0
गोल्डेन न्यूज संवाददाता
चार दशकअघि अधिग्रहण गरिएको जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भर्खरै शिलान्याससम्म भएको छ । तर, त्यतिबेलै व्यवस्थित बसपार्कका लागि छुट्याइएको जग्गा भने अझै अव्यवस्थित छ । व्यवस्थित बसपार्क बनाउन सहरको बीच भाग (पृथ्वी चोक) मा २०३२ सालमा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर, पोखरा उपत्यका नगर विकास समितिलगायत अन्य सरोकारवालाको बेवास्ताले बन्न सकेको छैन । बरु समितिकै केही पूर्व पदाधिकारीले घडेरी बनाएर बिक्री गरेको र सुकुम्बासीका नाममा घर टहरा बनाएर बस्दा अहिले यो अतिक्रमणको चपेटामा परेको छ । बसपार्कबाट पृथ्वी, सिद्धार्थ र पोखरा–बागलुङ राजमार्ग सुरु हुन्छन् । बसपार्क अभावमा सवारी साधनको व्यवस्थापन नहुँदा उप–महानगरको शोभा नै घटेको छ । पर्यटक तथा अन्य यात्रुले दुःख पाएका छन् । यात्रु बीच बाटोमा बस्नुपर्ने अवस्था छ । दुर्गन्ध पनि उस्तै । सडकमै पार्किङले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । वर्षाका बेला बसपार्क छिर्नै मुस्किल हुन्छ । कुनै पनि सहरको सम्पन्नताका लागि त्यहाँको भौतिक पूर्वाधार महत्वपूर्ण हुन्छ । तर, ‘मेट्रोसिटी’ का रूपमा विकसित हुँदै गएको र प्रस्तावित ४ नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको पोखरामा बसपार्क नबन्नु दुखद् रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा बताउछन् । ‘अग्रजले दूरदृष्टि लगाएर उतिबेलै जग्गा खोजेका थिए । व्यवस्थित बसपार्क बनेको भए प्रकृतिको धनी पोखरा अझै सुन्दर देखिन्थ्यो,’ उनले भने,–‘तर भएको जग्गा पनि उपयोगमा ल्याउन सकिएन । बसपार्कको हालत देख्दा निकै दुःखी हुने अवस्था छ ।’ सुन्दर सहरको वैभव बचाउने दिशामा यहाँका नेतृत्वकर्मी असफल देखिएको र बसपार्कको अस्तव्यस्तले यात्रुले सास्ती खेप्नुपरको थापाको भनाइ छ । बसपार्कको जग्गामा अहिले ४ सय २४ सुकुम्बासीका घरटहरा छन् । २०४६ सालअघि ६४ घर रहेकामा अहिले बढेर त्यति पुगेका हुन् । उनीहरूमध्ये कास्की ठेगाना भएका १६४ रहेका र ९९ प्रतिशतले सुकुम्बासी परिचयपत्र पाएका छन् । कतिपयले ती टहरा भाडामा दिएको र कतिपयले लाखौं रुपैयाँमा बिक्री पनि गर्छन् । तीबाहेक अन्य दर्जनौं पक्की घर पनि बसपार्क क्षेत्रमा बनेका छन् । नगर विकास समितिले पटक–पटक बसपार्क बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको कन्तिपुर दैनिकले उल्लेख गरेको छ ।
पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिदा अहिले उक्त जग्गा डेढ सय रोपनीमा झरेको छ । सेती नदीकिनारमा धाजा फाटेको भनिएको ६८ रोपनी जग्गामा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ । बसपार्कको चारैतिर बिनानक्सा २ सय बढी पक्की घर बनाइए पनि त्यसलाई रोक्न उपमहानगरपालिकाले कुनै चासो देखाएको छैन । नगर विकास समितिले नै विभिन्न मितिमा गैरकानूनी रूपमा ३४ घडेरी बिक्रीसमेत गरेको छ । विशेष गरी विष्णु बाँस्तोला र क्षेत्रबहादुर केसी समितिको अध्यक्ष भएका बेला २०६० र २०६१ मा ति घडेरी बेचिएका थिए । त्यतिबेला हातकै लाखौं मूल्य पर्नेमा प्रतिघडेरी १ लाख ८० हजार रुपैयाँमा दिइएको थियो । ‘बसपार्कको जग्गा बेचेर लालपूर्जा दिएपछि विकृति सुरु भयो,’ नगर विकास समिति अध्यक्ष प्रकाश मोहन खनालले भने,–‘राजनीतिक पार्टीले भोट बैंकका रूपमा सुकुम्बासीलाई प्रयोग गर्दापनि समस्या भएको छ ।’ सुकुम्बासी हटाउने विषयमा कोही सहमति नहुँदा अहिले काम गर्न समस्या भएको उनले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासलगत्तै सर्वपक्षीय भेलाले पृथ्वी राजमार्गको मापदण्डमा परेकाबाहेक बाँकी १ सय ८७ रोपनी जग्गालाई फेरि जग्गा प्राप्ति ऐनअन्तर्गत गएर अधिग्रहण गर्ने भनेको पनि थियो । तर, त्यो व्यवहारिक नरहेको खनालको भनाइ छ । ‘अहिले विभिन्न विकल्प सोचेर बसपार्क निर्माणका लागि पहल गरिरहेका छौं,’–उनले भने । पटक–पटक बसपार्क निर्माणका लागि विभिन्न समिति गठन भएर प्रतिवेदन तयार पनि भएका थिए । तर, राजनीतिक, प्रशासनिक इच्छाशक्ति अभावमा कार्यान्वयन हुन नसकेको थापा बताउँछन्। बसपार्क बनाउन ८ करोड रुपैयाँ बजेट वर्षौंदेखि थन्किएर बसेको छ । ‘बनाउन खोज्दा अर्कोले खुट्टा तान्ने प्रवृत्तिको परिणाम हो,’ थापाले भने,–‘उवासंघले पहल गरेको थियो । तर, अहिले सेलाएको छ । पोखरा अन्तर्राष्ट्रिय सहर बन्न गइरहेकाले अहिल्यैदेखि बसपार्क बनाउन प्रयास थाल्नुपर्छ ।’ उनले पोखरा बसपार्क निर्माण सरोकार समिति संयोजक भएर केही समय काम पनि गरेका थिए ।
सांसद तथा विकास समिति सभापति रवीन्द्र अधिकारीले पोखरामा व्यवस्थित बसपार्क आवश्यक भइसकेकाले अब विलम्ब गर्न नहुने बताए । ‘अन्य पूर्वाधार धमाधम बनिरहेका बेला बसपार्कका लागि पनि पहल जरुरी छ,’ उनले भने,–‘ठूलो बसपार्क अन्यत्र बनाइनुपर्छ । यसमा सिटी बसपार्क बनाएर सञ्चालन गरे राम्रो हुन्छ ।’ उनले लेखनाथमा क्षेत्रीयस्तरको बसपार्क बनाउने कुरा चलिरहेको बताए । लामो दूरीको नभई छोटो दूरीका सवारीसाधनका लागि सिटी बसपार्कका रूपमा विकास गर्नुपर्ने पोखरेली बताउँछन् । खनालका अनुसार अहिले जम्मा ८२ रोपनी मात्रै जग्गा रहेको र यही जग्गामा बसपार्क बनाउन सकिने र नसकिने २ तर्क आएको बताए ।






Post a Comment

 
Top