0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आज बुधबारदेखि शुरु हुने योग साधना शिविरको तयारी पूरा भएको छ । योग साधना शिविर आयोजक समितिले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी शिविरको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । साधना शिविरमा योग गुरु कृष्णदासजी महाराजले योग प्रणायम सिकाउने छन् । शिविर बुधवारदेखि सुरु भई सोमबार समापन हुने योग संयोजक धर्मराज बराल भोलाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । शिविर पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुनेछ ।
शिविर सम्पन्न गर्नका लागि पोखरामा सम्पन्न भेलाले धर्मराज बराल “भोला” लाई संयोजक तोकेको छ भने सह–संयोजकहरुमा रामजन के.सी., दीपक भण्डारी रहेका छन् । साथै सचिवहरुमा राधेश्याम उदास, रामबहादुर के.सी. र टापेन्द्र रिजाललाई भेलाले तोकेको छ । साथै प्रचार–प्रसारको जिम्मा टापेन्द्र रिजाल, कृष्णदासको आवास, भोजन र सवारीका लागि दीपक भण्डारीलाई तोकेको छ । खानेपानी गीर्वाण थापा, मञ्च व्यवस्थापन राधेश्याम उदास, धार्मिक संघ–संस्था समन्वयमा बासुदेव अधिकारी, व्यानर र छपाई व्यवस्थापनमा महेश पराजुलीलाई जिम्मेवारी प्रदान गरेको छ । आर्थिक व्यवस्थापनमा मदन शर्मा, पूजा सामग्री तथा प्रसाद वितरणमा रामजी बाँस्तोलालाई जिम्मेवारी दिइएको नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले गोल्डेन न्यूज दैकिनलाई जानकारी दिए । पराजुलीका अनुसार आमा समूह परिचालनमा हरि ढुंगाना, स्वयंसेवक परिचालनमा रामबहादुर के.सी, पत्रपत्रिका सूचना व्यवस्थापनमा पुष्पराज पौडेललाई तोकेको छ भने दानपात्र व्यवस्थापन को जिम्मा मानकाजी गुरुङ र वीरबहादुर गुरुङलाई, फूलमालाको जिम्मा प्रतिष्ठा श्रेष्ठ, मातृशक्ति परिचालनको जिम्मा महिला मिलन आमा समूह नदीपुर र साधक परिचालनको जिम्मेवारी मिलनलाई दिइएको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीको सभापतित्वमा भएको भेलामा ३ वटै संस्थाहरु नारायणस्थान धार्मिक क्षेत्र विकास समिति, नरनारायणबाबा आश्रम पश्चिमाञ्चल शाखा तथा जगद्गुरु रामानन्दाचार्य सेवापीठ पोखरा शाखाले संयुक्त रुपमा आयोजना गर्ने निर्णय गर्नुका साथै साझ ४ बजेदेखि ६ः३० बजेसम्म संत्सगको कार्यक्रम पनि तय गरेको छ । 
भेलामा बोल्दै नेपाली कांग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्मा महायोगी सिद्धबाबाले पोखरावासीलाई पटक–पटक कृपा गरिवक्सेर पुनः महायोग साधना मार्फत् शक्तिपात महादीक्षामार्फत् अदुभूत ज्ञान प्राप्त हुने बताए ।
दुई वटा नागरिकता भएको स्वीकार ः अन्न पानी बिना नै नौ दिनसम्म पोखरामा भू–समाधि सम्पन्न गरेको दाबी गर्ने योग गुरु कृष्णदास जी महाराजले आफ्ना दुई वटा नागरिकता भएको स्वीकार गरेका छन् । महाराजले मंगलवार पोखराका पत्रकार माझ मिडियामा आएका दुई वटै नागरिकता आफ्ना भएको स्वीकार गरेका हुन् । उनले पहिला लिएको नागरिकता बाल्यकालको भएको र त्यसपछि सुनसरीबाट लिएको नागरिकता योगी बनेपछिको भएको पत्रकार सामु बताएका छन् ।  पछिल्लो नागरिकता लिनकोलागि सुनसरीको चतराका समाज सेवीहरुको आग्रहमा सोही स्थानको विकास गर्ने हेतुले लिएको उनले खुलासा गरेका छन् । पोखरामा भू–समाधि सकेका वावाका दुईवटा नागरिकता भन्ने वारे केही मिडियामा समाचार आएपछि बाबा एका–एक पोखराबाट बाहिरिएका थिए । उनी वुधवारदेखि सुरु हुने योग साधना शिविरको लागि फेरि मंगलवार पोखरामा देखा परे । उनको योग साधना शिविरको वारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखराका पत्रकारहरुले कृष्णदासजीलाई दोहोरो नागरिकता वारे प्रष्ट पार्न भनेपछि उनले आफ्ना दुवै नागरिकता सही भएको स्वीकार गरेका हुन् ।






Post a Comment

 
Top