0
गोल्डेन न्यूज संवाददाता
असार १५ अर्थात १३औं राष्ट्रिय धान दिवस । असार १५लाई २०६१ सालदेखि नै सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । असार १५ लाई नेपालीले मानो रोपेर मूरी उब्जाउने दिनको रुपमा मान्दै आएका छन् ।  असार १५ मा दही र च्युरा खाने प्रचलन पनि छ । राष्ट्रिय धान दिवस अर्थात असार १५ बुधबार पोखराका विभिन्न स्थानमा रोपाइँ महोत्सव आयोजना गरि मनाइएको छ । पोखराको महतगौंडा, काहुँखाला र पोखरा–१५ टुडुङ्गामा रोपाइँ महोत्सव आयोजना भयो । महतगौंडामा पोखरा पर्यटन परिषद्, काहुँखोलामा नागेश्वर कृषि सहकारी संस्था र टुडुङ्गामा चेतना महिला कृषक समूहले महोत्सव आयोजना गरेका हुन् । पोखरा पर्यटन परिषद्ले महतगौंडामा आयोजना गरेको महोत्सवमा टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको रौनक छुट्टै प्रकारको थियो । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकलाई दही, चिउरा, धानको वीऊको मालाले स्वागत गर्न पोखरा –१७ महतगौडा बासी ब्यस्त थिए । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए । विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटकको संख्या धेरै थियो । असारे रोपाई महोत्सवको हिलो खेल्ने विभिन्न देशका पर्यटकलाई तछाड्–मछाड् थियो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित १३ असारे महोत्सवमा स्वदेशीदेखि विदेशीहरुका लागि आयोजना भएको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकि ? भन्ने चिन्ताले यस्ता महोत्सवले संस्कृतिको जगेर्नाका लागि सरकारले पनि ध्यान दिनु पर्ने आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले बताए । यसैगरी पोखराको वडा नं १५ टुटुंगास्थित चेतना महिला कृषक समूहले पहिलो पटक आयोजना गरेको महोत्सवको पनि छुट्टै रौनक थियो । महोत्सवमा आयोजित रोपाइँ प्रतियोगितामा ढुंगेसाँघु आमा समूह प्रथम भएको छ । यस्तै ठाँटीपाटन आमा समूहले द्वितीय र विश्वकर्मा आमा समूह तृतीय हुन सफल भए । यसैगरी हिलोमा डोरी तान्ने प्रतियोगितामा .पनि ढुंगेसाँघु आमा समूह नै प्रथम, अलकापुर आमा समूह द्वितीय र फूलबारी आमा समूह तृतीय हुन सफल भयो । महोत्सवमा आयोजित असारे भाका गायन प्रतियोगितामा अलापूर आमा समूह प्रथम, ढुंगेसाँघु आमा समूह द्वितीय र आदर्श आमा समूह तृतीय भए् । विजेताहरुलाई क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख बागबानी अधिकृत मदनकुमार श्रेष्ठ, अधिकृत नीलकण्ठ कोईराला, कार्यक्रमका अध्यक्ष एवं चेतना महिला कृषक समूहका अध्यक्ष मायाँ भण्डारीले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार कमल पौडेल अथक र जीवन सुवेदीलाई सम्मान गरिएको थियो । महोत्सवमा दिनभर हलो जोत्ने बलराम बानियाँ र झलक भूजेल, बाउसो खन्ने बद्री खतिवडा र किरण बानियाँका साथै रोपारहरु जयदेवी बानियाँ, सरस्वती भूजेल, देवका भूजेल र विष्णु बानियाँलाई पनि नगद र कदरपत्र सहित सम्मान गरिएको थियो ।  कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद कोईरालाले व्यवसायिक कृषि खेतिको विकास र विस्तारमा लाग्न कास्कीका कृषकहरुलाई आग्रह गरेका थिए । संस्थाका अध्यक्ष माया भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा  सदस्य विना भूजेलले पनि बोलेकी थिइन ।
 
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेलले नेपालको आर्थिक समृद्धिका लागि कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्द्वारा बुधबार पोखरामा आयोजित १३औँ रोपाइँ महोत्सवको उद्घाटन गर्दै उनले कृषि र पर्यटन एक आपसमा अन्तरसम्बन्धित भएकाले कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने बताए । आगामी १० वर्षभित्र कृषिमा पूर्णरुपमा आत्मनिर्भर बन्ने सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले परम्परागत कृषि प्रणाली बाट माथि उठेर व्यावसायिक कृषिलाई प्राथमिकता दिनुपर्ने बताए । नेपाली काँग्रेसकी नेत्री एवम् सांसद शारदा पौडेलले पर्यटन नेपालको आर्थिक समृद्धि र विकासको महत्वपूर्ण माध्यम हुने भएकोले यसमा राज्यको उच्च प्राथमिकता पर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता गङ्गा पोखरेलले कृषिमा विद्यमान परनिर्भरता हटाउन व्यवसायिक कृषिमा जोड दिनु आवश्यक भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले युवा वर्गमा बढिरहेको कृषिप्रतिको अनिच्छालाई न्युनीकरण गराउँदै परम्परागत कृषिको महत्वबारे बोध गराउन महोत्सव आयोजना गरिएको बताए । उक्त अवसरमा उत्कृष्ट कृषकहरू तरकारी तथा फलफूलतर्फ रामजी पौडेल, खाद्यान्न बालीतर्फ पितृराज मरासिनी, पशुपालनतर्फ टीकाराम बराललाई सम्मान गरिएको थियो । महोत्सवका अवसरमा हिले दौड लगायतका विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । यसैबीच राष्ट्रिय धान दिवसको अवसर पारी सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई पुरस्कृत गरेको छ । कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले सर्वोत्कृष्ट एक जनालाई २ लाख र अरु चारजनालाई एक लाखका दरले पुरस्कृत गरेको हो । पहिलो हुने इमानबहादुर गुरुङ भैंसीपालक कृषक हुन् । अन्य पुरस्कृत कृषकहरु एकीकृत कृषि, मौरीपालन, खाद्यान्न विउ उत्पादन र केरा खेतीमा संलग्न छन् । सरकारले ५ वटा विकास क्षेत्रबाट एक÷एक जनालाई पुरस्कृत गरेको हो । कास्की लाहाचोक–७ का इमानबहादुर गुरुङ सर्वोत्कृष्ट किसानको रुपमा पुरस्कृत भएका छन् । लाहाचोक गाविसमा उनले १ सय ९० रोपनी जग्गा भाडामा लिएर भैसी पालन व्यवसाय गर्दै आएका छन् । उनको भैंसी फार्मबाट दैनिक कम्तिमा ३ सय ५० लिटरदेखि ८ सय लिटरसम्म दूध उत्पादन हुनेगर्छ । उक्त व्यवसायबाट गुरुङले ३७ जनालाई रोजगारी दिएका छन् । उनले भैंसी व्यवसायबाट वार्षिक एक करोडभन्दा बढी आम्दानी गर्ने गरेको कृषि मन्त्रालयले जनाएको छ ।



Post a Comment

 
Top