनि समीक्षा गरौं । होइन एमाले प्रतिपक्षमा बस्नैपर्छ भने यहाँहरुको धारणा हो भने यहाँहरुको धारणाको जय होस् ।’ पूर्वप्रधानमन्त्री खनालले संविधान कार्यन्वयनका लागि प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताए । एमाले प्रतिपक्षमा बस्न नडराएको प्रष्ट पार्दै उनले, अहिलेको खेलले संविधान कार्यान्वयन नहुने डर बढेको बताए । उनले भने–‘अविश्वासको प्रस्तावले हामीबीच अविश्वासको खाडल बढाएको छ, जहाजबाट हामफाल्ने मूसा प्रवृत्तिलाई फाइदा भएको छ । एमाले नेता खनालले अविश्वास प्रस्ताव आवश्यक र जरुरी थिएन भन्दै ओली सरकारले गरेका राम्रा कामहरुलाई कार्यान्वयन गर्ने बेलामा अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने–यो सरकारले भारतसँग न्यानो सम्बन्ध बनायो, चीनसँग गरेका सन्धी सम्झौता कार्यान्वयन गर्ने बेलामा अविश्वासको प्रस्ताव आउनु विडम्बना हो । यसले हामीलाई अग्रगतितर्फ लाँदैन ।
यसैबीच  अविश्वास प्रस्ताव माथि करिव सवा दुई घण्टा लामा जवाफ दिने क्रममा अधिकांश समय आफूमाथि प्रहार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले राजनेताको संज्ञा दिएका छन् । प्रधानमन्त्रीले राजीनामा घोषणा गरेर बाहिरिएपछि संसद भवनभित्रको च्याम्बरमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई भविष्यमा पनि सहाकार्य जारी राख्ने प्रस्ताब समेत राखे । प्रचण्डको भनाइ उधृत गर्दै प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने–‘तपाईले ठूलो राजनेताको परिचय दिनुभयो, हाम्रो सहकार्य भविष्यिमा पनि जारी रहोस् ।’ त्यसबेला प्रचण्डसँगै गिरिराजमणी पोखरेल लगायत ओली क्याबिनटेका माओवादी मन्त्रीहरु पनि थिए । त्यहाँ प्रचण्ड र ओली लगायत माओवादी नेताहरुले सामुहिक फोटो समेत खिचाएका थिए । ओलीले राजीनामा दिएर बाहिरिने क्रममा विजयकुमार गच्छदार आफ्नो आसनबाट उठेर नमस्कार गरेका थिए । एमालेका पहिलो लहरका बरिष्ठ नेताहरु उठेर राम्रो जवाफ दिएको भन्दै बधाइ दिएका थिए । अर्को लहरमा रहेका कांग्रेस सभापति शेरवहादुर देउवा सहितका नेताहरु पनि उठेर ओलीलाई धन्यवाद दिएका थिए । मधेसी मोर्चाका नेता उपेन्द्र यादवहरुले पनि उनीसँग हात मिलाउँदै धन्यवाद दिए ।

Post a Comment

 
Top