0
गोल्डेन न्यूज संवाददाता
पोखरा २ जेठ ।
पोखरामा जारी बृहत महायोग साधना शिविर आइतबार सकिएको छ । वैशाख २९ गतेदेखि पाँच दिनसम्म संचालन भएको शिविरमा पोखरा आसपासका क्षेत्रबाट ठूलो संख्यामा साधकहरु सहभागी थिए । महायोग शिविरमा अष्ट महासुदर्शन क्रिया र त्रिभस्त्रिका गर्ने विधि सिकाइएको थियो । 
शिविरमा महायोगी सिद्धबाबा श्रीकृष्ण दासजी महाराजले प्रत्यक्ष अनुभूत हुनेगरि महायोग साधना गराएका थिए । सिद्धबाबाको सहयोगीको रुपमा गोविन्दबाबु तिवारीले साधकहरुलाई योग अभ्यास गराउनुका साथै महायोगी सिद्धबाबाले साधनाको अभ्यास गराएको कार्यक्रम संयोजक धर्मराज बराल ‘भोला’ ले गोल्डेन न्यूज दैनिकलाई बताए । 

नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा पोखरा, जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा शाखा र नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले संयुक्तरुपमा आयोजना गरेको शिविर हरेक दिन बिहान करिब ३ घण्टा चलेको थियो । बिहानको समयमा महायोग र साधना अर्थात शक्तिपात महादीक्षा र बेलुकाको करिब ३ घण्टाको समयमा सत्संग कार्यक्रम संचालन गरिएको थियो । साधना शिविरका क्रममा साधनामा बसेका अधिकांश साधकको शरीरमा विभिन्न गतिविधि देखिने गरेको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले बताए । जसमध्ये कतिपय साधकको शरीरमा कम्पन आउने, कतिपय रुने, कराउने, कतिपयले विभिन्न भाषा र शब्दावली उच्चारण गर्नुका साथै वेद पढ्ने शैलीमा विभिन्न अभिव्यक्ति दिने गरेका थिए । 

शिविरको अन्तिम दिन सद्गुरु कृष्णदासजी महाराजले आप्mनो मातृभूमिप्रतिको मायाले गर्दा भारतमा अरवौं रुपैयाँ बराबरको सम्पत्ति रहेको पीठमा पीठाधीश समेत त्यागेको बताए । भारतको विभिन्न स्थानका ७÷८ वटा आश्रममा आफ्नो नाम जोडिएको र ३५ हजार बढी विद्यार्थीलाई आफ्नो माध्यमबाट निःशुल्क शिक्षाको अवसर मिलेको भन्दै उनले अबको दिनमा नेपालमै रहेर स्वास्थ्य, शिक्षा, संस्कार, संवृद्धि र शान्तिको क्षेत्रमा क्रियाशील रहने आफ्नो लक्ष्य रहेको बताए ।  उनले नेपालका थुप्रै योगीहरु भारतको विभिन्न धार्मिक स्थलमा पीठाधीश, जगतगुरु र महामण्डलेश्वर बनेर बसेको र गुरुकूल समेत चलाएको भएपनि उनीहरु नेपाल फर्कन नचाहेकोमा दुःख व्यक्त गरे । उनले भने–‘नेपाल आमाको सपना पूरा गर्न म भारतबाट नेपाल फर्कें तर अन्य योगीहरुलाई नेपालमा गएर काम गरौं भन्दा नेपालमा साधु सन्तका लागि राम्रो संस्कार पाउन सकिंदैन भनि नेपाल आउन चाहँदैनन् ।’

यसै सन्दर्भमा उनले प्रतिकुलता लाई अनुकुलता बनाउन आवश्यक रहेकोले आफू नेपाल फर्किएर काम गरिरहेको स्पष्ट पारे । पाँच दिनसम्मको साधना सकेका साधकहरुलाई संवोधन गर्दै उनले दैनिक जीवनका लागि भने साधनाको शुरुवात भएको जानकारी दिए । कार्यक्रममा साधक शुक्रराज शर्माले आफूले चारवर्ष अघि सिद्धाबाबाको सानिध्यमा रहेर शिविरसंचालन गर्दा ६७ जनामात्र सहभागी भएकोमा अहिले ठूलो संख्यामा साधकहरु सहभागी भएको भनि खुशी प्रकट गरे । 
शिविरमा सहभागीहरुको तर्फबाट बोल्दै गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक तथा सुनौलो एफएमका कार्यकारी निर्देशक गंगाधर पराजुलीले साधनामा बसेकाहरुमध्ये धेरैको शरीरमा विभिन्न क्रिया देखिएपनि दुई सय घण्टाको अवधि घटाएर १० घण्टामा साधना सिक्नुपर्ने र विभिन्न  व्यवहारिक तथा मानसिक तनावका कारण साधकको मन नियन्त्रित हुन नसक्दा सोचे अनुरुपको प्रतिफल पाउन कठिन हुने बताए । उनले महायोगी सिद्धबाबाको भूसमाधिका बारेमा आम सर्वसाधारणले चासो मात्र नभएर चिन्ता समेत व्यक्त गरेको उल्लेख गर्दै भूसमाधि सकिएपछि त्यसको सकारात्मक सन्देश बढ्दै गएको बताए । 

आयोजक संस्था रामानन्दाचार्य सेवापीठ पोखराका अध्यक्ष मदन शर्माले साधना शिविर भव्यतापूर्वक सम्पन्न भएको भन्दै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे । शिविर सकिएपछि सबै सहभागीहरुलाई सिद्धबाबा आफैले प्रसाद वितरण गरेका थिए ।

Post a Comment

 
Top