0
गोल्डेन न्यूज संवाददाता
साहित्यकार प्रकट पगेनी ‘शिव’ प्रणय गजलका लिएर पोखरेली गजल पारखीसामु उभिने भएका छन् । लायन्स क्लब अफ पोखरा भद्रकालीले साउन १४ गते शुक्रबार पोखरा उद्योग वाणिज्य संघमा प्रणय गजलका साथमा उभ्याउने भएको हो । यो कार्यक्रम सम्भवतः लायन्स इतिहासकै पहिलो पटक हो । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ ‘प्रणय गजल साँझ’ गर्न लागिएको क्लबले जानकारी दिएको छ । सिर्जनाको पनि मूल्य हुनुपर्छ र साहित्य अनुत्पादक क्षेत्र हो भन्ने धारणालाई न्यूनिकरणका लागि सशुल्क प्रकटलाई प्रस्तुत गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रवासले जानकारी दिए । प्रकटले नयाँ र पुराना गजलमार्फत मेहफिल जमाउनेछन् भने गजल सुन्नका लागि ५ सयको टिकट राखिएको प्रवासले बताए । ‘साहित्यको पनि मूल्य हुन्छ, यो जीवनोपयोगी हुन्छ भन्ने बुझाउन पनि कार्यक्रमले सहयोग गर्नेछ,’ प्रवासले भने,–‘कार्यक्रमबाट उठेको रकममध्ये १५ हजार सर्जनले पाउने छन् भने बाँकी बालबालिकाको हितमा खर्च हुनेछ ।’ चर्चित गजलकार प्रकटले आफूलाई श्रृंगारिक गजलकारको रुपमा चिनाएको र त्यहीरुपले चिनाउन रुचाउने भएकाले प्रणयमा गजल साँझ गर्न लागिएको प्रवासले बताए । गजलको उर्बरभूमि पोखराममा हुन लागेको कार्यक्रमले फेरि एक पटक साहित्यिक माहोल तताउन प्रकटको एक साँझ सफल हुने क्लबका अध्यक्ष राजु क्षत्रीले बताए । कार्यक्रमका लागि प्रवासको संयोजकत्वको क्लबका तृतीय उपाध्यक्ष भरत कोइराला र कोषाध्यक्ष अरबिन्द पौडेल सदस्य रहेको समिति गठन गरिएको छ । १० वर्ष अघि गठन भएको लायन्स क्लब अफ भद्रकालीले शैक्षिक क्षेत्र र नेतृत्व विकासलाई केन्द्रित गरी कार्यक्रम गर्दै आएको छ ।




Post a Comment

 
Top