0
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले अन्तिम समयमा आएर अष्ट्रेलियाको साताब्यापी भ्रमण रद्द गरे । आफ्नो पार्टीको भातृ संगठनको अधिवेशनमा आउन लागेका उनको भ्रमण अचानक अन्तिम क्षणमा आएर रद्द भएको थियो । यहाँका केही नेपालीहरुले उनको बारेमा पठाएको इमेलका कारण वा पार्टीगत कामका कारण नेपालका पूर्वप्रधानमन्त्री भइसकेका दाहालको अष्ट्रेलिया भ्रमण रद्द भयो त्यो अहिले आएर महत्वपूर्ण रहेन, तरपनि उनले जुन निर्णय गरे त्यो अहिलेको अवस्थामा सही र बुद्धिमानी निर्णय भएको ठहर यहाँका नेपालीहरुको छ । दाहाललाई १२ बर्षसम्म जनयुद्ध गरेको नेकपा माओवादीको अध्यक्ष भन्दा पनि पूर्वप्रधानमन्त्री र वर्तमान सरकार सञ्चालनका लागि बनाएको उच्चस्तरीय समितिको संयोजककारुपमा स्वागत गर्नुपर्ने धारणामा यहाँका अधिकांश नेपालीहरु थिए । उनको स्वागत लगायतका अन्य सबै कार्यक्रमहरु तय भइसकेका थिए भने यहाँका एमाले, कांग्रेस लगायतका राजनीतिक दलका समर्थकहरु पनि एकजुट भएका थिए । तर दाहालले आफ्नो उडानको केही घण्टाअघि मात्र आफ्नो भ्रमण रद्द गरेको समाचार सार्वजनिक भयो । आखिर समयमै भएपनि दाहालले आफ्नो भ्रमण रद्द गर्नुलाई बुद्धिमानी निर्णय भएको मान्न सकिने आधारहरु धेरै छन् । एकातिर पूर्वप्रधानमन्त्रीले राजनीतिक भ्रमणभन्दा पनि कुटनीतिक भ्रमण गर्नुपर्ने अर्काेतिर यहाँका नेपालीको सानो समुदायपनि उनको भ्रमणप्रति त्यति सकारात्मक नभएको अवस्था थियो । माओवादीले जनयुद्ध गर्दा त्यसको पीडा भोगका नेपालीहरुले वास्तवमा दाहालको अष्ट्रेलिया भ्रमणलाई त्यति उत्साहजनक र स्वागतयोग्य लिएका थिएनन् । अर्काेतिर त्यहाँको एनआरएनमै समेत दाहालको भ्रमणलाई लिएर विवाद भएको थियो । दाहालसँग एनआरएनले अन्तर्किया र डिनरको आयोजना गर्ने तयारी गरिरहेको थियो तर उक्त कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै केही सदस्यहरुले अनौपचारिक रुपमा राजीनामाको चुनौती समेत दिएका थिए । जसमध्ये केही दाहालको विगतलाई नै कारकका रुपमा लिइरहेका थिए भने एनआरएनभित्रै पनि विगतलाई भुलेर वर्तमानलाई आत्मसात गर्नुपर्ने धारणा अन्य एनआरएनका सदस्यहरुको थियो । दाहालले अष्ट्रेलियाको भ्रमण गरेका भए पनि उनको भ्रमण विवादित हुने पक्कापक्की थियो । एकातिर उनी आउनुअघि नै आएका बिभिन्न असन्तुष्टिहरु छँदैथिए त्यसमा पनि त्यहाँ आयोजना गरिने अन्तरक्रिया कार्यक्रममा वर्तमान देश र राजनीतिको भन्दापनि सशस्त्र द्वन्द्वताकाकै प्रश्नहरु उठ्ने थिए । प्रकोप ब्यवस्थापन र पत्रकारितामा क्युन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट विद्यावारिधी गरेका डा. भरतराज पौडेलको भनाइ मान्ने हो भने त अब द्वन्द्वताका प्रत्यक्ष सहभागी भएकाहरुले विदेश भ्रमण गर्दा यस्ता किसिमका प्रश्नहरुको धेरै सामना गर्नुपर्ने हुनसक्छ । किनभने द्वन्द्वको प्रत्यक्ष मारमा परेका धेरै नेपालीहरु विदेशमा रहेकाले उनीहरुले आफूले भोगेको पीडा ब्यक्त गर्न सक्छन् र त्यतिबेलाको द्वन्द्वमा सहभागी भएकाहरुसँग प्रश्न गर्नु र उठाउनु कुनै आश्चर्यको कुरा पनि नहुन सक्छ । अहिलेसम्म दाहालको भ्रमण रद्द हुनुमा पार्टी निकटहरुले कार्यव्यस्तता देखाएका छन् । सतहीरुपमा यही तर्क ठीकै लागे पनि भ्रमण नै स्थगित गर्नुपर्ने राजनीतिक व्यस्तता अहिले छैन । यता न्यूसाउथ वेल्स राज्यको प्रिमियरलाई लेखिएको चिठी र यसको उत्तर सार्वजनिक हुनु र यहाँका राजनीतिक दल लगायतलाई पत्र लेखेर उनको बारेमा उजुरी दिनुले मात्रै दाहालको भ्रमण स्थगित भएको नमान्ने नेपालीहरुको बाहुल्यता प्रशस्त छ । किन पनि भने अष्ट्रेलिया सरकारलाई कसैले केही पत्र पठाउँछ भने त्यसको रेष्पोन्स दिने प्रचलन पहिलेदेखिकै हो । जसलाई त्यस्तो ठूलो बिषय बनाएर हेर्नुपर्ने आवश्यक नभएको दाबी गर्ने धेरै छन् । अर्काेतिर अष्ट्रेलियाले भिषा दिनुभन्दा पहिल्यै आवेदकको सबै विवरणहरु चेकजाँच गरेर निर्णय दिने भएकाले उनलाई अष्ट्रेलिया आगमनमा कुनै कठिनाई हुन्थ्यो भन्नेमा विश्वास गर्न सक्ने आधार पनि छैन् । फेरि पूर्वप्रधानमन्त्री र मुख्य राजनीतिक दलका नेता भएको नाताले समेत अष्ट्रेलियामा दाहाललाई यात्रामा कुनै कठिनाई आउन सक्थ्यो भन्नेमा जानकारहरु नै विश्वास गर्दैनन् ।
हुन त यस पहिले माओवादी नेताका हैसियतमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त्यहाँको भ्रमण नगरेका हैनन् । उनको भ्रमणताका समेत यस्तै विवादका स्वरहरु सुनिएपनि अहिले भएजस्तो ठुलो विवाद भएको थिएन् । एक साताको भ्रमणमा आउन लागेका दाहालले भने यहाँ आयोजना हुने कार्यक्रमहरुमा विरोधका स्वरहरु सुनिनुपर्ने हुनसक्थ्यो । दाहालले अहिले रद्द गरेको भ्रमणले ती विरोधका सम्भावनाहरु टारिदिएका छन् । त्यहाँका प्राय नेपालीहरुले उठाएको एउटा प्रश्न के हो भने पूर्वप्रधानमन्त्री भ्रमणमा आउँदा कुनै दलको नेता नभएर पूर्वप्रधानमन्त्रीकै हैसियतमा आउन सक्नुपथ्र्याे । लामो समयको गृहकार्य गरेर र कुटनीतिक तयारी गरेर उच्चस्तरीय भेटघाट गर्ने तयारीमा आउन सक्नुपथ्र्याे । क्यानबेरामा रहेको दुतावासले निर्वाचनको समय परेकाले कुनै कुटनीतिक भेटघाट हुन नसक्ने बताइसकेको अवस्थामा उनी भ्रमणमा आएको भए पनि उनको भ्रमण राजनीतिक वा पारिवारिक मात्र हुन जान्थ्यो । अन्तिम समयमै आएर भएपनि दाहालले उक्त वातावरण सृजना हुन दिएनन् । ६ दशकभन्दा लामो समयदेखि दौत्य सम्बन्ध कायम भएको अष्ट्रेलियासँग नेपालले बर्षेनी केही सहयोग लिनेदेखि बाहेक पनि धेरै कुरा गर्न सक्छ । विगत लामो समयदेखि दुई देशबीचमा औपचारिक रुपमा कुटनीतिक भ्रमण हुन नसकिरहेको अवस्थामा पूर्ण तयारीका साथ भ्रमण गर्न सकियो भने यसले पक्कै पनि यहाँ रहेका नेपाली समुदाय र समग्र नेपाललाई फाइदा त गर्छ नै दुई देशबिचको सम्बन्ध अझ सुमधुर र दरिलो बनाउन पनि उत्तिकै मद्दत पुग्छ। किनकी विगतको इतिहास हेर्ने हो भने पनि नेपालबाट आएका राजनीतिक दलका नेताहरुको अष्ट्रेलिया भ्रमण कुटनीतिक र औपचारिक भएको देखिएको छैन् ।




Post a Comment

 
Top