0
गोल्डेन न्यूज संवाददाता
गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दी र मुस्ताङ जोड्ने एकमात्र सडक मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । सडकखण्डमा पर्ने पर्वतको नाङ्लीवाङ गाविस–२ खनियाघाट स्थित ज्यामिरे खोला नजिकै सडकमाथिबाट खसेको पहिरो र खोलामा आएको बाढीका कारण सडक रातिदेखि अवरुद्ध बनेको हो । खोलाले ठूलो मात्रामा माटो र ढुङ्गा सडकमा थुपारेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन र अन्य क्षेत्रबाट ती जिल्लामा भित्रिने सवारी साधन अलपत्र बनेका छन् । अत्यधिक मात्रामा पहिरो र बाढीले सडक पुरिएका कारण तत्काल सडक खुलाउन समस्या परेको प्रहरीले जनाएको छ । सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरेको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिए।

Post a Comment

 
Top