0
महाभारतजस्तो बृहत् काव्यलाई लिएर त्यसमा भएका नारी पात्रहरुलाई वक्ताको रुपमा प्रस्तुत गरी लेखिएको पुस्तक हो चिरहरण। पुस्तकमा सबैजसो महाभारत काव्यका प्रमुख पात्रहरुलाई एक सभामा आमन्त्रित गरी पालैपालो नारी पात्रहरुको भनाइलाई एकपछि अर्को गर्दै म पात्रको रुपमा प्रस्तुत गरिएको छ। त्यस सभामा सत्यवति, अम्बिका, गान्धारी , कुन्ती र द्रौपदीले क्रमशः आ–आफ्नो कुरा राख्छन्। पुस्तकको खण्ड चारमा दूर्योधन पत्नी भानुमति बोल्छिन्। उपसंहार खण्डमा दूर्योधन, दूशासन, कर्ण, द्रौपदी, कुन्ती हुँदै धृतराष्ट्र बोलेर सकिन्छ। महाभारतको कथा नै हो, नयाँ कथा केही पनि होइन तर त्यही कथालाई विशेषगरी नारी जातिमाथि गरिएको हिंसालाई केन्द्रमा राखेर फरक कोणबाट लेखिएको एक संग्रहणीय पुस्तक हो, चिरहरण। संग्रहणीय यस अर्थमा कि महाभारत कथामा आधारित रही यो दृष्टिकोणवाट यसरि यसअघि लेखिएको पाइँदैन। निलम कार्की निहारिकाद्वारा लिखित यस पुस्तक महाभारत कथाको अलिक राम्रो ज्ञान नभएको पाठकलाई भने त्यति चाखलाग्दो नलाग्न पनि सक्छ। पुस्तक पढ्दै जाँदा जतिबेला पनि नारी–पुरुषको वस्तु, पतिको सेवा गर्नु नै नारीको सर्वोत्तम धर्म, नारीका विभिन्न खालका व्यथामात्रै दोहोरिरहने भएकाले ‘अधिक फेमिनिजम’को प्रयोग भएको जस्तो पनि लाग्न सक्छ। तर पुस्तकको विषय नै नारीमाथि केन्द्रित भएको हुनाले त्यो स्वभाविक नै हो। पक्कै पनि त्यतिबेला घटेका नारीमाथिका कुकर्महरु आज पनि घट्ने गरेका छन्। ठीक त्यही प्रकारमै नभए पनि अन्य विभिन्न रुपमा। बलात्कारको घटना आज पनि सुनिन्छन् र घट्छन् समाजमा। नारीमाथिको थिचोमिचो आज पनि छ अनेक रुपमा। अनिच्छित गर्भ बोकेका कारण आज पनि कति दुधे बालक लावारिस अवस्थामा भेटिन्छन्। कुन्तीको पुत्र त्यागहरु आज पनि यदाकदा लुकिछिपी हुन्छन्। आज पनि कैयौं नारीहरु पतिसेवा गर्नुमात्रै जीवनको सार भनी पिञ्जडामा रहेको पन्छीको जीवन व्यथित गर्न विवश छन्। आज पनि नारीहरु अपहरणमा पर्छन्। अनिच्छापूर्वक कति नारीहरु सन्तान जन्माउन बाध्य पारिन्छन् जसरी गान्धारी, अम्बालिका र अम्बिका उपर बाध्य पारिएको थियो। पुत्र बधुको आगमनपश्चात् माताले आज पनि असुरक्षित महसुस गर्छन्। सासु–बुहारीबीच हुने कलहको बिज यहीँबाट सुरु हुन्छ। लेखिकाको निष्कर्ष यस्तो निस्कन्छ अन्तिममा।
पुस्तकको उपसंहार खण्डमा हरेक पात्रले आफूले गरेका गल्तीहरुप्रति क्षमा माग्छन् र त्यसखालका गल्ती भविष्यमा अरु मानव जातिबाट नदोहोरियोस् भन्ने कामना गर्छन्। चिरहरण महाभारतको एक यस्तो घटना हो जसले नारी जातिमाथि गरिएको एक घृणित घटनामात्र संकेत गर्दैन त्यससँग जोडिएका अन्य धेरै गम्भीर कुराहरु उजागर गर्छ। समस्त नारी जातिमाथि गरिएको त्यसखालको घटना जति निन्दा गरे पनि सकिँदैन। तर यससँगै जोडिएको अन्य थुप्रै कुराहरु छन्। पाँच पाण्डवले नारीलाई जुवामा लगाउनेसम्म पछि पर्दैनन्। जुवाभित्र रमाउँदै गएपछि त्यहाँ मान्छे अन्धो हुँदै जान्छ र आफूले गुमाएको कुराप्रति ऊ रत्तिभर पनि वास्ता नगर्ने हुन्छ। आफ्नै पत्नीलाई समेत दाउमा लगाउन पछि पर्दैनन् भन्ने दृष्टान्त छँदैछ। जुवाको नियमलाई मान्नुपर्ने र ठूलाको आज्ञा पालनको लागि आफ्नै पत्नी पनि सार्वजनिक रुपमा बलात्कारको प्रयास हुँदा पनि उसलाई बचाउने दायित्व पतिहरुको पहिलो पंक्तिमा पर्दैन। यी सबै कुराहरुलाई लेखिकाले निकै कलात्मक र सरल ढंगले प्रस्तुत गरेकी छन्।
कौरब र पाण्डवबीच खेलिएको जुवामा द्रौपदी पाण्डवबाट हारिएपछि त्यस सभामा उनीप्रति गरिएको चिरहरणको प्रयास र अपमान एक मुख्य घटनाको रुपमा छ। तर नारीहरुलाई त्यतिबेला क्षणक्षणमा दासी र  वस्तुको रुपमा व्यवहार गरिएको थियो भन्ने कुरा कुन्ती, द्रौपदी, अम्विका, गान्धारी,  आदि बोल्ने सबैको कुराबाट कुनै पनि पाठकले सहज रुपमा अनुमान लगाउन सक्छन्। अर्थात् चिरहरण घटनाजतिकै अपमान नारीहरुले सहेर हर पल पुरुषजातिको निम्ति आफू समर्पित हुनुपर्ने एउटा संस्कार त्यतिबेलाको समाजमा रहेको भेउ सजिलै पाउन सकिन्छ। यतिसम्म कि कुनै नारी आफूले भोगेको दुस्खपछि आफ्ना बुहारीलाई पर्दा त्यो उनीहरुले पनि भोग्नै उचित ठान्ने गरेको पनि देखिन्छ पुस्तक पढ्दै जाँदा।
सत्यवती ः चिरहरण पुस्तकमा त्यतिबेला नारीजातिले भोगेका कुरालाई पालैपालो बोल्ने नारी पात्रहरुले म पात्रको रुपमा सविस्तार प्रस्तुत गरिएको छ। सुरुमा बोल्ने सत्यवतिले आफू जन्मनासाथ उनीमाथि अन्याय भएको कुराबाट कथा अगाडि बढ्छ। राजघरमा उनी र उनको भाइ दुई जनाको जन्मपछि उनी मत्स्यको जस्तो गन्धलिएर जन्मेकै कारण उनलाई उनका पिता एवं राजाले कुनै एक माझीलाई दिन्छन्, आफूले  पाल्न अस्वीकार गर्छन्। उनी परासर ऋषिसँगको समागमपछि मत्स्यगन्धापछि योजनगन्धा हुन्छिन् अर्थात् उनी शरीरबाट आउने दुर्गन्ध हटेर सुगन्धले पूर्ण हुन्छिन्। जतिसुकै ठूलो महाराजकी पत्नी भए तापनि एक नारीको सर्बोपरी धर्म पतिलाई खुसी तुल्याउनु नै हुन्छ भनेर उनलाई उनकी आमाले राजा शान्तनुसँग विवाहदान गनुपूर्व  सिकाउँछिन्। यसबाट त्यतिबेला नारी जातिको अवस्था के रहेको थियो भन्ने कुरा पुस्तक पढ्ने पाठकले सहजै अनुमान लगाउन सक्दछन्।
अम्बिका ः त्यसपछि बोल्ने अम्बिकाको भनाइमा उनकी तीन दिदीबहिनी कसरी एक स्वयम्वर सभाबाट अपमानित हुँदै भीष्मको अपहरणमा पर्छन् भन्ने कुराबाट सुरु हुन्छ। राजा शाल्वसँग प्रेममा परेकी उनकी दिदी  अम्वाले स्वइच्छाले चाहेको राजालाई समेत कसरी टुक्राउन विवश हुन्छिन् भन्नेबारे निकै सरलताकासाथ वर्णन हुन्छ। उनलाई अपहरणमा परेकै कारण अपवित्र भन्दै उनकै प्रेमीबाट स्वीकर हुँदैन। आफ्नो पुत्र राजगद्दीमा राख्नलाई अम्बिका एक समय आफ्नै बहिनीप्रति स्वार्थी बन्छिन्। त्यसैले दिदी भएर पनि आफ्नी बहिनी अम्बालिका भन्दा आफूले पहिला पुत्र जन्माउनको लागि षड्यन्त्रपूर्वक ऋषिले दिएको बुटी परिवर्तन गरिदिन्छिन् उनले। त्यस्तै अम्बिका र अम्बालिका दिदीबहिनीका पति विचित्रविर्यको देहावसानपछि कसरी एक वंशको निरन्तरताको लागि परपुरुष ऋषि वेद व्याससँग समागम गराउन स्वयं राजमाता सत्यवति नै अग्रसर हुन्छिन् भन्ने कुरालाई बताइएको छ। त्यसैमा अम्बालिका र अम्बिकाले नियोगको क्रममा भयभीत भएका कारण अस्वस्थ पुत्रहरु जन्मने डरले एक दासीलाई ‘नियोग’को निम्ति प्रेरित गर्छिन् उनै राजमाता सत्यवति। पछि तिनै दासीबाट जन्मने पुत्र हुन्छन् महात्मा बिदुर र बाँकी अम्बिका र अम्बालिकाबाट जन्मिन्छन् पाण्डु र धृतराष्ट्र। यी सबै कुराहरु सुन्दर शैलीमा पुस्तकमा लेखिएको छ।
गान्धारी ः त्यसपछि बोल्ने पालो आउँछ ध्रीतराष्ट्र पत्नी गान्धारीको। हस्तिनापुरबाट आएको विवाह प्रस्तावमा विवाद सिर्जना भएपछि धृतराष्ट्र अन्धो भएका कारण उनीसँग विवाहयोग्य हुन र सम्भावित दुर्घटना रोक्न स्वइच्छाले आजीवन आखाँमा पट्टि बाँध्ने निर्णय गर्छिन्। पछि राजगद्यीप्रति अति मोहित धृतराष्ट्रले आफ्नो छोरालाई राजा बनाउन व्यग्र इच्छा राख्दै आफ्नो भाइ पाण्डुले पुत्र जन्माउनुपूर्व गान्धारीलाई पुत्र जन्माउनको लागि दबाब दिन्छन्। गान्धारीबाट शीघ्र पुत्र जन्मिन नसक्ने जस्तो महसुस गरेर धृतराष्ट्रले एक दासीलाई त्यसको लागि गोप्य दबाब दिन्छन् र दासीबाट जन्म हुन्छ एक पुत्रको युयुत्सवको। यसरी एक महाराजले आफ्नी महारानीलाई समेत राजगद्यीमा आफ्नो पुत्रलाई बसाल्ने अभिलासाकै कारण बारबार दबाबमा पुत्र जन्माउन मनोवैज्ञानिक हिंसा गर्न पछि पर्दैनन् भन्ने कुरा प्रष्ट बुझिन्छ पुस्तक पढेपछि।
द्रौपदी ः त्यसपछि बोल्ने पालो आउँछ महाभारतकी सवैभन्दा विद्रोही नारी द्रौपदीको। कुरा उनको स्वयम्वरबाट सुरु हुन्छ। स्वयम्बरमा मत्स्य भेदन गर्ने व्यक्तिसँग मात्र उनको विवाह हुने नियम बनाइएको हुन्छ। नचिनिने भेषमा आएका अर्जुनले मत्स्य भेदन गरेपश्चात उनलाई त्यहाँबाट लिएर जंगलको कुटीमा पुग्छन्। त्यहाँ पुगेर उनले भन्छन्, ‘माता हामीले आज बहुमुल्य वस्तु लिएर आएका छौँ।’ जवाफमा माता कुन्तिले हेर्दैनहेरि भन्छिन्,  ‘पाँच भाइले वरावरी बाँडेर लिनू।’ एक त द्रौपदीलाई वस्तु भनेर अर्जुनले नारीको यसै पनि अपमान गर्छन्। उता माताको आज्ञा अकाट्य हुने भनेर द्रौपदी पाँच भाइमा बाँडिन पुग्छिन्। उनी जुवामा हारिएपछि भएको चिरहरणको व्याख्या वडो मार्मिक छ। त्यसबखत द्रौपदीले पाएको यातना र भएको अपमान अक्षम्य हुँदाहुँदै पनि कसरी पाँच पाण्डव आफ्नी पत्नीको सार्वजनिक रुपमा बलात्कारको प्रयास हुँदा पनि चुप रहन विवश हुन्छन् भन्ने निकै मार्मिक ढंगले लेखिएको छ।
उनी त्यससभामा आफू उपर निकृष्ट व्यवहार गर्ने दुशासनको छातीको रगतले मात्र आफ्नो अपमानको घाउ भरिने कसम खान्छिन्। साथै त्यो अवस्था नआएसम्म आफनो केश खुलै राख्ने प्रण गर्छिन्। त्यसपछि उनले बारबार जतिबेला पाण्डवहरुले शान्तिले समस्या समाधान गर्ने कुरा गर्छन् उनको विद्रोही स्वर अगाडि आउँछ, ‘मेरो खुला केशको स्मरण गरियोस्। मलाई दुशासनको छातीको लघु नभइ मेरो घाउ भरिँदैन, त्यसैले उनीहरुउपर युद्ध अपरिहार्य छ।’ जब जब धर्मराज युधिष्ठिर कौरबहरु आफ्नो अनुज भएका कारण माफी दिने कुरा उठाउँछन् तब तब द्रौपदी त्यो निक्रिस्ट घटनाको सम्झना गराउन आफ्नो खुला केशलाई लिएर प्रस्तुत हुन्छिन् र भन्छिन्, ‘ती पापीहरुलाई त्यसै छोडिनु हुँदैन।’ उनले गम्भीर कुरा गर्छिन्, ‘दण्ड दिन योग्यलाई क्षमदान दिइरहने हो भने समाज सुधार कहिल्यै हुँदैन।’ त्यसपछि पाण्डव र कौरबहरुबीच युद्धको विषयमा लामो बहस चल्छ। पछि विवाद चर्किँदै गएपछि शान्तिको लागि पहल गर्न भनी जतिबेला कुरा उठ्छ द्रौपदी त्यसको विरोधमा युद्धको निम्ति आफ्ना पतिहरुलाई दबाब दिइरहन्छिन्। पतिलाई भगवान ठानेर नारीले हरेक कुरा शिरोधार्य गर्ने चलन भएको अवस्थामा एक समय द्रौपदीले ‘म शान्ति मार्गको बाधक कसरी भएँ?’ भनेर ठाडो प्रश्न गर्छिन्, आफ्ना पतिहरुको सामुन्ने। यसले द्रौपदी सहेर बस्ने अरु नारी पात्रहरु भन्दा भिन्न अवश्य थिइन् भन्ने पुष्टि गर्छ।
त्यस्तै, एक समयमा कृष्णले उनलाई सम्झाउँछन्,  ‘तिम्रो खुला केश नै युद्धको भागिदार बन्नुहुँदैन, युद्धमा पापीमात्र नाश हुँदैनन्, हर समय युद्धलाई मानवअधिकार भन्न मिल्दैन।’ यहाँसम्मकी उनले असाध्यै श्रद्धा गर्ने र भनेको कुरा मान्ने बासुदेब कृष्णले यसोभन्दा समेत उनको मन बुझ्दैन। यी सबै कुराबाट उनी त्यतिबेलाकी एक विद्रोही नारीको रुपमा रहेको भनी कुनै पनि पाठकले सहजै बुझ्न सक्दछ। त्यस्तै एक समय सासुमाता गान्धारीले द्रौपदीलाई एक पत्र पठाउँछिन् जसमा लेखिएको हुन्छ, ‘तिमी नै महायुद्धको एकमात्र कारक हौ भन्ने दृष्टान्त नबनोस् भावी पुस्तामा। त्यसैले शान्तिको बाटो रोज। पतिको जन्मभूमि र पुत्रहरुको वंशभूमिको निम्ति हृदयको घाउ भरिदेउ।’ यस्तो पत्र प्राप्त गरे तापनि उनको घाउको पीडा कम हुँदैन र हरेक पल चाहन्छिन् युद्ध होस् र नाशियुन् ती पापीहरु जो उनको चिरहरण गर्न लालायित थिए त्यस सार्वजनिक सभामा।
भानुमति ः त्यसपछि दूर्योधनकी पत्नी भानुमतिले पनि त्यतिबेला नारीहरु चाहे दासी हुन् वा महारानी सबैले पतिको निम्ति सदा एक वस्तु भएर बाँच्नुपर्ने गरेको भनी आफ्नो कुरा राख्छिन्। उनी भन्छिन्, ‘युवराज्ञीको जीवन के थियो र? बेलाबखत शिरमा ताज धारण गरी बहुमुल्य बस्त्र पहिरिएर जनता, भारदारका सामु प्रदर्शित हुनु सिवाय।’ पुस्तक पढ्दै जाँदा कथा सलल बगेझैं लाग्छ। शब्दचयन महाभारतकालीन कथालाई सुहाउँदो गरी नै छ। महाभारतकालीन कथालाई लिएर एउटा फरक कोणबाट निकै सुन्दर ढंगले लेख्नु लेखिकाको प्रशंसनीय कार्य हो।
यस पुस्तकमा केही समान्य त्रुटिहरु पनि भेटिन्छन्।
सत्यवतिको भनाइ सकिएपछि म पात्रको रुपमा बोल्ने पालो अम्बिकाको आउँछ। तर अम्बिकाको ठाउँमा एक दुई ठाउँमा अम्बालिका भनेर लेखिएको छ। केही सामान्य व्याकरणका त्रृटिहरु छन्। जस्तै पृष्ठ ५०८ मा ‘ती युवतीलाई बुहारी रहिछन्’ भनिएको छ। त्यस्तै पृष्ठ १९३ मा आशंकाको ठाउँमा ‘आशङ’ लेखिएको छ। समग्रमा भन्दा महाभारतको कथालाई नारीको नजरबाट केलाउँदै यसरी लेखिनु नै एउटा ठूलो उपलब्धि हो, आफैंमा एउटा सुन्दर सिर्जना हो। साथै कथालाई भाषागत हिसाबले हेर्दा यति कलात्मक ढंगले संयोजन गरी लेखिएको छ जसले केही त्रुटिहरुलाई ओझेलमा पारिदिन्छ।




Post a Comment

 
Top