0
गोल्डेन न्यूज संवाददाता
प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लागि घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने प्रतिक्रिया दिएको छ ।  व्यवस्थापिका संसद्को आइतबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले भने,–‘म्यादी सरकारले ल्याएको कार्यक्रम कार्यन्वयन हुने कुरै भएन ।’ उनले अघि भने,–‘एक त यो सरकार नै म्यादी छ, म्यादी सरकारले ल्याएको नीति तथा कार्यान्वयन हुने कुरै भएन, बजेट कार्यान्वयनमा क्षमता घटिरहेको बेलामा कार्यान्वयन हुनै नसक्ने गरी कार्यक्रम आएको छ ।’ कांग्रेस नेता महेश आचार्यले केपी ओली नेतृत्वको सरकारलाई आयु छोटो भएको ‘म्यादी सरकार’ को उपमा दिएका छन् । यस्तो सरकारले दीर्घकालीन योजना अघि सार्नु औचित्यहीन हुने आचार्यको टिप्पणी छ । पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले भने–‘एमाले र एमाओवादी बीचको सम्झौतापछि यो सरकार म्यादीजस्तो देखिएको छ । यस्तो सरकारले दीर्घकालीन कार्यक्रमहरु अघि सार्नुको औचित्य छैन ।’ छोटो आयु भएको सरकारले अघि सारेका ५–१० वर्षका योजना अलपत्र पर्न सक्ने आचार्यले बताए ।
सत्तारूढ दल भन्छन्, सकारात्मक छ
सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ राजनीतिक दलका नेता एवं व्यवसायीहरुले भने सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । घोषित नीति–कार्यक्रम आगामी बजेटमा प्रतिबिम्बित हुनुपर्ने र त्यसको कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्नेमा सबैको जोड छ । संसद भवन बाहिर पत्रकारसँग बोल्दै सत्तारुढ नेकपा एमालेका नेता भरतमोहन अधिकारीले देशको अवस्थालाई सम्वोधन गर्ने गरी नीति–कार्यक्रम आएको बताए । ‘नीति तथा कार्यक्रम समग्रमा राष्ट्रिय आवश्यकताको सम्वोधन गर्नेखालको छ,’ उनले भने,–‘अब बजेट मार्फत यसलाई मुर्तरुप दिएर कार्यान्वयनमा जुट्नुपर्छ । एमाओवादी नेता तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पनि नीति तथा कार्यक्रम राम्रो रहेको भन्दै सफल कार्यान्वयनमा जोड दिए ।उनले भने, ‘यसमा राजनीतिक मुद्दाहरुलाई पनि समेटिएको छ भने प्रदेशअनुसार विकासको खाका कोरिएको छ । यो राम्रो पक्ष हो । उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाले नीति–कार्यक्रम आशालाग्दो भएको प्रतिक्रिया दिइन् । भूकम्पपछि कमजोर बनेको अर्थतन्त्रलाई केही हदसम्म सम्वोधन गर्ने कार्ययोजना रहेको उनले टिप्पणी गरिन् । ‘हामीले उठाएका धेरै कुरा सम्वोधन भएको छ, तर यसको कार्यान्वयन चुनौतिपूर्ण छ,’–उनले भनिन् ।
यसैबीच नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई परम्पराकै निरन्तरता भनेर टिप्पणी गरेका छन् । तर, द्रूत मार्ग स्वदेशी लगानीमा बनाउने र प्राविधिक उच्च अध्ययनलाई ऋण दिने लगायतका कार्यक्रमलाई भने उनले स्वागत गरेका छन् । एमाओवादी पार्टीसँगै सांसद पदबाट पनि राजीनामा दिएका डा. भट्टराई सरकारको नीति तथा कार्यक्रम सुन्न संसद बैठकमा गएका थिए ।















Post a Comment

 
Top