0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं २६ सराङकोट र २४ कृष्तीका दलित तथा सकुम्बासी महिलाहरुको जीविकोपार्जन बिकास गर्नका लागि मुडा बनाउने तालिम सम्पन्न गरिएको छ । सिद्धार्र्थ क्लब पोखराको आयोजनामा गरिएको कार्यक्रममा छलफल केन्द्र र भूमि अधिकार मञ्चमा आबद्ध २३ जना दलित सकुम्बासी तथा बिपन्न महिलाहरुको सहभागिता रहेको छ । तालिमको समापन समारोहमा बोल्दै क्बलका अध्यक्ष अनिल श्रेष्ठले तालिमले विपन्न महिलाहरुको आर्थिक उत्थान गरी अत्मनिर्भर हुन सहयोग गर्ने आशा व्यक्त गर्दै क्लबले महिलाहरुलाई मुडा बनाउने तालिम मात्रै नदिएर सुपथ मूल्यमा कच्चा पदार्थ उपलब्ध गराउने साथै महिलाहरुले मुडाको उत्पादन गरिसके पछि संस्थाले संकलन केन्द्र स्थापना तथा बिक्रीका लागि बिक्री कक्षा स्थापनाको योजना सहित अगाडि बढ्ने लक्ष्य रहेको बताए । क्लबका प्रथम उपाध्यक्ष रवि मर्सानीले स्थानीय स्तरमा उपलब्ध घरेलु सामग्रीहरुको प्रयोग गरी मुडा उत्पादन गर्न सकिने जानकारी गराउँदै तालिम पश्चात सहभागीहरुले सिकेको सिपको सदुपयोग गर्दै, सिपलाई निर्खादै प्रशिक्षकसम्म भएको हेर्न चाहेको बताए । उनले संख्यात्मक र गुणस्तरीय उत्पादन गरेमात्र उत्पादनको बजारीकरण सहज हुने भन्दै शिपमार्फत आत्मनिर्भर हुनु पर्नेमा जोड दिए। क्लबका सचिब तीर्थ श्रेष्ठले महिलाहरुको आफ्नै कमाई नभएसम्म अधिकारका कुरा जानेर मात्रै महिलाहरुको बिकास नहुने भएकाले आयआर्जन र क्षमता विकासका लागि तालिम आयोजना गरिएको बताए । पो.उ.म.न.पा २६ सराङकोटका वडा सचिव रुद्रप्रसाद बास्ताकोटीले पिछडिएका महिला वर्गहरुलाई लक्षित गरि तालिम आयोजना गरिएकोमा खुशी प्रकट गर्दै सिकेको शिपलाई जिवन्त राखी आफ्नो स्तर वृद्धि गर्नुपर्ने बताए । यसैगरी राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष आश बहादुर गुरुङ्गले क्लबले दिएको अवसरको सदुपयोग गर्दै सिपलाई तालिममा मात्र सीमित नराख्न आग्रह गरे । तालिमको सहजिकरण प्रगतिशिल सुकना महिला समूहका अध्यक्ष दलसरी राजबशीं र बिष्णु राईले गरेका थिए । सहभागिहरुको तर्फबाट बोल्दै रेखा परियार र सिता सुबेदीले तालिममा सिकेको शिप मार्फत व्यवसाय सुरु गरि आर्थिक उन्नति गरी आत्मनिर्भरतर्फ लम्कने प्रतिवद्धता जनाए । स्थानीय टोल विकास संस्था, वडा कार्यालयहरुको समन्वयमा सञ्चालित तालिम छुट्टा–छुट्टै रुपमा पोखरा–२६ सराङकोट र पोखरा २४ कृष्ति कमेरेमा सञ्चालन भएको थियो । कार्यसमिति सदस्य मनरुपा श्रेष्ठको संयोजकत्वमा संचालन भएको तालिमका प्रशिक्षकहरुका साथै उत्कृष्ट सहभागीको रुपमा कृष्तीकी अन्जु श्रेष्ठ र सराङकोट बाट मनिषा तामाङलाई  मायाको चिनो प्रदान गरिएको थियो ।





Post a Comment

 
Top