0
गोल्डेन न्यूज संवाददाता
पोखरा इलेक्ट्रिसियन क्लबद्वारा प्रकाशित चौमासिक प्राविधिक पत्रिका टेक्नो जर्नल एक कार्याक्रमकाबीच शनिबार विमोचन गरिएको छ । इलेक्ट्रिसियन अन्तर्गत विभिन्न प्राविधिक विषय समेटेर प्रकाशन गरिएको जर्नल प्रत्येक ४ महिनामा प्रकाशन हुनेछ ।पत्रिकाको विमोचन राष्ट्रिय समाचार समितिका सञ्चालक सदस्य गंगाधर पराजुली र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले संयुक्त रुपमा गरेका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका पराजुलीले इलेक्ट्रिसियन अन्तर्गत विभिन्न प्राविधिक विषय समेटेर प्रकाशन गरिएको जर्नल यस क्षेत्रमा सम्बद्ध सबैका लागि बहुउपयोगी हुने बताए । उनले स्वदेशी पुँजी, स्वदेशी जनशक्तिमार्फत स्वदेशमै राख्नका लागि इलेक्ट्रिसियन क्लवले गर्दै आएको प्रयासप्रति प्रशंसा गर्दै उद्योग वाणिज्य संघ जस्ता व्यवसायिक संस्थाले प्लम्विङ, फर्निचर सम्बन्धी काममा दक्ष जनशक्ति उत्पादन गरि स्वदेशी जनशक्तिलाई आत्मनिर्भर बनाउन लाग्नुपर्नेमा जोड दिए । जुनसुकै काम गर्दा पनि विद्युत शक्ति आवश्यक पर्ने र राष्ट्रको विकासका लागि महत्वपूर्ण शक्ति विद्युत भएको चर्चा गर्दै उनले इलेक्ट्रिसियनहरुले जोखिम कम हुने र विद्युत खपत कम हुने किसिमले काम गर्न सके देशका लागि नै फाइदा पुग्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पेशागत दक्षता अभिबृद्धिका साथै पेशागत सूचना र सन्देश प्रवाहका लागि पत्रिका अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । क्लबका अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले इलेक्ट्रिसियन क्षेत्रमा आएका नविनतम प्रविधि लगायतका विषयलाई पत्रिका मार्फत जानकारी गराइने बताए । कार्यक्रममा पोखरा उप–महानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पसका इलेक्ट्रिकल डिपार्टमेन्ट प्रमुख डा. वसन्त गौतम, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संघका पूर्व अध्यक्ष बाबुराम गिरी, रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापा, इलेक्ट्रिकल्स एशोसिएशनका अध्यक्ष प्रेमबहादुर जि.सी., पत्रिका प्रकाशन कमिटीका संयोजक ई. राजेन्द्र ढकाल, स्वतन्त्र पत्रकार संघका महासचिव कमल पौडल अथक लगायतले पत्रिकालाई अनुसन्धान दाताका लागि पनि उपयोगी हुने किसिमको बनाउन सुझाव दिएका थिए ।












Post a Comment

 
Top