0
गोल्डेन न्यूज संवाददाता
सवारी दुर्घटनालाई कम गर्न ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक सप्ताह सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा आईतवारबाट सप्ताह सुरु भएको हो । सप्ताहको आईतवार गण्डकी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले उद्घाटन गरे । 
ट्राफिक सप्ताह सुरुवातको दिन सचेतनामूलक प्रभातफेरि सम्पन्न भएको छ । स्थानिय मानवअधिकार चोकदेखि सुरु भएको प्रभातफेरि न्यूरोड हुदै सभागृह पुगेर टुङ्गिएको थियो । प्रभातफेरिमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी, पृथ्बी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस ब्यबसायी समिति, विद्यार्थी लगायतको सहभागिता थियो । सडक प्रयोगकर्ता, चालक, सहचालक लगायत सरोकारवाला सबै निकायलाई ट्राफिक नियमको वारेमा सचेतना दिलाउने उद्देश्यले बार्षिक रुपमा ट्राफिक सप्ताह मनाईदै आएको छ । कार्यक्रम अनुसार दोस्रो दिन २७ गते नेपाल रेडक्रस अन्तर्गत पोखरा १० र ११ उपशाखामा समुदायलाई ट्राफिक कक्षा सञ्चालन गरिनेछ । ट्राफिक सप्ताह अन्तर्गतनै बैशाख २८ गते हेम्जा उपशाखामा समुदायको साथै अम्बिका उच्च माविका विद्यार्थीको लागि ट्राफिक कक्षा सञ्चालन गर्ने कार्यक्रम छ । सोहि दिन विहान साढे ९ देखि १० बजेसम्म अमरसिंहचोक, पृथ्वीचोक, सिर्जनाचोक, बिपिचोक, भिमसेनचोक र हेम्जामा जेब्रा क्रसिङबाट यात्रु पार गराउने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै बैशाख २९ गते चालक र सहचालक तथा पोखरा ७ का समुदायलाई ट्राफिक कक्षा सञ्चालन गर्ने, ३० गते निबन्ध प्रतियोगिता सहित अमरसिंह उच्च माविमा ट्राफिक कक्षा सञ्चालन गर्ने र जेब्रा क्रसिङबाट यात्रुलाई सडक पार गराउने कार्यक्रममा उल्लेख छ । सप्ताहको अन्तिममा बैशाख ३१ गते जनप्रकाश उच्च माविका बिद्यार्थी तथा पोखरा १४ उपशाखा अन्तर्गतका समुदायलाई ट्राफिक कक्षा सञ्चालन गर्ने र बैशाख १ गते पोखरा ८ उपशाखामा ट्राफिक कक्षा सञ्चालन गर्ने र सप्ताह समापन गर्ने बताइएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक विश्जराज अधिकारीले दिन प्रतिदिन बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सप्ताह महत्वपूर्ण रहेको बताए । उनले सवारी चालकलाई सचेत गराउँदै सडक प्रयोगकर्ता लाई सचेतना दिलाउन पनि सप्ताहको आयोजना गरिएको बताए ।

Post a Comment

 
Top