0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका सिंचाइमन्त्री उमेश यादवले संविधान कार्यान्वयन मा संचारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिएका छन् । आइतबार पोखरामा पत्रकारहरुलाई पुरस्कार वितरण गर्दै संविधान उनले संविधानलाई जनमानससम्म पु¥याउन संचार माध्यमले भूमिका खेल्नुपर्ने बताए । उनले संचारमाध्यमलाई राष्ट्रियताका सवालमा एकजुट भएर अगाडि बढ्न सुझाब दिए । ‘सामान्य गल्तीले पनि ठूलो क्षति हुन सक्छ,’ उनले भने–‘त्यसैले संचारकर्मीले समाचार लेख्दा ख्याल गर्नु पर्दछ ।’ मन्त्री यादवले सञ्चारकर्मी राष्ट्रको आवाज भएको उल्लेख गर्दै सञ्चारकर्मीसँग जनताको ठूलो विश्वास रहने बताए । पत्रकारिताको क्षेत्रमा महिला र पुरुषको समान ढंगले विकास हुनुपर्ने उनको भनाइ थियो । उनले फेवाताल संरक्षणका लागि हर्पन खोलामा विशेष योजना बनाएर अगाडि बढ्न लागेको जानकारी दिए । हर्पन खोलाबाट उत्पन्न समस्या बारे गुनासो आएको भन्दै उनले त्यसको संरक्षणमा लागि पर्ने बताए । ‘चालु आर्थिक अवस्थामा बजेट छुट्ट्याउने प्रतिबद्धता जाहेर गर्छु’–उनले भने । कार्यक्रममा पत्रकार महासंघ क्षेत्रीय समितिका संयोजक हरिनारायण गौतमले पत्रकार राज्यको चौथो अंग भनिए पनि समाजको आँखाको रुपमा रहेको बताए । ‘पत्रकारलाई नागरिक प्रतिको उत्तरदायित्वले घच्घच्याउँ छ,’ उनले भने,–‘घरमा काम छ, खाना खानु छ भनेर रिर्पाेटिङबाट मुक्ति पाइँदैन ।’ उनले पत्रकारले फरक ढंगले महत्व र मूल्यांकन बुझ्न जरुरी रहेको बताए । ‘समाजले जे चाहेको छ, जे खोजेको छ, त्यो पत्रकारले समाचारको माध्यमबाट दिन सक्नुपर्छ,’–उनले भने । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराई, स्वर्गीय गजेन्द्र भण्डारीका छोरा सन्तोष भण्डारी, क्षेत्रीय प्रशासक दिवाकार बाँस्तोला र पुरस्कार स्थापना गर्ने मीना गुरुङ, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सेना, पत्रकार हेमराज बराल महासंघका सचिव त्रिभुवन पौडेल लगायतले पत्रकारिताको चर्चा गरेका थिए ।

पत्रकार बाँस्तोला र परियार पुरस्कृत

नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार हरि बाँस्तोलालाई प्रदान गरिएको छ । पोखरा–१७ घारीपाटन निवासी बाँस्तोला राष्ट्रिय समाचार समिति पोखरामा विगत २६ वर्षदेखि कार्यरत छन् । उक्त पुरस्कार स्व. गजेन्द्र भण्डारीका परिवारले स्थापना गरेका हुन् । पुरस्कारको राशि २५ हजार रुपैयाँको छ । यसैगरी संचारकर्मी एवं सौन्दर्यकर्मी मीना गुरुङद्वारा स्थापित नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार दीपक परियारलाई प्रदान गरिएको छ । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ छ ।  लेखनाथ–१३ कालिका नगरका परियार ९ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनी हाल पोखराको समाधान दैनिकमा आवद्ध छन् । बाँस्तोला र परियारलाई आइतबार सिँचाइमन्त्री उमेश यादवले पुरस्कार हस्तान्तरण गरेका थिए भने महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवालीले दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । पुरस्कृत पत्रकार बाँस्तोलाले थप जिम्मेवारी बोध भएको बताए भने परियारले पत्रकारितामा एक पाइला पछाडि सार्दा दुई पाइला पुरस्कारले अगाडि बढाउने बताए ।




Post a Comment

 
Top