0
गोल्डेन न्यूज संवाददाता
सूचना प्रविधि विभागको सहयोग एवम् हाई वन होप सामूदायिक पुस्तकालय, भरतपोखरीको संयोजनमा लेखनाथ नगरपालिका वडा नं १८ बर पाण्डेथुममा हाई वन होप ई–भिलेज केन्द्र आइतबारदेखि सञ्चालनमा आएको छ । सूचना प्रविधिको पहुँचबाट टाढा रहेका ग्रामिण वस्तीमा नविनतम प्रविधिको अधिकतम उपयोग गराउँदै त्यहाँको कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रको विकास एवम् विस्तारलाई थप सहज एवम् सरल बनाउन केन्द्रको स्थापना गरिएको हो ।
केन्द्रका अध्यक्ष केशबराज लम्सालका अनुसार ग्रामिण भेगका धेरै सम्भावनाहरू सूचना प्रविधिको उपयोग हुन नसक्दा ओझेलमा परेका कारण तिनीहरूलाई उजागर गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो । सूचना प्रविधिका क्षेत्रमा अत्याधिक विकास भैरहे पनि ग्रामिण क्षेत्र अझै त्यसको पहुँचमा पुग्न नसकेको उनले बताए । केन्द्रको उद्घाटन गर्दै सूचना प्रविधि विभागका निर्देशक रमेश सुवेदीले प्रविधिको उपयोग गर्ने सम्बन्धमा शहर गाउँबीच विद्यमान खाडलललाई चिर्नका लागि केन्द्र बहुउपयोगी हुने विश्वास व्यक्त गरे। केन्द्र स्थापनासँगै ग्रामिण भेगका सर्वसाधारणले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन आदि क्षेत्रमा भैरहेका प्रगति तथा आवश्यक जानकारी सूचना प्रविधिको उपयोगका माध्यमबाट पाउन सक्ने उनले बताए । नयाँ शक्ति नेपाल कास्कीका संयोजक हेमबहादुर थापाले सूचना प्रविधिको पहुँचबाट टाढा रहेको समाजलाई त्यसको पहुँच अभिबृद्धि गर्न केन्द्र धेरै उपयोगी हुने बताए । बर पाण्डेथुम सामूदायिक अध्ययन केन्द्रका उपाध्यक्ष चेतबहादुर महतले केन्द्रका माध्यमबाट अनलाईन, वेवसाइड आदिको प्रयोग गरी कृषि, स्वास्थ्य लगायतका हर क्षेत्रमा भैरहेका विकास तथा भित्रिएका नविनतम प्रविधि आदिमा जानकारी लिएर सर्वसाधारण लाभान्वित हुन सक्ने बताए । कार्यक्रममा वासुदेव पौडेल, विष्णुप्रसाद आचार्य, वसन्तराज लम्साल, सदनकुमार महत, चन्द्रकान्त आचार्य लगायतले सूचना प्रविधिको बढीरहेको विकास एवम् विस्तारलाई आत्मसात गरी अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।







Post a Comment

 
Top