0
गोल्डेन न्यूज संवाददाता
फिर्के–बुलौदी सफाइ अभियानले भारी वर्षाको बावजुद पनि निरन्तरता पाएको छ । सयौं सर्वसाधारण भारी वर्षामा पनि छाता ओढेर सरसफाइमा जुटेका थिए । अभियानमा रामबजार, घारीपाटन, बैदाम, बगर लगायत वडा नंं ४, ५, ६, ७, ८ र १७ का आमा समूह विभिन्न तमु समाज, टोल विकास संस्था, मुक्तिनाथ विकास बैंक, धर्मस्थली निमावि, समता उच्च मावि, नेपाल स्काउट, रेडक्रस, स्थानीय टोलबासीहरु, निजामती सेवा, सुरक्षा निकाय लगायत नगरपालिकाका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा जीवन विकास केन्द्रका संस्थापक तथा बागमती सफाई महाअभियानका अभियन्ता एलपी भानु शर्मा र पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले संबोधन गरेका थिए । कास्की प्रहरी प्रमुख घनश्याम अर्यालले उपस्थित सबैलाई सपथ खुवाएका थिए । शनिबार मुक्तिनाथ विकास बैकका तर्फबाट प्रबन्ध निर्देशक नारायण श्रेष्ठले १५ जोर गमबुट र २ हजार थान ग्लोव प्रदान गरेका थिए । विश्व वातावरण दिवसको अवसरमा सुरु अभियान चौथो श्रृङ्खलासम्म आइपुग्दा सर्वसाधारणको उत्साहजनक उपस्थिति हुने गरेको अभियान संयोजक रामबहादुर पौडेलले बताए । पोखराको सामुदायिक रेडियो सुनौलो एफएमसंग कुरा गर्दै संयोजक पौडेलले अभियानमा मौसमले साथ नदिएपनि पोखरेलीले पूर्ण साथ दिएको भन्दै खुशी प्रकट गरे । उनले जनचेतनाको कमिका कारण नभइ लापर्वाहीका कारण पोखरा प्रदुषित हुँदै गइरहेको स्पष्ट पारे । पोखरा जति सुन्दर छ पोखरेलीको मन पनि त्यतिनै सुन्दर हुनुपर्नेमा उनले जोड दिए । पोखरा अन्तर्राष्ट्रियस्तरको सहर बन्दै गर्दा पोखराको खोला नालामात्र होइन बसै सार्वजनिक स्थलहरु पनि सफा हुनुपर्ने संयोजक पौडेलले बताए । फिर्के–बुलौदी सफाइ अभियानमा कुनै स्वार्थ नजोडिएको स्पष्ट पार्दै संयोजक पौडेलले अभियानले राज्यका निकायलाई जवाफदेही बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । फोहोर मैला व्यवस्थापनमा नगरपालिका अन्तर्गत रहेको पोखरा फोहोर मैला व्यवस्थापन प्रालिले पूर्ण सहयोग गरेको स्पष्ट पादैै उनले सफा गरिसकेको क्षेत्रमा फेरि फोहोर गर्नेलाई कडा कार्वाही गर्न शिफारिस गर्ने बताए । उनले जसले जति टिकाटिप्पणी गरेपनि अभियानलाई पूर्ण रुपमा सफल बनाएरै छाड्ने प्रतिवद्धता जनाए । उनले भने–‘काम गर्दा टिकाटिप्पणी हुन्छन्, स्वभाविक हो । यसमा हामी कसैको स्वार्थ जोडिएको छैन । त्यसैले सबैको सहयोग र सहकार्यमा अभियान पूर्णरुपमा सफल हुन्छ ।’  पोखरामा रहेका संघ–संस्थालाई आफ्नो विशेष कार्यक्रम तथा बार्षिकोत्सव गर्न परे अभियान संचालन भइरहेको ठाउँमै आएर गर्न संयोजक पौडेलले आग्रह गरे । फिर्केखोला वरिपरी घना बस्तीको कारण प्रदुषित बन्दै आएको र यसले फेवातालको सौन्दर्यतालाई समेत चुनौती दिएपछि पोखरेलीले महसूस गरेपछि नागरिक समाजको अगुवाइमा  स्वतस्फूर्त अभियान सञ्चालन भएको हो। पोखरा उप–महानगरपालिका, क्षेत्रीय खानेपानी तथा अनुगमन सुपरीवेक्षण कार्यालय पोखराको समन्वयमा पोखरा स्थित सबै सरकारी तथा गैरसरकारी निकायका नागरिकहरु समेतको बृहत् अभियान आगामी १० हप्तासम्म सञ्चालन हुने संयोजक रामबहादुर पौडेलले बताए ।





Post a Comment

 
Top