0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशन बाट जयलाल पुन अध्यक्षमा पुनः निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतदानबाट उनले अध्यक्ष पदका अर्का उम्मेदवार नारायण गुरुङलाई पराजित गरि विजयी भएका हुन् । शुक्रबार हुने भनिएको निर्वाचन समय अभावका कारण शनिबारका लागि तय गरिएको थियो । २५७ मतदाता रहेको राप्रपा कास्कीमा २०० मत खसेको थियो । जसमा पुनले ९९ मत प्राप्त गरि विजयी भए भने गुरुङले ८३ मतमात्र प्राप्त गरे । मतदानमा १८ मत बदर भएको बताइन्छ । अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको भएपनि अन्तिम समयमा पुन र गुरुङबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवकुमार बाँस्तोला, अर्जुन बस्नेत र भोलाजंग सुवेदीले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन बस्नेतले उपाध्यक्ष पाउने जयलाल पुनको मौखिक प्रतिवद्धतापछि जयलाल पुनलाई समर्थन गर्दैै उम्मेदवारी फिर्ता लिएको बताइन्छ । जयलाल पुन र नारायण गुरुङबीच सहमति हुन नसकेपछि मतदान भएको थियो । यस्तै जिल्ला सदस्य पदमा ४७ जनाले उम्मेदवारी दिएकोमा ४३ जना सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा निर्वाचित पुनको यो दोस्रो कार्यकाल हो । उनी पार्टीको दोस्रो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएका थिए । उनी राप्रपा नेपाल कास्कीको संस्थापक उपाध्यक्ष समेत हुन् । अध्यक्ष पुनः तत्कालिन भूमिगत माले, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी
(राप्रपा) हुँदै राप्रपा विभाजन पछि कमल थापा नेतृत्वको राप्रपा नेपालमा लागेका थिए । २०१४ सालमा म्याग्दीमा जन्मिएका पुनः हाल पोखरा–१० निवासी हुन् । उनले शिव चौतारी म्याग्दी समाज पोखराका अध्यक्ष, पुनः समाजका केन्द्रीय संगठन विभाग प्रमुख, उत्तममार्ग टोल विकास संस्थाका उपाध्यक्षका साथै सहारा क्लव पोखराका संस्थापक सल्लाहकार सभापति भएर काम गरेका थिए । अध्यक्षमा निर्वाचित भएपछि गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै पुनले आफ्नो कार्यकालमा राप्रपा नेपाललाई कांग्रेस एमाले सरहको पार्टी बनाउने उद्घोष गरे । उनले भने–‘राप्रपा नेपाल अब सशक्त रुपमा अघि बढ्छ । केही वर्षमै कांग्रेस–एमालेलाई टक्कर दिने पार्टीको रुपमा स्थापित हुन्छ । उनले पार्टीको केन्द्रीय नीति तथा कार्यक्रमलाई कास्कीमा सशक्त रुपमा अघि बढाइने स्पष्ट पारे । ‘राप्रपा नेपाल जनताको लोकप्रिय पार्टी हो । त्यसैले केन्द्रीय समितिले अघि सारेका पहिचान सहितको सनातन हिन्दू राष्ट्र नेपाल लगायतका मुद्धालाई सशक्त ढङ्गले अघि बढाउछौं’–उनले भने । ९४ प्रतिशत हिन्दूहरु र ओमकार परिवारको भावनामाथि माओवादी, कांग्रेस, एमाले लगायतलका राजनीतिक दलहरुले खेलवाड गरेको अध्यक्ष पुनले आरोप लगाए ।









Post a Comment

 
Top