0
पोखरा–१७ छोरेपाटनमा रहेको पर्यटकीय पातलेछाँगो अर्थात डेबिडफल्समा हालै एक जनाले हामफालेर आत्महत्या गरे । दिपेन्द्र पौडेलको शव फुस्रे खोलामा फेला परेको छ । पातले छाँगोको टिकट काउन्टरमा कार्यरत पौडेल त्यहाँ हामफालेर आत्महत्या गरेका थिए । यद्यपि पौडेलका परिवार तथा आफन्तले मृत्यु रहस्यमय भन्दै प्रहरीमा उजुरी दिएको छ । पछिल्लो समय छोरेपाटनमा रहेको डेविडफल्समा मानिसहरु घुम्न आउने र आत्महत्या गर्ने क्रम बढ्न थालेको छ । गत चैत २० गते काभ्रेका धनाड्य जुजुकाजी डेभिडफल्समा आएर आत्महत्या गरेका थिए । त्यस्तै पोखराको विरौटाका हितकाजी गुरुङले बैशाख १७ गते हामफालेर आत्महत्या गरे । हुन त डेभिडफल्समा वर्षेनै यस्ता घटना भईरहन्छन् तर पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्न थालेको छ । पर्यटकीय गन्तव्यको रुपमा परिचित पातले छाँगो (डेभिडफल्स) मा आत्महत्या गर्ने क्रम बढ्दै जाँदा त्यसले पर्यटन उद्योगमा नकारात्मक असर पर्ने देखिन्छ । पातले छाँगोमा यस्ता घटना न्यूनिकरणका लागि केहि योजनाका साथ तत्काल काम गरिएन भने यसले समाजमा नकरात्मक मनोविज्ञानको विकास गराउने देखिन्छ भने पर्यटक घट्ने निश्चित छ । पातले छाँगोको व्यवस्थापन छोरेपाटन उच्चमाविले गरिरहेको छ । केहि समयदेखि पातले छाँगोको व्यवस्थापन कसले गर्ने भन्ने विषयमा पोखरा उपत्यका नगर विकास समिति र विद्यालय प्रशासनबीच विवाद रहेको छ । यसका बाबजुद छोरेपाटन उच्चमाविले पातले छाँगोको व्यवस्थापन गर्दै आईरहेको छ । २०३५ सालदेखि छारेपाटन उच्चमाविले डेभिडफल्सको व्यवस्थापन सुरु गरेको हो । विद्यालयले व्यवस्थापन पछि छाँगो आसपासमा घुम्न र पर्यटकको बसाई लम्बाउन विभिन्न काम गरेको छ । छोरेपाटन उच्चमाविले पातलेछाँगोको विकासमा जे जति लगानि गरेको छ, त्यो आफैमा महत्वपूर्ण छ । पातले छाँगोमा आउने पर्यटकबाट लिईने शुल्क, सटरहरुबाट उठाइने भाडा लगायत आन्तरिक रुपमा विभिन्न माध्यमबाट उच्च माविले आम्दानी गर्ने गर्दछ । पातलेछाँगोबाट आएको आम्दानीले शैक्षिक क्षेत्रमा ठूलो योगदान गरेको छ । तर त्यति हुँदा–हँुदै पनि उच्च माविले पातलेछागोमा अझै सुरक्षाको हिसाबले राम्रो व्यवस्थापन गर्द सकिरहेको छैन । पातलेछाँगोमा लगाइएका रेलिङहरु पुराना भएर अत्यन्तै जोखिममा रहेका छन् । व्यवस्थापन पक्षले सुरक्षा गार्डहरु सुरक्षाको लागि राखे पनि ती सुरक्षा गार्डहरु टिकट काट्ने ठाउँमा केन्द्रित देखिन्छन् । उनीहरु जोखिम क्षेत्रमा जाँदैनन् वा व्यवस्थापनले छाँगो तिरको निरीक्षणको जिम्मा दिएको छैन । यसरी आत्महत्याका घटना बढ्दै जाँदा सुरक्षाको व्यवस्थापन उचित तवरले गर्नुपर्ने देखिएको छ । रेलिङ केहि अग्ला र मजबुद बनाउन जरुरी छ भने १÷२ जना सुरक्षा गार्डले निरन्तर छाँगोको क्षेत्रमा रेकि गर्नु अपरिहार्य छ ।








Post a Comment

 
Top