0
गोल्डेन न्यूज संवाददाता
सरकार र प्रमुख प्रतिपक्षी दलबीच सदनको गतिरोध अन्त्य गर्न सहमति हुन नसकेपछि मंगलबारको संसद बैठक सूचना टाँसेर स्थगित भएको छ। भूकम्पपीडितको आवास निर्माणका लागि एकमुष्ट २ लाख रूपैयाँ अनुदान उपलब्ध गराउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको माग सरकारले पुरा गर्न नसकेपछि सभामुख ओनसरी घर्तिमगरले मंगलबार अपरान्ह ५ः३० बजे तय गरिएको बैठक बुधबार ११ बजेका लागि सरेको सूचना मार्फत जानकारी गराएकी छन्। एमाले सांसद गंगालाल तुलाधरका अनुसार प्रमुख दलका शीर्ष नेता र कार्यदलले सहमति कायम गर्न नसकेपछि आजको बैठक सभामुखले सूचना प्रकाशित गरी स्थगित गर्ने निर्णय भएको छ। संसदको गतिरोध अन्त्य लागि सरकार र कांग्रेसले सोमबार एक कार्यदल गठन गरी सहमतिको उपाय खोज्न भनेका थिए। मंगलबार बिहान र अपरान्ह दुई पटक बसेको कार्यदलको बैठकमा सत्तापक्ष खासगरी एमाले र कांग्रेसका प्रतिनिधिहरुले आफ्नो अडान छाड्न तयार भएनन्। त्यसपछि समस्या समाधानको उपाय खोज्न कार्यदलले शीर्ष नेतृत्वलाई नै दिएको कार्यदलका सदस्य एवंम् कांग्रेस नेता प्रकाशशरण महतले बताए। ‘कार्यदलमा हामीले आफ्नो माग अनुसार पीडितका लागि एकमुष्ट अनुदान उपलब्ध गराउन गरेका माग पुरा गर्न सत्तापक्षका साथीहरु सहमत नभएपछि यसमा सत्तापक्षको धारणा स्पष्ट ल्याउन भनेका छांै,’ महतले भने। त्यसपछि त्यसपछि अपरान्ह नयाँ वानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरेका थिए। तर उक्त छलफलमा कांग्रेसले माग गरे अनुसार एकमुष्ट अनुदान रकम उपलब्ध गराउन अघिल्लो सरकारले तय गरेको कार्य्विधि र विश्व बैक र दातृ निकायसगको सम्झौता अनुसार नमिल्ने भनि माग पुरा गर्न सहमत हुन नसक्ने निश्कर्ष निकालेको थियो। सत्तारुढ दल राप्रपा नेपालका नेता दिलनाथ गिरीले कार्यविधि र पुरानो सहमतिका आधारमा कांग्रेसको माग पुरा गर्न नसकिने सरकारको बाध्यता कांग्रेसले बुझ्नु पर्ने बताए। कांग्रेसको माग अनुसार रकम उपलब्ध गराउनु पूर्व दातृ निकायसँग पुनः परामर्श र निर्णय गर्दा राहत अनुदानमा थप ढिलाइ हुने कुरा विपक्षीले बुझ्नु पर्ने गिरीले बताए। तर यही माग लिएर विगत ४ दिनदेखि संसदको बैठक अबरोध गर्दै आएको कांग्रेसले भने आफ्नो माग पुरा नभएसम्म सदन चल्न नसक्ने अडान दाहो¥याउँदै आएको छ। जसको कारण पुनःनिर्माण प्राधिकरणको कामकारबाहीबारे सदनमा जानकारी गराउने भन्दै संसदमा बोल्न समय माग गरेको प्रधानमन्त्रीले सम्बोधन गर्न सकिरहेका छैनन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावितको पीडामाथि बेइमान र थोत्रो राजनीति नगर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग आग्रह गरेका छन्। भूकम्प प्रभावितलाई घर बनाउनका लागि एकमुष्ट २ लाख रुपैयाँ अनुदान दिनुपर्ने माग अगाडि सारेर काँग्रेसले व्यवस्थापिका संसद्को बैठक चल्न नदिइरहेका बेला प्रधानमन्त्री ओलीले काँग्रेसमाथि जनताको पीडामाथि नागपासजस्तो फोहोरी खेल खेलेको आरोप लगाए। मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सत्ताको नेतृत्वमा रहेका बेला जनताले पाएको पीडालाई उपेक्षा गर्ने दलले अहिले तिनै जनताको नाममा थोत्रो र बेइमान राजनीति गरेको आरोप लगाए। उनले मुलुकसामु डेढ वर्ष्भित्र तीन वटा तहको निर्वाचन गरेर संक्रमणकाल टुंग्याउनुपर्ने चुनौति रहेका बेला सबैभन्दा ठूलो दललाई नागपासको खेल खेल्न नसुहाउने बताए। प्रधानमन्त्री ओलीले भूकम्पबाट भत्किएका ८ लाख घर र अन्य भौतिक संरचना क्षणका क्षण निर्माण गर्न नसकिने भन्दै घर बनाउनका लागि सबै प्रभावितहरु लाई एकमुष्ट अनुदान दिनुपर्ने कांग्रेसको माग अव्यवहारिक भएको बताए। उनले अघिल्लो सरकारले नै किस्ताबन्दीमा अनुदान दिने निर्णय गरे अनुसार राष्ट्रिय पुनर्निमाण प्राधिकरणले काम गरिरहेको भन्दै काँग्रेसले आफू नेतृत्वको सरकारले गरेको निर्णयलाई भुल्नु दुःखदायी भएको बताए। उनले प्रभावितहरुको लगत संकलन र अनुदान वितरणमा राजनीतिकरण गरेको भन्ने काँग्रेसको आरोपको प्रतिवाद गर्दै उल्टै काँग्रेसमाथि नै भूकम्पपीडितको पीडालाई राजनीतिकरणको विषय बनाएको आरोप लगाए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने एमाले र कांग्रेसबीच पछिल्लो समय बढेको चिसोपनाका बारेमा केही उल्लेख गरेनन्। उनले मदन भण्डारीले जनताको वहुदलीय जनवादमार्फत तथा माओवादीले जनयुद्धमार्फत क्रमभङ्ग गरेजस्तै मुलुकको राजनीतिमा एमाले र माओवादी मिलेर क्रमभङ्ग गर्नुपर्ने अवस्था आएको भन्दै त्यसका लागि तयार हुन एमालेसँग आग्रह गरे। मदन भण्डारी फाउण्डेशनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि कार्यक्रममा निम्ता गरेकामा उनी भने अनुपस्थित रहे।





Post a Comment

 
Top