0
विदेशको विषयमा राम्रोसंग नबुझी जाने नेपाली युवाले विदेशमा कष्टप्रद जीवनयापन गरेका घटनाहरु दिनानु दिन बढ्दै गएका छन् । म्यानपावरहरुको आर्कषक कुरामा भर पर्दा विशेष गरी खाडी मुलुकमा नेपाली युवाले समस्या झेल्नु परेको छ । सरकारले वैदेशिक रोजगारका विषयमा विभिन्न सञ्चारमाध्यमद्वारा सचेत गराएपनि युवाहरुले बेवास्ता गर्दा विदेशमा समस्या भोग्नु परेको अवस्था छ । सयौं नेपाली युवाले खाडी देशमा कतै तलब नपाएको अवस्था छभने कतिपय युवा अपाङ्ग भएर स्वदेश फर्कनु पर्ने अवस्था रहेको छ । विदेशमा भएका नागरिकको विषयमा नेपाल सरकारले गंभीर नहुँदा विशेष गरी महिलाले समस्या भोग्न बाध्य छन् । विदेशमा सबथोक छ भन्ने मानसिकताका कारण अझैपनि नेपाली युवाहरु विदेशिने गरेका छन् । विदेशमा दुःख भोगर स्वदेश फर्किएकाहरुले स्वदेशमै राम्रो आम्दानी गरेको देख्दा देख्दै पनि विदेश पलायन हुने क्रम रोकिएको छैन । युद्वग्रस्त देश इराकमा नेपाल सरकारले रोजगारको लागि स्वीकृत नदिएपनि दलालहरुले त्यहाँ पठाउने गरेका छन् । दलालकै भर पर्दा नेपालीहरुको ज्यान समेत गएको थियो । युद्वग्रस्त देशमा अझैपनि दलालहरुले नेपाली युवाहरु पठाउने गरेका छन् । यस्ता म्यानपावर कम्पनीलाई नेपाल सरकारले कार्वाही गर्न नसक्दा इराक र अफ्गानस्तानमा युवाहरु गैरकानुनी रुपमा गईरहेका छन् । गत साता मात्रै काबुल आक्रमणमा नेपालीहरुको ज्यान गएको छ । आक्रमणमा परि १२ नेपाली अनाहकमा परे । काबुलमा मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जनाको मृत्यु भएको हो । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । अफगानिस्तानमा बसोबास गर्ने नेपालीहरुको सुरक्षा व्यवस्था मिलाउन र घाइतेको उपचारका लागि नेपाल सरकारले तत्काल पहल गर्नुपर्छ । तालिवानद्वारा गरिएको उक्त आतंककारी घटना निन्दनीय छ । सरकारले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा व्यवस्था मिलाउन आवश्यक छ । स्वदेशमा रोगजार छैन भन्दै विश्वका अधिकांश देशमा नेपाली नागरिक रहेका छन् । उनीहरुको सुरक्षा गर्नु नेपाल सरकारको दायित्व हो । वैदेशिक रोजगार कम्पनीहरुले अवैधानिक रुपमा श्रम सम्झौता नभएका युद्वग्रस्त देशमा नेपाली युवाहरुलाई पठाईरहेका छन् । यस्ता अवैधानिक काम गर्ने म्यानपावर कम्पनीलाई जबसम्म सरकारले कार्वाही गर्न सक्दैन तबसम्म नेपाली युवाहरु असुरक्षित हुन्छन् । अझ खाडी मुलुकमा नेपाली नागरिकको सुरक्षा अवस्था दयनिय रहेको छ । विदेशमा रहेका दुतावासहरु कमजोर हुँदा पनि नेपाली नागरिकले तलब नपाउनेदेखि लिएर त्यहाँका मालिकहरुको दासी बन्नु पर्ने कहालीलाग्दो अवस्था छ । सरकारले विदेश रहेका नागरिकलाई सुरक्षित राख्नको लागि परराष्ट्र नीतिलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न जरुरी छ । नेपाली नागरिकको सुरक्षा ग्यारेन्टी गर्नको लागि आफ्ना दुतावासलाई प्रभावकारी काम गर्नको लागि निर्देशन समेत दिन जरुरी छ । यसो हुन सकेमात्र विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा होला अन्यथा यस्ता घटना बार–बार घटिरहन्छन् । त्यसैले नेपाल सरकार तथा सरोकारवाला निकायले बेलैमा यसतर्फ ध्यान पु¥याउन जरुरी छ ।

Post a Comment

 
Top