0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चलमा अपराधिक घटनामा कमी आएको छ । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यो बर्ष अपराधिक घटनामा कमी आएको हो । पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले गत आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्ष अपराधिक घटनामा १३.१९ प्रतिशत कमी आएको बताए । आर्थिक बर्ष २०७०÷७१ मा ५ हजार १५७ अपराधिक घटना भएको यो क्षेत्रमा ०७१÷७२ मा ७.८० प्रतिशत बढेर ५ हजार ५५९ घटना भएका थिए । आर्थिक बर्ष २०७२÷७३ को चैत्र मसान्त सम्ममा ३ हजार ६१९ अपराधिक घटना भएको डिआइजी बमले जानकारी दिए । तथ्याङ्क अनुसार गत बर्षको तुलनामा चालु आर्थिक बर्ष कर्तब्य ज्यान मुद्धामा ७.६९ प्रतिशतले कमी आएको छ भने सार्वजनिक अपराधको मुद्धामा ३७.३७ प्रतिशत कमी आएको छ । गत बर्षको तुलनामा यो बर्ष सवारी ज्यान मुद्धा भने बढेको छ । चालु आर्थिक बर्ष अघिल्लो बर्षको तुलनामा सवारी ज्यान मुद्धा १६.५७ प्रतिशतले बृद्धि भएको छ ।
लागूऔषध मुद्धा भने १८.९८ प्रतिशतले बृद्धि भएको छ । चालु बर्ष अघिल्लो बर्षको तुलनामा आत्महत्या गर्नेको संख्यामा पनि कमी आएको छ । यो बर्ष अघिल्लो बर्षको तुलनामा ६.०५ प्रतिशतले कमी आएको डिआइजी बमले बताए । पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाको तथ्याङ्क अनुसार गत बषको तुलनामा यो बर्ष घरेलु हिंसा, महिला तथा वालवालिका माथिको हिंसाको दरमा पनि कमी आएको छ । आईतवार आयोजित पत्रकार सम्मेलनमा डिआइजी बमले आफ्नो कार्यकालमा गर्ने कार्ययोजना पनि सार्वजनिक गरे । उनले शान्ति सुरक्षालाई सुदृढ गराउने सवालमा गुण्डागर्दी नियन्त्रण, अराजकता, सडक अबरोध तथा चक्काजाम हुन नदिने दावी गरे । त्यस्तै प्रहरी सेवा प्रवाहमा प्रभावकारिता, नागरिक र प्रहरीको सहकार्यमा जोड , सडक दुर्घटना न्यूनिकरणको लागि विशेष पहल गर्ने समेत उनले बताए । लागु औषध अपराध न्यूनिकरणको लागि एकिकृत सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत उनको कार्ययोजना छ ।

Post a Comment

 
Top