0
गोल्डेन न्यूज संवाददाता
विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरुको आन्दोलनको केन्द्रको रुपमा परिचित पोखरा विश्व विद्यालयमा फेरि आन्दोलन शुरु भएको छ । पुनःपरीक्षामा लिईने शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुको आह्वानमा पोखरा विश्वविद्यालयमा आन्दोलन सुरु भएको हो।  यसअघिका वर्षहरुमा पुनःपरीक्षामा शुल्क लिईने गरिएको थिएन । विश्वविद्यालय यसवर्ष तीन सय रुपैयाँ शुल्क लिएर परीक्षा फारम भर्न सूचना निकालेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । निःशुल्क फारम भर्न पाउनुपर्ने भन्दै विद्यार्थीहरुले मंगलबार विहान नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । कुनैपनि विद्यार्थी संगठनको संलग्नता बिनानै स्वतन्त्र रुपमा विद्यार्थीले आन्दोलन गरेको बिद्यार्थी प्रमिला पौडेलको भनाई छ । तर विद्यार्थीहरुको आन्दोलनको तुक नभएको भन्दै विश्वविद्यालयले विद्यार्थिको आन्दोलनलाई खासै ठूलो विषय नभएको बताएको छ । विश्वविद्यालयले विद्यार्थिले भनेको ३ सय रुपैयाँ तिर्नुको विकल्प नभएको भन्दै आन्दोलन लाई मिलाएर अगाडि बढ्ने विश्वविद्यालयका परिक्षा नियन्त्रक डा. भरतराम ढङ्गानाले जानकारी दिए । यसैबीच विश्वविद्यालयमा आन्दोलित विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेपछि विद्यार्थीहरु थप आक्रोशित बनेका थिए । शान्तिपूर्ण आन्दोलनमा पोखरा विश्वविद्यालय का डिनको निर्देशनमा प्रहरीले जथाभावी लाठीचार्ज गरेको विद्यार्थीको आरोप छ । प्रहरीले लाठी, लात्ति र मुड्की प्रहार गर्नुका साथै छात्राहरुमाथि पुरुष प्रहरीले हातपात गरेको विद्यार्थीहरुको आरोप छ । प्रहरीले ज्यादति गरेको भन्दै विद्यार्थीले आन्दोलन थप सशक्त बनाउने बताएका छन् । प्रहरी दुव्र्यवहारविरुद्ध विभिन्न ४ विद्यार्थी संगठनले समेत आपत्ति जनाएका छन् । विद्यार्थी आन्दोलित भएपछि पोखरा विश्वविद्यालयले लिने विविए दोश्रो सेमेष्टर र विविएडिआई दोश्रो सेमेष्टरको परीक्षा स्थगित भएको छ । परीक्षार्थीले आन्दोलनलाई समर्थन गर्दै नाराबाजी गर्न थालेपछि विश्वविद्यालयले सूचना निकाले परीक्षा स्थगित गरेको हो ।







Post a Comment

 
Top