0
गोल्डेन न्यूज संवाददाता
ट्राफिक प्रहरी कार्यालय कास्कीका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले पोखराको ट्राफिक ब्यवस्थापनमा छिट्टै सुधारको संकेत देख्न पाईने बताएका छन् । शनिवार पत्रकार माझ उनले ट्राफिक व्यवस्थापनको लागि बिशेष योजनानै बनाएर अघि बढ्ने बताए । उनले भने–‘केहि समयपछि पोखराको ट्राफिक ब्यवस्थापनमा सुधारको संकेत देख्न पाउनुहुनेछ।’ ट्राफिक ब्यवस्थापनको लागि सरोकारवाला सबै निकायसँग समन्वय गरी अघि बढ्ने उनले प्रतिबद्धता जनाए । तत्कालका लागि ट्राफिक नियम कार्यान्वयनमा जोड दिने उनको कार्ययोजना छ । ट्राफिक सचेतना कार्यक्रम, पार्किङ ब्यबस्थापन, ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउँदै स्रोत साधन सम्पन्न बनाउनमा जोड दिने अधिकारीले बताए । कार्यक्रममा उपस्थित पत्रकारहरुले पोखराको ट्राफिक ब्यवस्थापन पछिल्लो समय चुनौतिको रुपमा रहेकाले सोहि अनुसार विशेष कार्ययोजना बनाएर अघि बढ्न सल्लाह दिएका छन् । पत्रकार दिपेन्द्र श्रेष्ठले ट्राफिक ब्यवस्थापनको लागि विशेष कार्ययोजना बनाए नागरिक समाज र पत्रकार सहयोगको लागि तयार रहेको बताए । उपस्थित पत्रकारहरुले सार्वजनिक सवारीले बढी भाडा असुल गरेको, गाडीहरु अनियन्त्रित रुपमा सञ्चालन हुने गरेको, क्षमता भन्दा बढी यात्रु राख्ने, जथाभावी रोक्ने प्रवृतिको अन्त्य गर्न सुझाव दिए । 
उनीहरुले ट्राफिक प्रहरी र उनीहरुको सहयोगीका रुपमा खटिने अन्य प्रहरीलाई प्रशिक्षणको खाँचो समेत औल्याए । ट्राफिक प्रहरी निरीक्षक अधिकारीले सबैको सल्लाह र सुझावको आधारमा ट्राफिक ब्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रहरी नायव निरीक्षक शिवबहादुर थापा र राजकुमार केसी पनि सहभागी थिए ।
यसैबीच परिमार्जित यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ आगामी जेठ १ गतेदेखि लागू हुने भएको छ । नयाँ प्राबधान अनुसार नियम मिच्ने चालकसँग अशुल गर्ने जरिवानाको मात्रामा भारी वृद्धि भएको छ । सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले लेन अनुशासन उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने, ‘हिट एन्ड रन’ मा संलग्न, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्नेलगायतसँग न्यूनतम ५०० देखि १ हजार ५०० रुपैयाँसम्म अशुल गर्ने अधिकार ट्राफिक प्रहरीलाई प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले नयाँ नियम जेठ १ देखि लागू गर्न पत्र प्राप्त भएको बताए । ट्राफिक प्रहरीले यसअघि २५ रुपैयाँदेखि २०० रुपैयाँसम्म अशुल गर्दै आएको थियो ।







Post a Comment

 
Top